काठमाडौं।
थाइल्याण्ड महिला एसिया कप क्रिकेटमा सेमिफाइनलमामा पुगेको छ। यससँगै थाइल्याण्डले इतिहास रचेको छ। पहिलोपटक महिला एसिया कपको सेमिफाइनलमा पुग्दै थाइल्याण्डले इतिहास रचेको हो।
बंगलादेशमा भइरहेको प्रतियोगिता घरेलु टोली र युएईबीचको खेल वर्षाका कारण रद्द भएपछि थाइल्याण्ड शीर्ष चारमा रहेर सेमिफाइनल पुगेको हो। यूएईविरुद्ध अंक बाँड्नु परेपछि साविक विजेता तथा आयोजक बंगलादेश भने समूह चरणबाटै बाहिरिएको छ।
सात राष्ट्र सहभागी प्रतियोगितामा थाइल्याण्डले तीन खेल जित्दै ६ अंक जोडेर चौथो स्थान पक्का गर्यो । आयोजक बंगलादेशले ५ अंक मात्र जोड्यो । थाइल्याण्डले युएई र मलेसियासहित बलियो टिम पाकिस्तानलाई हराएको थियो ।
बंगलादेशलाई शीर्ष चारमा रहेर सेमिफाइनल पुग्न युएईलाई हराउनुपर्ने थियो । तर वर्षका कारण खेल हुन नसकेपछि बंगलादेश अभागी बन्यो । थाइल्याण्डका लागि कप्तान नारुएमोल चाइवाईसँगै नानापात कोन्चारोएन्काई र नाथकान चान्थामले ब्याटिङमा राम्रो प्रदर्शन गरेका छन् ।
बलिङमा बायाँ हाते स्पीनर थिपात्चा पुथवङ सर्वाधिक विकेट लिनेमा शीर्ष पाँचमा छिन् । उनले अहिलेसम्म ८ विकेट लिएकी छन् ।
यसैबीच, नवौं राष्ट्रिय खेलकद प्रतियोगिता अन्तर्गतको महिला क्रिकेट प्रतियोगितामा विभागीय टोली नेपाल एपीएफ क्लबले विजयी सुरुआत गरेको छ । पोखरामा मंगलबार भएको खेलमा नेपाल एपीएफ क्लबले बागमती प्रदेशलाई ४ विकेट पराजित गरेको छ।
बागमतीले दिएको ९० रनको लक्ष्य पछ्याएको एपीएफले १९ ओभर १ बलमा ६ विकेट गुमाएर लक्ष्य पूरा गर्यो। एपीएफको जितमा रोमा थापाले २२ तथा ममता चौधरीले १७ रन बनाईन् । नेरी थापाले अविजित १६ बनाउँदा कप्तान सिता राना मगरले १६ रन बनाईन् ।
बागमतीका लागि सुमन खतिवडा र सोनी पाख्रिनले २ तथा कप्तान अस्मिना कर्माचार्यले १ विकेट लिए ।
त्यस अघि पहिले ब्याटिङ गरेको बागमतीले २० ओभरमा ७ विकेट गुमाएर ८९ रन बनाएको थियो । बागमतीका लागि कप्तान अस्मिना कर्माचार्यले अविजित १९ तथा सुमन खतिवडाले समेत १९ रन बनाईन् ।
बागमतीका अन्य ब्याटरले दोहोरो अंकमा समेत रन बनाउन सकेनन् । नेपाल एपीएफ क्लबले २० रन अतिरिक्तमा खर्चिएको थियो ।
एपीएफका लागि रेखा रावल,नेरी थापा र ईन्दु बर्माले समान १/१ विकेट लिएका थिए । जितसँगै एपीएफ २ अंक जोड्दै समूह ‘ए’ को शीर्ष स्थानमा उक्लिएको छ ।
हारसँगै बागमतीले शीर्ष स्थान पुग्ने अवसर गुमाएको छ। बागमती २ खेलमा २ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । आज नै हुने दोस्रो खेलमा सुदुरपश्चिम प्रदेश र गण्डकी प्रदेशबीच खेल हुनेछ ।
महिला क्रिकेटमा ९ टोलीको सहभागिता रहेको छ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् ।
समूह ‘ए’ मा एपीएफ क्लब, मधेश प्रदेश, गण्डकी प्रदेश,सुदुरपश्चिम प्रदेश र बागमती प्रदेश रहेको छ । समूह ‘बी’ मा नेपाल पुलिस क्लब, कर्णाली प्रदेश, प्रदेश-१ र लुम्बिनी प्रदेश रहेको छ ।