काठमाडौं।
आईसीसी पुरुष टी–२० विश्वकप सुरु हुन अब पाँच दिन मात्रै बाँकी रहेका छन्। विश्वकप १६ अक्टोबरदेखि सुरु हुँदैछ। विश्वकपका खेलहरू अष्ट्रेलियाका सात शहरमा हुने छन्। प्रतियोगितामा १६ टिमबीच ४५ खेल हुनेछ।
१३ नोभेम्बरमा हुने फाइनल खेल मेलवर्न क्रिकेट मैदानमा हुनेछ। नेपालले पनि गतवर्ष ओमानमा भएको छनोटमा भाग लिए थियो। तर सेमिफाइनलमा यूएईसँग पराजित हुँदा नेपाल विश्वकप २०२२ मा छनोट हुन असफल भएको थियो।
टी–२० विश्वकप २०२२ को समूह ‘ए’ मा नामिबिया, श्रीलंका, युएई, जिम्बाब्वे वा नेदरल्याण्ड्स तथा समूह ‘बी’ मा आयरल्याण्ड, स्कटल्याण्ड, वेष्ट इण्डिज, जिम्बाब्वे वा नेदरल्याण्ड्स छन्। सुपर १२– समूह १ मा अफगानिस्तान, अष्ट्रेलिया, इंग्ल्याण्ड, न्यूजिल्याण्ड, समूह ‘ए’ विजेता, समूह ‘बी’ उपविजेता छन्।
सुपर १२– समूह २ मा बंगलादेश, भारत, पाकिस्तान, दक्षिण अफ्रिका, समूह ‘बी’ विजेता, समूह ‘ए’ उपविजेता छन्। पहिलो चरणमा समूह ए र बीका खेल हुनेछन्। दुवै समूहका शीर्ष दुईदुई टिम सुपर १२ मा पुग्नेछन्। सुपर १२ अन्तर्गत दुई समूहका शीर्ष दुई दुई टिम सेमिफाइनलमा पुग्नेछन्।
यसैक्रममा पाकिस्तानी टिम र फ्यानहरूका लागि खुसीको खबर आएको छ। टिमका मुख्य बलर शाहिन शाह अफ्रिदी फिट भएका छन्। उनी यसै हप्ता टी-२० विश्वकप खेल्ने पाकिस्तानी टोलीसँग जोडिने भएका छन्। यसका साथै उनले अभ्यास म्याच पनि खेल्ने जनाइएको छ।
पाकिस्तानले अक्टोबर १७ मा इंग्ल्याण्ड र १९ अक्टोबरमा अफगानिस्तानविरुद्ध वार्मअप म्याच खेल्ने तालिका छ। पाकिस्तानले २३ अक्टोबरमा चिरप्रतिद्वन्द्वी भारतसँग खेल्दै विश्वकप यात्रा सुरुवात गर्नेछ।
भारतविरुद्ध खेल्नुअघि अफ्रिदी फिट हुनु पाकिस्तानका लागि ठूलो फाइदा हो। चोटका कारण उनले यूएई भएको एसिया कप गुमाएका थिए। गत वर्ष भएको टी-२० विश्वकपमा भारतविरुद्ध अफ्रिदीले उत्कृष्ट बलिङ गरेका थिए