पुरुष फुटबलमा आर्मीको शानदार जित, गोलको भयो वर्षा

पोखरा।

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष फुटबलमा त्रिभुवन आर्मी क्लबले विजयी सुरुआत गरेको छ। पोखराको गोस्टेघाट खेल मैदानमा शुक्रबार आर्मीले लुम्बिनी प्रदेशलाई ४–१ गोल अन्तरले हराएको हो।

आर्मीको जितमा जर्ज प्रिन्स कार्की, भरत खवास, दिनेश हेन्जन र नवयुग श्रेष्ठले एकएक गोल गरे। लुम्बिनीका चेतन थारुले एक गोल फर्काए।

पुरुष फुटबलको पहिलो दिन बिहीबार एनआरएनए र बागमती प्रदेशले विजयी सुरुवात गरेको थियो। एनआरएनले प्रदेश १ लाई २–० र बागमती प्रदेशले मधेशलाई २–० ले हराएको थियो।

महिला फुटबलमा गण्डकीको विजयी सुरुआत

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला फुटबलमा गण्डकी प्रदेशले विजयी सुरुआत गरेको छ । वालिङमा जारी प्रतियोगिता अन्तर्गत शुक्रबार गण्डकीले कर्णाली प्रदेशलाई ३–० गोल अन्तरले पराजित गरेको हो ।

खेलको ३३ औं मिनेटमा गण्डकीकी शान्ती नेपालीले पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाएकी थिइन् । त्यस्तै खेलको ५८ औं र ६६ औं मिनेटमा उदया थापाले दोस्रो र तेस्रो गोल गरिन् ।

गण्डकी समूह विजेता बन्दै क्वाटरफाइनलमा

नवौं राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष भलिबलमा गण्डकी प्रदेशले विजयी सुरुआत गरेको छ । पोखरा रंगशालास्थित भलिबल टेक्निकल सेन्टरमा शुक्रबार गण्डकीले वागमती प्रदेशलाई ३–१ सेटमा हरायो । यद्यपि, समूह ‘डी’ मा गण्डकी र वाग्मती मात्रै रहेकोले दुवै टिमले क्वाटरफाइनल चरण प्रवेशलाई सुनिश्चित गरिसकेका छन् । दुई टिमले समूह बिजेता बन्न प्रतिस्पर्धा गरेका हुन् ।

पहिलो सेट २५–२० ले परिणाम हात पारेको गण्डकीले दोस्रो सेट भने १५–२५ ले वाग्मतीलाई सुम्पियो । तेस्रो र चौंथो सेटमा गण्डकीले मौका दिएन । तेस्रो सेट २५–१८ ले जित हात पार्दा चौंथो सेट सहज प्रतिस्पर्धामा २५–१४ ले गण्डकी विजयी भयो ।

शुक्रबार भएको भलिबल खेलको उद्घाटन खेलमा विभागीय टिम पुलिसले कर्णाली प्रदेशलाई ३–० को सोझो सेटमा पराजित गर्यो । साविक बिजेता पुलिसले २५–१६, २५–१२ र २५–११ को सहज जित निकालेको हो । लिग कम नकआउटको आधारमा हुने प्रतियोगितामा पुलिसले जितसँगै ३ अंक जोडेको छ ।

पुरुष भलिबलको समूह ‘ए’ मा पुलिस र कर्णालीसहित लुम्बिनी प्रदेश रहेको छ । सहभागी ११ टिमलाई चार समूहमा विभाजन गरिएको छ । समूह ‘बी’ मा त्रिभुवन आर्मी, प्रदेश १ र मधेस प्रदेश, समूह ‘सी’ मा एपीएफ, एनआरएनए र सुदूरपश्चिम तथा समूह ‘डी’ मा गण्डकी र वागमती प्रदेश छन् ।

प्रतियोगितामा समूहका शीर्ष दुई टिम क्वाटरफाइनल पुग्ने छन् । शनिबारको पहिलो खेल एपीएफ र गैरआवासीय नेपाली संघ (एनआरएनए), दोस्रो खेल त्रिभुवन आर्मी र प्रदेश १ र तेस्रो खेल पुलिस र लुम्बिनी प्रदेशबीच हुनेछ । पुरुष भलिबलको फाइनल कात्तिक ३ मा हुनेछ ।

Leave A Reply

Your email address will not be published.