विश्वकपअघि उत्कृष्ट लयमा पाकिस्तान, जित्यो त्रिकोणात्मक सिरिजको उपाधि

काठमाडौं।

पाकिस्तानले न्यूजिल्याण्डमा भएको त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय सिरिज जितेको छ। सिरिजको फाइनलमा घरेलु टोली न्यूजिल्याण्डलाई ५ विकेटले हराउँदै पाकिस्तानले उपाधि उचालेको हो।

फाइनलमा न्यूजिल्याण्डले दिएको १ सय ६४ रनको लक्ष्य पाकिस्तानले १९.३ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्‍यो। पाकिस्तानको जितमा मोहम्मद नवाजले शानदार ब्याटिङ गरे। उनले २२ बलमा २ चौका र ३ छक्कासहित अविजित ३८ रनको योगदान दिए।

यस्तै, मोहम्मद रिजवान ३४ रनमा आउट हुँदा युवा ब्याटर हैदर अली १५ बलमा ३ चौका र २ छक्काको मद्दतमा ३१ रन जोडे। कप्तान बाबर आजम १५ र शन मकसुद २१ रनमा आउट हुँदा इफ्तिखर अहमदले १४ बलमा १ चौका र १ छक्काको मद्दतमा २५ रनमा अविजित रहे।

न्यूजिल्याण्डका माइकल ब्रेसवेलले २ तथा टिम साउथी, ईश सोधी र ब्लेयर टिनकरले एकएक विकेट लिए। त्यसअघि टस हारेर पहिला ब्याटिङ थालेको न्यूजिल्याण्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ६३ रन बनाएको थियो।

उसका लागि कप्तान केन विलियम्सनले अर्धशतकीय पारी खेले। उनले ३८ बलमा ४ चौका र २ छक्कासहित सर्वाधिक ५९ रनको योगदान दिए। यस्तै, ग्लेन फिलिप्स र मार्क च्यापम्यान २५–२५, जेमी निसम १७, डेभन कन्वे १४ र फिन एलेन १२ रनमा आउट भए।

पाकिस्तानका नसिम शाह र हरिस रौफले दुईदुई तथा शादव खान र मोहम्मद नवाजले एकएक विकेट लिए। त्रिकोणात्मक सिरिजमा पाकिस्तान, न्यूजिल्याण्ड र बंगलादेशबीच भएको थियो। टी–२० विश्वकप खेल्नुअघि पाकिस्तान उत्कृष्ट लयमा छ। उसले त्रिकोणात्मक सिरिजका पाँच म्याचमध्य चार खेल जित्यो।

विश्वकप १६ अक्टोबरदेखि सुरु हुँदैछ। विश्वकपका खेलहरू अष्ट्रेलियाका सात शहरमा हुने छन्। प्रतियोगितामा १६ टिमबीच ४५ खेल हुनेछ। १३ नोभेम्बरमा हुने फाइनल खेल मेलवर्न क्रिकेट मैदानमा हुनेछ। पाकिस्तानले अक्टोबर १७ मा इंग्ल्याण्ड र १९ अक्टोबरमा अफगानिस्तानविरुद्ध वार्मअप म्याच खेल्ने तालिका छ। पाकिस्तानले २३ अक्टोबरमा चिरप्रतिद्वन्द्वी भारतसँग खेल्दै विश्वकप यात्रा सुरुवात गर्नेछ।

टी–२० विश्वकप २०२२ को समूह ‘ए’ मा नामिबिया, श्रीलंका, युएई, जिम्बाब्वे वा नेदरल्याण्ड्स तथा समूह ‘बी’ मा आयरल्याण्ड, स्कटल्याण्ड, वेष्ट इण्डिज, जिम्बाब्वे वा नेदरल्याण्ड्स छन्। सुपर १२– समूह १ मा अफगानिस्तान, अष्ट्रेलिया, इंग्ल्याण्ड, न्यूजिल्याण्ड, समूह ‘ए’ विजेता, समूह ‘बी’ उपविजेता छन्।

सुपर १२– समूह २ मा बंगलादेश, भारत, पाकिस्तान, दक्षिण अफ्रिका, समूह ‘बी’ विजेता, समूह ‘ए’ उपविजेता छन्। पहिलो चरणमा समूह ए र बीका खेल हुनेछन्। दुवै समूहका शीर्ष दुईदुई टिम सुपर १२ मा पुग्नेछन्। सुपर १२ अन्तर्गत दुई समूहका शीर्ष दुई दुई टिम सेमिफाइनलमा पुग्नेछन्।

Leave A Reply

Your email address will not be published.