काठमाडौं।
वेस्टर्न अष्ट्रेलिया–११ सँगको दोस्रो अभ्यास खेलमा भारत ३६ रनले पराजित भएको छ। बिहीबार पर्थमा वेस्टर्न अष्ट्रेलियाले दिएको १ सय ६९ रनको लक्ष्य पछ्याएको भारतले २० ओभरमा ८ विकेट गुमाएर १ सय ३२ रन मात्रै बनाउन सक्यो।
उसका लागि कप्तान केएल राहुलले शानार ब्याटिङ गरे पनि टिमलाई हारबाट जोगाउन सकेनन्। राहुलले ५५ बलमा ९ चौका र २ छक्काको मद्दतमा सर्वाधिक ७४ रनको योगदान दिए। यस्तै, हार्दिक पाण्ड्याले १७ र दिनेश कार्तिकले १० रन जोडे। ऋषभ पन्त ९, दीपक हुड्डा ६, अक्षर पटेल र हर्षल पटेल २–२ रनमा आउट हुँदा रविचन्द्र आश्विन २ रनमा अविजित रहे।
भुवनेश्वर कुमारले खातासमेत खोल्न सकेनन्। प्लेइङ–११ मा रहेका रोहित शर्मा भने ब्याटिङ गर्न आएनन्। यस खेलमा उनले कप्तानीसमेत गरेनन्। राहुलले कप्तानी गरेका थिए। राहुलसँग इनिङ्स ओपन गर्न ऋषभ पन्त आएका थिए।
वेस्टर्न अष्ट्रेलिया–११ का लागि हामिश म्याकेन्जी, लान्स मोरिस र म्याथ्यू केलीले २–२ तथा एन्ड्रयू टाई र जेसन बेहरेनडोर्फले १–१ विकेट लिए। त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको वेस्टर्न अष्ट्रेलियाले २० ओभरमा ८ विकेट गुमाएर १ सय ६८ रन बनाएको थियो।
निक होब्सन र डी’आर्सी शर्टले अर्धशतकीय पारी खेले। होब्सनले ४१ बलमा ५ चौका र ४ छक्काको मद्दतमा सर्वाधिक ६४ रन बनाउँदा शर्टले ३८ बलमा ४ चौका र २ छक्कासहित ५२ रन जोडे। म्याथ्यू केलीले ११ बलमा १ चौका र १ छक्काको सहयोगमा नटआउट १५ रनको योगदान दिए। बाँकी ब्याटरले दोहोरो अंकमा समेत रन बनाउन सकेनन्।
भारतका लागि रविचन्द्र आश्विनले उत्कृष्ट बलिङ गरे। उनले ४ ओभरमा ३२ रन दिएर महत्वपूर्ण ३ विकेट लिए। यस्तै, हर्षल पटेलले २ र अर्शदीप सिंहले १ विकेट लिए। एक विकेट रनआउटको रूपमा प्राप्त भयो। पहिलो अभ्यास खेलमा वेस्टर्न अष्ट्रेलियामाथि भारत १३ रनले विजयी भएको थियो।
भारतले आईसीसी टी-२० विश्वकपमा वार्मअप खेलअघि यो अभ्यास खेल खेलेको हो। भारतले वार्मअप खेलअन्तर्गत १७ अक्टोबरमा अष्ट्रेलिया र १९ अक्टोबरमा न्यूजिल्याण्डसँग खेल्ने तालिका रहेको छ। भारतले २३ अक्टोबरमा चिरप्रतिद्वन्द्वी पाकिस्तानसँग खेल्दै विश्वकप यात्रा सुरुवात गर्नेछ।
भारतले थप यी ३ चर्चित खेलाडीलाई अष्ट्रेलिया बोलायो
टी–२० विश्वकपका लागि भारतीय टोलीको बारेमा ठूलो अपडेट आएको छ। रिपोर्टका अनुसार टोलीका फास्ट बलर दीपक चाहर प्रतियोगिताबाट बाहिरिएका छन् भने शार्दुल ठाकुरलाई रिजर्भ खेलाडीमा राखिएको छ।
यसबाहेक मोहम्मद शामी र मोहम्मद सिराज टी–२० विश्वकपका लागि बुधबार अष्ट्रेलिया गएका छन्। जसप्रीत बुमराह टी–२० विश्वकपअघि चोटका कारण प्रतियोगिताबाट बाहिरिएका छन्। यो भारतीय टिमलाई ठूलो झट्का हो।
उनको प्रतिस्थापनको घोषणा भने भएको छैन। यसका लागि मोहम्मद शमी, मोहम्मद सिराज र दीपक चाहरको नाम चर्चामा थियो। तर, अहिले चाहर चोटका कारण टिमबाट बाहिर भएका छन्। उनको स्थानमा शार्दुल ठाकुरलाई रिजर्भ खेलाडीमा राखिएको छ।
स्पोर्ट्स टकका अनुसार मोहम्मद शामी, मोहम्मद सिराज र शार्दुल ठाकुर बुधबार अष्ट्रेलिया गएका हुन्। यसअघि शमी, रवि बिश्नोई, श्रेयस अय्यर र दीपक चाहर स्ट्यान्डबाइ खेलाडीमा थिए तर अहिले सिराज र शार्दुललाई पनि रिजर्भ खेलाडीमा परेको छ। तर, बुमराहको स्थानमा अहिलेसम्म कुनै पनि खेलाडीलाई टोलीमा समावेश गरिएको छैन।
यदि दीपक चाहरको कुरा गर्ने हो भने उनलाई रिजर्भ खेलाडीमा समावेश गरिएको थियो तर दक्षिण अफ्रिकाको सिरिजमा उनी चोटको सिकार बनेका थिए । चाहरको अब राष्ट्रिय क्रिकेट एकेडेमी (एनसीए) मा पुनर्वास हुनेछ।
यता, मोहम्मद सिराजले हालै गरेको प्रदर्शनलाई हेरेर धेरै दिग्गजहरूले उनलाई टी–२० विश्वकपको टोलीमा समावेश गर्न माग गरेका छन्। सिराजले दक्षिण अफ्रिका सिरिजमा राम्रो बलिङ गरेका थिए र यही कारणले उनी प्लेयर अफ द सिरिज घोषित भएका थिए।
भारतको विश्वकप खेल्ने टोली : रोहित शर्मा (कप्तान), केएल राहुल (उपकप्तान), विराट कोहली, सूर्यकुमार यादव, दीपक हुडा, ऋषभ पन्त, दिनेश कार्तिक (विकेटकिपर), हार्दिक पान्ड्या, रविचन्द्रन आश्विन, युजभेन्द्र चहल, अक्षर पटेल, भुवनेश्वर कुमार, हर्षल पटेल र अर्शदीप सिंह।