१२ गोल खाएको नेपाली टिमको एयरपोर्टको भुइँमा २५ घण्टाको सुताइ

काठमाडौं।

अखिल नेपाल फुटबल संघ (एन्फा)को व्यवस्थापकीय कमजोरीका कारण उमेर समूहको एसियन कप छनोट खेल्न गएका राष्ट्रिय फुटबल टिमका खेलाडीले दुख पाएका छन् ।

सस्तो टिकटको लोभमा धेरै ट्रान्जिट समय राखेर खेलाडीलाई विदेश पठाएको एन्फाको व्यवस्थापकीय कमजोरीका कारण भियतनामबाट फर्कने समय मलेसियाको एयरपोर्टको भुँईमा खेलाडीले २५ घण्टा बिताउनुपर्ने भएको छ ।

नेपालको यू–१७ राष्ट्रिय फुटबल टिम एसियन कप छनोट खेल्न भियतनाम गएको थियो । आईतबार छनोटको अन्तिम खेल सकेको नेपाली टिमलाई हतार हतारमै सोमबार स्वदेश फर्कने बाध्यता एन्फाले सिर्जना गरेको थियो ।

भियतनामबाट साँझ पानै ६ बजे मलेसिया आईपुगेको नेपाली टिमले अब २५ घण्टा ट्रान्जिटमा बिताउनुपर्ने भएको छ । आईतबार मात्र छनोटका खेल सकेका थाकित अवस्थामा रहेका खेलाडीले एयरपोर्टको भुँईमा २५ घण्टा समय गुजार्नुपर्ने भएको हो ।

लामो समयको एयरपोर्ट ट्रान्जिटको समयमा खेलाडीलाई होटलमा राख्नेदेखि सामान्य खानाको व्यवस्था समेत एन्फाले गरेको छैन ।

‘राष्ट्रिय टिमको जर्सी लगाएका खेलाडी मलेसियाको एयरपोर्टमा सुत्नु देशको बेइज्जत हैन त ? राष्ट्रिय फुटबल टिमका खेलाडी भुँईमा सुतेको देख्दा विदेशीले के भन्छ ?’ एन्फाका एक अधिकारी प्रश्न गर्छन् ।

सस्तो टिकटको लोभमा एन्फाले धेरै ट्रान्जिट समय भएको टिकट प्रतियोगिता खेल्न जादा लिने गरेको छ । सस्तोमा टिकट लिदा कमिसन समेत आउने भएका कारण धेरै ट्रान्जिट समय भएको टिकट लिने प्रचलन एन्फमा रहेको संघकै एक पदाधिकारी बताउँछन् ।

एन्फा स्रोतका अनुसार भियतनाम खेल्न जाने नेपाली टिमले अघिल्लो दिनको साँझसम्म समेत टिकट पक्का भएको थिएन। हतार हतारमा लिएको टिकटमा भियतनाम जादानै १४ घण्टाको ट्रान्जिटको समय थियो ।

‘सस्तो टिकट लिन खोजेर यो समस्या आएको छ । एन्फा सचिवालयको व्यवस्थापकीय कमजोरीका कारण खेलाडीले विदेशमा दुख झेल्नु परेको छ ।’ ती पदाधिकारी बताउँछन् ।

धेरै समयको ट्रान्जिट र खेलाडीलाई आराम नपुगेका कारण यू–१७ एसियन कप छनोटको नेपालको प्रर्दशन पनि उल्लेख्य रहन सकेन । नेपाल पहिलो खेलमा थाईल्याण्डसँग ३–० ले, भियतनामसँग ५–० ले र अन्तिम खेलमा चाईनिज ताईपेसँग ४–२ गोल अन्तरले पराजित भएको थियो ।

Leave A Reply

Your email address will not be published.