पुरुष फुटबलमा विमलको टिमको शानदार जित, यी हुन् गोल गर्ने खेलाडी

पोखरा।

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबल खेलमा गैरआवासीय नेपाली संघ (एनआरएनए) ले विजयी सुरुआत गरेको छ । पोखराको गोस्टेघाट खेलमैदानमा बिहीबार प्रदेश १ लाई हराउँदै एनआरएनएले सुखद सुरुआत गरेको हो ।

एनआरएनएको जितमा विमल घर्तीमगर र संजोक राईले एकएक गोल गरे। खेलको आठौं मिनेटमा विमलले गोल गर्दै एनआरएनएलाई सुरुआती अग्रता दिलाएका थिए ।

त्यसपछि खेलको ५५ औं मिनेटमा संजोकले गोल गर्दै एनआरएनएलाई २-० को जित दिलाए । प्रतियोगिता अन्तर्गत आज हुने दोस्रो खेलमा वागमती र मधेश प्रदेशबीच प्रतिस्पर्धा हुँदैछ।

उद्घाटनमा पुलिस र कर्णाली भिड्ने

गण्डकी प्रदेको पोखरामा भइरहेको नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष भलिबल खेल शुक्रबारदेखि हुँदैछ । शुक्रबार हुने उद्घाटन खेलमा समूह ‘ए’ तर्फ नेपाल पुलिस क्लबले कर्णाली प्रदेशसँग प्रतिस्पर्धा गर्नेछ । यो समूहमा समूहमा रहेको अर्को टोलीमा लुम्बिनी प्रदेश रहेको छ ।

पोखरा रंगशालास्थित भलिबल कोर्टमा हुने पुरुष भलिबलमा ११ टिमले सहभागिता जनाउँदैछन् । सहभागीलाई चार समूहमा विभाजन गरिएको छ । समूह ‘बी’ मा त्रिभुवन आर्मी, प्रदेश १ र मधेस प्रदेश, समूह ‘सी’ मा एपीएफ, एनआरएनए र सुदूरपश्चिम तथा समूह ‘डी’ मा गण्डकी र वाग्मती प्रदेश छन् ।

लिगकम नकआउटका आधारमा हुने प्रतियोगितामा समूहका शीर्ष दुई टिम क्वाटरफाइनल पुग्नेछन् । तालिकाअनुसार समूह ‘डी’ मा दुई टिममात्र रहेकाले गण्डकी र वाग्मती सिधै क्वाटरफाइनल पुगेका छन् । दुवैले अब समूह विजेता बन्न प्रतिस्पर्धा गर्नेछन् । पुरुष भलिबलको फाइनल कात्तिक ३ मा हुनेछ । महिला भलिबल भने म्याग्दीमा बिहीबारबाट सुरु भएको छ ।

नवौंको ओलम्पिक टर्च लुम्बिनीमा

गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुदको उद्घाटनमा प्रज्वलन गरिने ओलम्पिक फ्लेम (ओलम्पिक टर्च) बिहीबार लुम्बिनीमा पुर्‍याइएको छ। उमेश मास्केको संयोजकत्वमा रहेको ओलम्पियन टोलीले ओलम्पिक टर्च काठमाडौंबाट लुम्बिनी पुर्‍याइएको हो ।

लुम्बिनी विकास कोषको सहकार्यमा बिहीबार विहान लुम्बिनीको शान्तिदीप अगाडि ओलम्पिक टर्चको र्याली कार्यक्रम गरिएको थियो ।लुम्बिनीबाट बिहीबार नै टर्चलाई नवौं राष्ट्रिय खेलकुदको आयोजना स्थल गण्डकी प्रदेशको राजधानी पोखरा ल्याईने भएको छ ।

ओलम्पिक टर्च लाने मास्के संयोजक रहेको टोलीमा मुकुन्दहरी श्रेष्ठ, रामबहादुर गिरी, अर्जुन पण्डित, राजकुमारी पाण्डे र भगवती केसी रहेका छन् । ओलम्पियन्स संघले ओलम्पिक टर्चका लागि ओलम्पियनहरुको सिफारिस राखेपलाई गरेको हो । ओलम्पियन टोलीले ल्याएको उक्त टर्च पोखरामा टिकाबहादुर बोगटीसहितको अर्को ५ सदस्यीय गण्डकीका ओलम्पियन टोलीलाई हस्तान्तर गरिनेछ ।

उद्घाटनका दिन शुक्रबार सोही टोली र अन्य ओलम्पियन टोलीले ओलम्पिक टर्चलाई पोखरा रंगशालामा परिक्रमा गराएर गण्डकीका जेष्ठ ओलम्पियन सातौं दक्षिण एसियाली खेलकुदका म्याराथनका स्वर्ण पदक विजेता बोगटीले ओलम्पिक फ्लेम प्रज्वलन गर्ने जनाइएको छ।

Leave A Reply

Your email address will not be published.