२४ घण्टा भुइँमा सुतेर स्वदेश फर्कियो नेपाली टिम, खाएको थियो १२ गोल

काठमाडौं।

भियतनाममा आयोजना भएको एएफसी एसियन कप छनोट खेलेर नेपाली यू-१७ फुटबल टोली मंगलबार राति स्वदेश फर्किएको छ । नेपाली टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकज नेम्वाङ लगायतले स्वागत गरे ।

एन्फाको व्यवस्थापकीय कमजोरीका कारण मलेसियाको एयरपोर्टमा २४ घण्टाको ट्रान्जिटमा बसेर नेपाली टोली स्वदेश फर्किएको हो। सस्तो टिकटको लोभमा धेरै ट्रान्जिट समय राखेर खेलाडीलाई स्वदेश फर्काइएको हो।

छनोटमा नेपाल जितविहीन रहेको थियो। नेपालले तीन म्याचमा कूल १२ गोल खायो। नेपाल पहिलो खेलमा थाईल्याण्डसँग ३–० ले, भियतनामसँग ५–० ले र अन्तिम खेलमा चाईनिज ताईपेसँग ४–२ गोल अन्तरले पराजित भएको थियो।

यस्तै, यूईएफए च्याम्पियन्स लिग फुटबलमा इंग्लिस क्लब म्यानचेस्टर सिटी बराबरीमा रोकिएको छ। समूह चरण अन्तर्गत मंगलबार राति सिटीले एफसी कोपनहेगनसँग गोलरहित बराबरी खेलेको हो ।

१० खेलाडीमा समेटिएको सिटीले पाएको अवसरमा गोल गर्न चुक्दा बराबरी खेल्नु परेको हो । खेलको ११ औं मिनेटमा रोड्रीले गोल गरेका थिए । तर, फाउल भएको कारण भीएआरको सहायताबाट उनको गोलले मान्यता पाएन ।

२५ औं मिनेटमा रियाद महरेजले पेनाल्टीमा गोल गर्न सकेनन् । उनको प्रहार कोपनहेगनका गोलकिपरले उत्कृष्ट बचाउ गरे। यस्तै खेलको ३० औं मिनेटमा सर्जियो गोमेजले रातो कार्ड पाएपछि सिटी १० खेलाडीमा समेटिएको थियो ।

यस बराबरीका बाबजुत सिटी समूह ‘जी’ को शीर्ष स्थानमा रहेको छ । सिटीले ४ खेलमा १० अंक जोडेको छ । कोपनहेगन २ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

यसैगरी यूईएफए च्याम्पियन्स लिग फुटबलमा इटालियन क्लब युभेन्ट्स पराजित भएको छ । समूह चरण अन्तर्गत मंगलबार राति युभेन्ट्सलाई मक्काबी हाइफाले २-० गोल अन्तरले हराएको हो ।

हाइफाको जितमा ओमेर अट्जिलीले दुई गोल गरे। खेलको सातौं मिनेटमा ओमेरले गोल गर्दै हाइफालाई सुरुआती अग्रता दिलाएका थिए ।

त्यसपछि खेलको ४२ औं मिनेटमा ओमेरले व्यक्तिगत दोस्रो गोल गर्दै हाइफालाई २-० को जित दिलाए । समूह ‘एच’ मा रहेको हाइफाको यो पहिलो जित हो ।

हाइफाले ४ खेलमा ३ अंक जोडेको छ । हाइफा पुछारमा रहेको छ । युभेन्ट्स ४ खेलमा ३ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

Leave A Reply

Your email address will not be published.