पुरुष फुटबलका लागि आयो ठूलो खुसीको खबर

काठमाडौं।

पुरुष फुटबलका लागि खुसीको खबर आएको छ। नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गतको पुरुष फुटबल पोखरा रंगशालामा हुने भएको छ । प्रदेशकै सबैभन्दा राम्रो रंगशाला मानिएको पोखरामा फुटबलका प्रतियोगिता नहुने भएपछि स्थानीय स्तरबाटै आलोचना भएको थियो ।

राखेपद्धारा गठित स्रोत परिचालन उपसमिति र अखिल नेपाल फुटबल संघ एन्फाको पहलमा पुरुष फुटबल पोखरा रंगशालामा गर्ने सहमती बनेको छ । सहमती अनुसार पुरुष फुटबलका दैनिक एक खेल पोखरा रंगशालामा हुनेछ ।

बागमती प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव समेत रहेका स्रोत परिचालन उप समितिका संयोजक सुर्यलाल भण्डारीले पोखरा रंगशालामा फुटबलका खेल हुने पक्का भएको खेलपाटीलाई बताए ।

‘समय मिलाउन नसक्दा पुरुष फुटबल बाहिर सार्ने निर्णय भएको रहेछ । एथलेटिक्ससँग समन्वय गरेर समय मिल्ने भएपछि फुटबलका खेल रंगशालामा गर्ने सहमती बनेको छ । अब पुरुष फुटबलका हरेक खेल पोखरा रंगशालामा हुनेछ ।’ उनले भने ।

भण्डारीका अनुसार नवौंको पुरुष फुटबल दर्शकले टिकट काटेर रंगशालामा हेर्न पाउनेछन् । स्रोत परिचालन उपसमितिले टिकट काटेर खेल हेर्ने संस्कृतिको विकासमा टेवा पुर्याउन थोरै मुल्य राखेर टिकटको व्यवस्थापन गर्ने भएको छ ।

यसअघि नवौंका लागि गठित खेल स्थल पूर्वाधार उपसमितिले पोखराको लामाचौरस्थित गोस्तेघाटमा पुरुष फुटबल गर्ने निर्णय गरेको थियो । फुटबलको महिला विधा भने स्याङ्जाको वालिङमा हुनेछ ।

यसैबीच, नवौं राष्ट्रिय खेलकद प्रतियोगिता अन्तर्गत पुरुष र महिला फुटबलको खेल तालिका सार्वजनिक भएको छ ।

पोखरा रंगशालामा आयोजना हुने पुरुष फुटबलमा ११ टोलीको सहभागिता रहेको छ । सहभागी टोलीलाई चार समूहमा विभाजन गरिएको छ । समूहको शीर्ष टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् । समूह ए मा एनआरएनए, प्रदेश १ र गण्डकी प्रदेश छन् । समूह बी मा बागमती प्रदेश, मधेश प्रदेश र एपीएफ छन् । त्यस्तै समूह सी मा लुम्बिनी प्रदेश, आर्मी र पुलिस रहेका छन् । समूह डी मा कर्णाली र सुदूरपश्चिम प्रदेश छन् ।

यस्तै स्याङ्जामा हुने महिला फुटबलमा १० टोलीले सहभागिता जनाउने छन् । सहभागी टोलीलाई तीन समूहमा विभाजन गरिएको छ ।

समूह ए र बीको शीर्ष टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् । समूह सी बाट भने शीर्ष र दोस्रो टोलीले अन्तिम चारमा स्थान पक्का गर्ने छन् ।

Leave A Reply

Your email address will not be published.