काठमाडौं।
केलियन एमबाप्पे जनवरीमा पेरिस सेन्ट जर्मेन (पीएसजी) छोड्न चाहन्छन् । अन्तराष्ट्रिय संचार माध्यमका अनुसार पीएसजीसँगको उनको सम्बन्ध टुटेको छ ।
२३ वर्षीय एमबाप्पेले पीएसजीसँग नयाँ सम्झौता गरेको पाँच महिनापछि यो खबर आएको छ । स्रोतका अनुसार उनी क्लबमा मैदान भित्र र मैदान बाहिर कहिँ पनि खुशी छैनन् ।
जनवरीमा उनलाई कुनै पनि क्लबमा जान बाटो खुला छ । रियल मड्रिड उनको प्राथमिकतामा छ जुन उनले सोचे जस्तो सहज भने देखिदैन । एमबाप्पेसँग यदि सम्बन्ध बिच्छेद हुन्छ भने पेरिसले उनलाई रियल मड्रिड जान भने नदिने भएको छ । स्रोतको दाबीलाई मान्ने हो भने लिभरपुल सम्भावित दाबेदार हुन सक्छ । मड्रिड र पीएसजीको सम्बन्ध माथिल्लो स्तरमै बिग्रिएको छ । यो अब नासिर अल खलेफी र पेरेजको व्यक्तिगत लडाई भईसकेको छ । यस्तो अवस्थामा एमबाप्पेले आफुलाई कहाँ उभ्याएर यो निर्णय लिए भन्ने बुझ्न केहि समय त लाग्नेछ ।
गत समरमा एमबाप्पेले दिएको धोका के रियलले सहजै बिर्सिएर उनको पछि दौडीएला ?
पीएसजीबाट कुनै आधिकारिक टिप्पणी आएको छैन, तर स्रोतहरूले भनेका छन् कि क्लब एमबाप्पेलाई राख्न चाहन्छ र स्थिति समाधान गर्न चाहन्छ । एमबाप्पे क्लब निर्देशक लुइस क्याम्पोस, अध्यक्ष नासेर अल-खलेफी र प्रशिक्षक क्रिस्टोफ गाल्टियरले गरेका वाचाहरू पूरा नगरेको ठान्छन् । एमबाप्पेले आफ्ना नजिकका मान्छेसँग मे महिनामा क्लबमा नयाँ सम्झौतामा गरेर गल्ती गरेको बताएका छन् ।
बेन्फिकासँग पीएसजीको ड्र अघि बोल्दै, क्याम्पोसले भने, ‘एमबाप्पेले आफू वा अल-खलेफीलाई जनवरीमा क्लब छाड्ने भनेर कुनै कुरा गरेका छैनन् ।’
‘म धेरै आश्चर्यचकित छु किनकि म मेरा सबै दिन एमबाप्पेसँग बिताउँछु, र उनले मलाई वा अधक्ष्यलाई जनवरीमा क्लब छोड्ने सम्बन्धि केहि भनेका छैनन्,’ क्याम्पोसले भने ।
एमबाप्पेले आफ्नो छेउमा नम्बर ९ जो पिभोटको रूपमा खेल्न सक्छ, उसको साथ खेल्ने सर्त राखेका थिए । त्यो पीएसजीले गरेको वाचाहरू मध्ये एउटा थियो तर त्यस्तो भएको छैन । उनले क्लबलाई अर्को सेन्टर ब्याक किन्न पनि भनेका थिए, जुन समरमा भएन जबकि एमबाप्पेको नेयमारसँगको सम्बन्ध पनि बिग्रिएको छ ।
ईएसपीएनका अनुसार लिग वन च्याम्पियन पीएसजीले समरमा नेयमारका लागि उचित क्लब भेट्टाउन सकेन । तीन वर्षको सम्झौतामा एमबाप्पेले मेमा हस्ताक्षर गरेपछि उनी विश्व फुटबलमा सबैभन्दा धेरै कमाउने खेलाडी बनेका छन्, यसमा ठूलो साइन-अन शुल्क पनि समावेश छ ।
फोर्ब्सका अनुसार एमबाप्पेले २०२२-२३ सिजनका लागि १२८ मिलियन डलर कमाउनेछन् । उनको यो कमाईसँगै फुटबलको धनी खेलाडी सूचीको शीर्षमा आठ वर्षमा पहिलो पटक लियोनेल मेस्सी र क्रिस्टियानो रोनाल्डो बाहेक अन्य कुनै खेलाडी नम्बर १ मा पुग्यो।
सेप्टेम्बरमा फ्रान्सले युईएफए नेसन्स लिगमा अस्ट्रियालाई हराएपछि एमबाप्पेले भनेका थिए कि उनी राष्ट्रिय टोलीका लागि खेल्दा बढी रमाइलो मान्छन किनभने उनीसँग पीएसजीमा भन्दा बढी स्वतन्त्रता हुन्छ ।
प्रशिक्षक गाल्टियरले सोमबार एक पत्रकार सम्मेलनमा एमबाप्पेसँग समस्या भएको स्वीकार गरे तर बेन्फिकासँग मंगलबारको खेल पछि उनले भने, ‘मैले यसबारे उनीसँग कुरा गरेको छैन । मेरो लक्ष्य खेलमा केन्द्रित रहनु थियो । आज राती उनले सबै कुरा दिए । र, उनले आफू उत्कृष्ट खेलाडी भएको देखाएका छन्।’