इंग्ल्याण्डले जित्यो अष्ट्रेलियासँगको सिरिज, करन बने ‘हिरो’

काठमाडौं।

घरेलु टोली अष्ट्रेलियासँगको टी–२० सिरिज इंग्ल्याण्डले जितेको छ। दोस्रो टी–२० खेलमा अष्ट्रेलियालाई ८ रनले हराउँदै एक खेल अगावै सिरिज जितेको छ। इंग्ल्याण्डले दिएको १ सय ७९ रन लक्ष्य पछ्याएको अष्ट्रेलियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ७० रन बनाउन सक्यो।

अष्ट्रेलियाका मिचेल मार्शले २९ बलमा ३ चौका र २ छक्कासहित सर्वाधिक ४५ रनको योगदान दिए। यस्तै, टिम डेविड २३ बलमा ५ चौका र १ छक्काको मद्दतमा ४० रनको उत्कृष्ट पारी खेले पनि टिमलाई जिताउन सकेनन्। अष्ट्रेलियालाई अन्तिम ओभरमा जितका २२ रन चाहिएको थियो। साम करनले १३ रन मात्रै दिएपछि इंग्ल्याण्डले जित निकाल्यो।

ओपनर डेविड वार्नर ४, कप्तान आरोन फिन्च १३, ग्लेन म्याक्सवेल ८ र मार्कस स्टोइनिस २२ रनमा आउट हुँदा म्याथ्यू वेडले नटआउट १० र प्याट कमिन्सले अविजित १८ रन बनाए। इंग्ल्याण्डका साम करनले उत्कृष्ट बलिङ गरे। उनले ४ ओभरमा २५ रन दिँदै महत्वपूर्ण ३ विकेट लिए। यस्तै। डेविड विल्ली बेन स्टोक्स र रिस टोप्लीले १–१ विकेट हात पारे।

त्यसअघि मनुका ओभल क्यानवेरामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको इंग्ल्याण्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ७८ रन बनाएको थियो। इंग्ल्यान्डका डेविड मलानले शानदार ब्याटिङ गरे। उनले ४९ बलमा ७ चौका र ४ छक्कासहित सर्वाधिक ८२ रन बनाए।

यस्तै, मोइन अलीले २७ बलमा ४ चौका र २ छक्काको मद्दतमा ४४ रनको पारी खेले। पाँचौं विकेटका लागि अली र मलानले ९२ रनको उत्कृष्ट साझेदारी गर्दै गरे। कप्तान जस बटलर १७ रनमा आउट हुँदा बाँकी ब्याटरले दोहोरो अंकमा समेत रन बनाउन सकेनन्। अष्ट्रेलियाका मार्कस स्टोइनिसले ४ ओभरमा ३४ रन खर्चिएर सर्वाधिक ३ विकेट लिए।

यस्तै, एडम जाम्पाले २ तथा मिचेल स्टार्क र प्याट कमिन्सले १–१ विकेट हात पारे। यस जितसँगै इंग्ल्याण्डले तीन टी–२० म्याचको अन्तर्राष्ट्रिय सिरिजमा २–० को अग्रतासमेत लिएको छ। पहिलो खेलमा इंग्ल्याण्ड ८ रनले नै विजयी भएको थियो। यी दुई देशबीचको तेस्रो तथा अन्तिम टी–२० म्याच शुक्रबार हुनेछ।

Leave A Reply

Your email address will not be published.