न्यूजिल्याण्डको अर्को शानदार जित, यस्तो बन्यो अंक तालिका

काठमाडौं।

त्रिदेशीय टी-ट्वान्टी सिरिज अन्तर्गत पाँचौ खेलमा घरेलु टोली न्युजिल्याण्डले बंगलादेशलाई हराएको छ । क्राइसचर्चमा बुधबार न्युजिल्याण्डले बंगलादेशलाई ४८ रनले हराएको हो ।

घरेलु टोलीले दिएको २ सय ९ रनको लक्ष्य पछ्याएको बंगलादेशले २० ओभरमा ७ विकेट गुमाएर मात्र १ सय ६० रन बनायो।

बंगलादेशका लागि कप्तान शकिब अल हसनले ७० रनको अर्धशतकीय ईनिङ खेले। सौम्य सरकार र लिटोन दासले समान २३/२३ रन बनाए। नजमुल हसन शान्तोले ११ तथा मोसडेक होसेनले ८ रन बनाए।

न्युजिल्याण्डका लागि एडम मिलले ३ तथा कप्तान टिम साउदी र मिचेल ब्राकवेलले समान २/२ विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले २० ओभरमा ५ विकेट गुमाएर २ सय ८ रन जोडेको थियो ।

घरेलु टोलीका लागि डेभन कन्वे र ग्लेन फिलिप्सले अर्धशतकीय ईनिङ खेले । कन्वेले ६४ तथा फिलिप्सले ६० रन बनाए। मार्टिन गप्टिलले ३४ तथा फिन एलेनले ३२ रन बनाए।

बंगलादेशका लागि ईबाडोट होसाईन र मोहम्मद सफुदिनले समान २/२ तथा सरिफुल ईस्लामले १ विकेट लिए । त्रिदेशीय सिरिजमा न्युजिल्याण्डको यो लगातार तेस्रो जित हो । बंगलादेशको भने यो लगातार तेस्रो हार हो ।

दुई टोलीबीचको पहिलो खेलमा समेत न्युजिल्याण्डले बंगलादेशलाई हराएको थियो । जितसँगै न्युजिल्याण्ड सिरिजको अंक तालिकाको शीर्ष स्थानमा रहेको छ । बंगलादेश भने अंक विहीन रहदै पुछारमा रहेको छ । पाकिस्तान दोस्रो स्थानमा रहेको छ ।

Leave A Reply

Your email address will not be published.