काठमाडौं।
आज असोज २७ गते। नेपाली खेलकुद प्रेमीले खुसी मनाएको दिन अर्थात् ठीक एकवर्षअघि आज नेपाल साफ च्याम्पियनसिपको इतिहासमै पहिलोपटक फाइनलमा पुगेको दिन हो। गतवर्ष आजकै दिन नेपाली राष्ट्रिय फुटबल टोली इतिहासमै पहिलोपटक साफ च्याम्पियनसिपको फाइनलमा पुगेको थियो।
प्रतियोगिताको अन्तिम लिग खेलमा बंगलादेशसँग १–१ को बराबरीमा रोकिएपछि नेपालले फाइनलमा स्थान पक्का गरको थियो। माल्दिभ्सको राजधानी मालेस्थित राष्ट्रिय रंगशालामा भएको खेलमा बंगलादेशलाई बराबरीमा रोक्दै नेपाल पहिलोपटक फाइनलमा पुगेको थियो।
बंगलादेशका सुमा रेजाले ९औं मिनेटमा गोल गरेका थिए। निकै प्रतिस्पर्धात्मक खेलमा नेपाली टोलीका अन्जन विष्टले ८८ मिनेटमा पेनाल्टीमा गोल गर्दै नेपाललाई बराबरीमा ल्याएका थिए। दोस्रो हाफमा उच्च प्रदर्शन गरिरहेका बंगलादेशका गोलरक्षक अनिसुर रहमानले रातो कार्ड खाएपछि नेपालले खेलमा फर्कने अवसर पाएको थियो ।
नेपाललाई साफको फाइनल पुग्न खेल बराबरीमात्रै गरे पुग्थ्यो। विष्टको गोलसँगै नेपालले इतिहास रच्दै साफको फाइनलमा स्थान बनाएको थियो। साफ च्याम्पियनसीपको फाइनलमा नेपाल र भारतबीच प्रतिस्पर्धा भयो।
तर, नेपालले उपाधि जित्न भने सकेन। नेपालले फाइनलमा पहिलो साफ भारतसँग गोलरहित बराबरी खेलेको थियो। तर, दोस्रो हाफको पाँच मिनेटमै भारतले दुई गोल गरेपछि नेपालको प्रतिस्पर्धा कठिन बनेको थियो।
पहिलो बराबरीमा टुङ्ग्याएको नेपालले दोस्रो हाफको सुरुवातमै लगातार गोल खायो। भारतका लागि खेलको ४९औं मिनेटमा कप्तान सुनील क्षेत्रीले गोल गरेका थिए। त्यसको लगत्तै ५०औं मिनेटमा सुरेशसिंह वाङजमले दोस्रो गोल थपेका थिए।
त्यसपछि नेपाल खेलमा फर्किन सकेन। भारतले झन् आक्रमक खेल खेल्यो। इन्जुरी समयमा भारतले तेस्रो गोल थप्यो। भारतका लागि ९१औं मिनेटमा साहल अब्दुल सामदले तेस्रो गोल गरेका थिए। यससँगै भारतले आठौं पटक साफ च्याम्पियनसिप जितेको थियो। नेपाल पहिलोपटक फाइनलमा पुगेको थियो। तर, फाइनलमा नेपालले राम्रो खेल प्रदर्शन गर्न सकेको थिएन।