अष्ट्रेलियामा भारतको शानदार जित, अर्शदीपको उत्कृष्ट बलिङ

काठमाडौं।

अष्ट्रेलियामा भएको अभ्यास खेलमा वेस्टर्न अष्ट्रेलिया-११ माथि भारत १३ रनले विजयी भएको छ। भारतले दिएको १ सय ५९ रनको विजयी लक्ष्य पछ्याएको वेस्टर्न अष्ट्रेलिया ११ ले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ४५ रन बनाउन सक्यो।

उसका लागि साम फ्यानिङले ५३ बलमा ५ चौका र १ छक्कासहित सर्वाधिक ५९ रन बनाए। बाँकी खेलाडीको प्रदर्शन सम्झनलायक रहेन। डार्सी सर्ट ८ र कप्तान एश्टन टर्नर डक आउट भए।

भारतका लागि अर्शदीप सिंहले उत्कृष्ट बलिङ गरे। उनले ३ ओभरमा १ मेडनसहित ६ रन खर्चेर ३ विकेट लिए। युजभेन्द्र चहल र भुवनेश्वर कुमारले २-२ विकेट हात पारे।

त्यसअघि वेस्टर्न अष्ट्रेलिया क्रिकेट एसोसियसन ग्राउन्ड पर्थमा टस जितेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ५८ रन बनाएको थियो। भारतका सूर्यकुमार यादवले अर्धशतकीय पारी खेले। उनले ३५ बलमा ३ चौका र ३ छक्कासहित सर्वाधिक ५२ रन बनाए।

यस्तै हार्दिक पान्ड्याले २० बलमा १ चौका र १ छक्काको मद्दतमा २७ रन जोड्दा दीपक हुड्डाले १४ बलमा २ चौका र १ छक्कासहित २२ रनको योगदान दिए। दिनेश कार्तिक १९, अक्षर पटेल १०, ऋषभ पन्त ९ र कप्तान रोहित शर्मा ३ रनमा आउट भए।

वेस्टर्न अष्ट्रेलियाका म्याथ्यू केलीले ४ ओभरमा ४३ रन खर्चेर २ विकेट लिए। यस्तै जेसन बेहरनडोफले ४ ओभरमा २६ रन खर्चेर २ तथा झाय रिचर्ड्सन र एन्ड्रु टाईले १-१ विकेट झारे।

भारतले आईसीसी टी-२० विश्वकपमा वार्मअप खेलअघि यो अभ्यास खेल खेलेको हो। भारतले वार्मअप खेलअन्तर्गत १७ अक्टोबरमा अष्ट्रेलिया र १९ अक्टोबरमा न्यूजिल्याण्डसँग खेल्ने तालिका रहेको छ। भारतले २३ अक्टोबरमा चिरप्रतिद्वन्द्वी पाकिस्तानसँग खेल्दै विश्वकप यात्रा सुरुवात गर्नेछ।

Leave A Reply

Your email address will not be published.