काठमाडौं।
फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का फरवार्ड लियोनल मेस्सीले पोर्चुगिज क्लब बेन्फिकाविरुद्धको खेल गुमाउने भएका छन् । अर्जेन्टिनी फरवार्ड मेस्सीले काल्फ इन्जुरीको कारण बेन्फिकाविरुद्धको खेल गुमाउने भएका हुन् ।
पीएसजीले च्याम्पियन्स लिगको समूह चरण अन्तर्गत मंगलबार राति बेन्फिकासँग खेल्ने तालिका रहेको छ । ३५ वर्षीय मेस्सीले लिग वानअन्तर्गत रिम्सविरुद्धको खेल समेत गुमाएका थिए ।
च्याम्पियन्स लिगको समूह एचमा रहेको पीएसजी शीर्ष स्थानमा रहेको छ । पीएसजीले ७ अंक जोडेको छ।
यसैबीच, एन्टोनी ग्रीजम्यान स्थायी खेलाडीको रुपमा एट्लेटिको मड्रिडमा अनुबन्धित भएका छन् ।
एट्लेटिकोले सोमबार ग्रीजम्यानलाई बार्सिलोनाबाट स्थायी खेलाडीको रुपमा अनुबन्ध गरिएको जनाएको छ । ग्रीजम्यानले एट्लेटिकोसँग ४ वर्षको सम्झौता गरेका छन् । पछिल्लो सिजन उनले लोनमा एट्लेटिकोबाट खेलिरहेका थिए ।
३१ वर्षीय फ्रेन्च फरवार्ड ग्रीजम्यान २०१९ मा एट्लेटिकोबाटै बार्सिलोना गएका थिए । बार्सिलोनाका लागि उनले ७४ ला लिगामा २२ गोल गरेका थिए । तर, ग्रीजम्यान २०२१ मा लोनमा एट्लेटिको फर्किएका थिए ।
यस्तै, गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला क्रिकेट प्रतियोगिता आज मंगलबार दुई खेल हुदैछ ।पोखरा क्रिकेट मैदानमा आज समूह ‘ए’ का दुई खेलहरु हुदैछन्।
प्रतियोगिताको पहिलो खेलमा बागमती प्रदेश र विभागीय टोली नेपाल एपीएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । दोस्रो खेलमा सुदुरपश्चिम प्रदेश र गण्डकी प्रदेशबीच खेल हुनेछ ।
महिला क्रिकेटमा ९ टोलीको सहभागिता रहेको छ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् ।
समूह ‘ए’ मा एपीएफ क्लब, मधेश प्रदेश, गण्डकी प्रदेश,सुदुरपश्चिम प्रदेश र बागमती प्रदेश रहेको छ । समूह ‘बी’ मा नेपाल पुलिस क्लब, कर्णाली प्रदेश, प्रदेश-१ र लुम्बिनी प्रदेश रहेको छ ।
महिला क्रिकेट असोज १ कात्तिकसम्म हुनेछ । नवौं राष्ट्रिय खेलकुद असोज २८ देखि कात्तिक ३ सम्म आयोजना हुनेछ । तर, पुरुष क्रिकेट भने अगाडी नै आयोजना भईसकेको छ ।