काठमाडौं।
पाहुना टोली दक्षिण अफ्रिकासँगको एकदिवसीय सिरिज भारतले जितेको छ। दिल्लीमा भएको तेस्रो तथा निर्णायक म्याचमा दक्षिण अफ्रिकालाई ७ विकेटले हराउँदै तीन खेलको सिरिज भारतले २-१ जितेको हो। तेस्रो खेलमा दक्षिण अफ्रिकाले दिएको एक सय रनको लक्ष्य भारतले १९.१ ओभरमा मात्रै ३ विकेट गुमाएर पूरा गर्यो।
भारतको जितमा ओपनर शुभमन गिलले सर्वाधिक रनको पारी खेले। उनले ५८ बलमा ८ चौकाको मद्दतमा ४९ रनको योगदान दिए। उनी मात्रै १ रनले अर्धशतक बनाउनबाट चुके। यस्तै श्रयस अय्यरले नटआउट २८ रन बनाउदा इशान किशनले १० रन जोडे।
कप्तान शिखर धवन ८ रनमा आउट हुँदा सन्जु सामसन २ रनमा अविजित रहे। दक्षिण अफ्रिकाका लागि लुंगी एनगिडी र फोर्टूनले १-१ विकेट लिए। त्यसअघि टस हारेर पहिले ब्याटिङको मौका पाएको दक्षिण अफ्रिकाले २७.१ ओभरमा सबै विकेट गुमाएर ९९ रन बनाएको थियो।
उसका लागि हेनरिक क्लासेनले सर्वाधिक रन बनाए। उनले ४२ बलमा ४ चौकाको मद्दतमा ३४ रन बनाएका हुन्। यस्तै, जन्नेमन मलानले १५ र मार्को जेन्सेनले १४ रन जाडे। बाँकी ब्याटरले दोहोरो अंकमा समेत रन बनाउन सकेनन्।
दक्षिण अफ्रिकालाई सस्तैमा समेट्न भारतका लागि कुलदीप यादवले उत्कृष्ट बलिङ गरे। उनले ४.१ ओभरमा १ मेडनसहित १८ रन खर्चिएर सर्वाधिक ४ विकेट लिए। यस्तै, मोहम्मद सिराज, शाहबाज अहमद र वाशिङ्गटन सुन्दरले २–२ विकेट हात पारे।
तीन म्याचको एकदिवसीय सिरिज भारतले २-१ ले जितेको हो। पहिलो खेलमा दक्षिण अफ्रिका ९ रनले विजयी भएको थियो। दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा भारतले ७ विकेटको जित निकालेको थियो। यसअघि भारतले दक्षिण अफ्रिकाविरुद्धको टी-२० सिरिज पनि २-१ ले नै जितेको थियो। यससँगै भारतले नयाँ कीर्तिमान बनाएको छ। घरेलु भूमिमा पहिलोपटक भारतले दक्षिण अफ्रिकासँगको टी-२० र एकदिवसीय जित्दै नयाँ कीर्तिमान बनाएको हो।
नवौं राष्ट्रिय खेलकुद : सुदुरपश्चिमको पहिलो जित
नवौं राष्ट्रिय खेलकद प्रतियोगिता अन्तर्गतको महिला क्रिकेट प्रतियोगितामा सुदुरपश्चिम प्रदेशले पहिलो जित निकालेको छ । पोखरामा मंगलबार भएको खेलमा सुदुरपश्चिमले गण्डकी प्रदेशलाई ६ विकेट पराजित गरेको छ । गण्डकीले दिएको ६० रनको लक्ष्य पछ्याएको सुदुरपश्चिमले १० ओभर २ बलमा ४ विकेट गुमाएर लक्ष्य पूरा गर्यो।
सुदुपश्चिमको जितमा रितु कनौजियाले २२ तथा स्नेहा महराले अविजित २१ रन बनाईन् । गण्डकीका लागि शिला क्षेत्रीले २ तथा शृष्टि जैसीले १ विकेट लिईन् । त्यस अघि पहिले ब्याटिङ गरेको गण्डकीले २० ओभरमा ५ विकेट गुमाएर ५९ रन बनाएको थियो ।
गण्डकीका लागि कप्तान शृष्टि जैसीले अविजित २८ रन बनाईन् । गण्डकीका अन्य ब्याटरले दोहोरो अंकमा समेत रन बनाउन सकेनन् । सुदुरपश्चिमका लागि रितु कनौजियाले २ तथा अनु कडायत,स्नेहा महरा र सावित्री धामीले समान १/१ विकेट लिए। जितसँगै सुदुरपश्चिम २ अंक जोड्दै समूह ‘ए’ को दोस्रो स्थानमा उक्लिएको छ । हारसँगै अंक बिहिन रहँदै गण्डकी पुछारमा रहेको छ ।
महिला क्रिकेटमा ९ टोलीको सहभागिता रहेको छ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् । समूह ‘ए’ मा एपीएफ क्लब, मधेश प्रदेश, गण्डकी प्रदेश,सुदुरपश्चिम प्रदेश र बागमती प्रदेश रहेको छ। समूह ‘बी’ मा नेपाल पुलिस क्लब, कर्णाली प्रदेश, प्रदेश-१ र लुम्बिनी प्रदेश रहेको छ।