काठमाडौं।
टी–२० विश्वकपका लागि भारतीय टोलीको बारेमा ठूलो अपडेट आएको छ। रिपोर्टका अनुसार टोलीका फास्ट बलर दीपक चाहर प्रतियोगिताबाट बाहिरिएका छन् भने शार्दुल ठाकुरलाई रिजर्भ खेलाडीमा राखिएको छ।
यसबाहेक मोहम्मद शामी र मोहम्मद सिराज टी–२० विश्वकपका लागि बुधबार अष्ट्रेलिया गएका छन्। जसप्रीत बुमराह टी–२० विश्वकपअघि चोटका कारण प्रतियोगिताबाट बाहिरिएका छन्। यो भारतीय टिमलाई ठूलो झट्का हो।
उनको प्रतिस्थापनको घोषणा भने भएको छैन। यसका लागि मोहम्मद शमी, मोहम्मद सिराज र दीपक चाहरको नाम चर्चामा थियो। तर, अहिले चाहर चोटका कारण टिमबाट बाहिर भएका छन्। उनको स्थानमा शार्दुल ठाकुरलाई रिजर्भ खेलाडीमा राखिएको छ।
स्पोर्ट्स टकका अनुसार मोहम्मद शामी, मोहम्मद सिराज र शार्दुल ठाकुर बुधबार अष्ट्रेलिया गएका हुन्। यसअघि शमी, रवि बिश्नोई, श्रेयस अय्यर र दीपक चाहर स्ट्यान्डबाइ खेलाडीमा थिए तर अहिले सिराज र शार्दुललाई पनि रिजर्भ खेलाडीमा परेको छ। तर, बुमराहको स्थानमा अहिलेसम्म कुनै पनि खेलाडीलाई टोलीमा समावेश गरिएको छैन।
यदि दीपक चाहरको कुरा गर्ने हो भने उनलाई रिजर्भ खेलाडीमा समावेश गरिएको थियो तर दक्षिण अफ्रिकाको सिरिजमा उनी चोटको सिकार बनेका थिए । चाहरको अब राष्ट्रिय क्रिकेट एकेडेमी (एनसीए) मा पुनर्वास हुनेछ।
यता, मोहम्मद सिराजले हालै गरेको प्रदर्शनलाई हेरेर धेरै दिग्गजहरूले उनलाई टी–२० विश्वकपको टोलीमा समावेश गर्न माग गरेका छन्। सिराजले दक्षिण अफ्रिका सिरिजमा राम्रो बलिङ गरेका थिए र यही कारणले उनी प्लेयर अफ द सिरिज घोषित भएका थिए।
भारतको विश्वकप खेल्ने टोली :
रोहित शर्मा (कप्तान), केएल राहुल (उपकप्तान), विराट कोहली, सूर्यकुमार यादव, दीपक हुडा, ऋषभ पन्त, दिनेश कार्तिक (विकेटकिपर), हार्दिक पान्ड्या, रविचन्द्रन आश्विन, युजभेन्द्र चहल, अक्षर पटेल, भुवनेश्वर कुमार, हर्षल पटेल र अर्शदीप सिंह।
पाकिस्तानद्वारा बंगलादेश पराजित
न्युजिल्याण्डमा जारी त्रिदेशीय टी ट्वान्टी सिरिज अन्तर्गतको समूह चरणको अन्तिम खेलमा पाकिस्तानले बंगलादेशलाई हराएको छ । क्राइसचर्चमा बिहिबार भएको खेलमा पाकिस्तानले बंगलादेशलाई ७ विकेटले हराएको हो ।
बंगलादेशले दिएको १ सय ७४ रनको लक्ष्य पछ्याएको पाकिस्तानले १ बल बाकी रहँदा ३ विकेट गुमाएर लक्ष्य पुरा गर्यो । पाकिस्तानको जितमा मोहम्मद रिजवनले ६९ रनको अर्धशतकीय पारी खेले ।रिजवानले ५६ बलमा ४ चौकाको मद्दतले ६९ रन बनाएका थिए । कप्तान बाबर अजामले ४० बलमा ५५ रनको अर्धशतकीय पारी खेले ।
मोहम्मद नवाजले अविजित ४५ तथा आसिफ अलिले अविजित २ रन बनाए । बंगलादेशका लागि हसन महमुदले २ तथा सौम्य सरकारले १ विकेट लिए । पहिले ब्याटिङ गरेको बंगलादेशले २० ओभरमा ६ विकेट गुमाएर १ सय ७३ रन बनाएको थियो ।
उसका लागि लिन्टन दास र शाकिब अल हसनले अर्धशतकीय पारी खेले । दासले ६९ तथा कप्तान शाकिबले ६८ रन बनाए । नजमुल होसाइन शान्तोले १२ तथा आफिफ होसाइनले ११ रन बनाए।
पाकिस्तानको लागि नसिम शाह र मोहम्मद वासिमले २-२ तथा मोहम्मद नवाजले १ विकेट लिए । सिरिजमा पाकिस्तानको यो तेस्रो जित हो। बंगलादेश भने यस सिरिजका चार खेलमा जित बिहिन रह्यो । सिरिजको फाइनल खेल शुक्रबार न्युजिल्याण्ड र पाकिस्तानबीच हुनेछ।