भारतले जित्यो एसिया कपको उपाधि, बनायो ठूलो कीर्तिमान

काठमाडौं।

भारतले एसिया कप टी–२० त्रिकेट प्रतियोगिताको उपाधि जितेको छ। श्रीलंकालाई हराउँदै भारतले सातौं पटक एसिया कपको उपाधि जितेको हो। भारतसँग पराजित श्रीलंका पाँचौं पटक उपविजेतामा सीमित भएको छ।

बंगलादेशको सिलेट अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा श्रीलंका ८ विकेटले पराजित भएको हो। श्रीलंकाले दिएको ६६ रनको लक्ष्य भारतले ८.३ ओभरमा २ विकेट गुमाएर भेट्टायो। यससँगै भारतले सर्वाधिक पटक एसिया कपको उपाधि जित्ने कीर्तिमानलाई कायमै राखेको छ।

भारतलाई च्याम्पियन बनाउन स्मिृती मन्धनाले अविजित ५१ रनको अर्धशतकीय पारी खेलिन्। कप्तान हरमनप्रीत कौरले ११ तथा शफाली बर्माले ५ रन बनाइन्।

श्रीलंकाका लागि कभिसा दिलहरि र इनोका रुनावाराले समान १–१ विकेट लिइन्। त्यसअघि पहिले ब्याटिङ गरेको श्रीलंकाले २० ओभरमा ९ विकेट गुमाएर ६५ रन बनाए। श्रीलंकाका लागि इनोका रुनावाराले अविजित १८ र ओशडी रानासिंगाले १३ रन जोड्दा अन्य ब्याटरले दोहोरो रन बनाउन सकेनन्।

भारतका लागि रेनुका सिंहले ३ तथा राजेश्वरी गायकवाड र स्नेहा रानाले समना २–२ विकेट लिइन्। सेमिफाइनलमा श्रीलंकाले पाकिस्तानलाई १ रनले हराउँदै फाइनलमा स्थान बनाएको थियो। भारतले सेमिफाइनलमा थाइल्याण्डलाई ७४ रनले हराएको थियो।

महिला क्रिकेटमा बागमतीको जित

नवौं राष्ट्रिय खेलकद प्रतियोगिता अन्तर्गतको महिला क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले दोस्रो जित निकालेको छ । पोखरामा शनिबार भएको खेलमा बागमतीले गण्डकी प्रदेशलाई ३० रनले पराजित गरेको छ । बागमती प्रदेशले दिएको ८९ रनको लक्ष्य पछ्याएको गण्डकी प्रदेशले १९ ओभर १ बलमा अलआउट हुनु अघि ५८ रन मात्र बनायो ।

गण्डकीका लागि कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । बागमतीले २४ रन अतिरिक्तका रुपमा खर्चियो । बागमतीका लागि विपिशा शाही र असिमना कर्माचार्यले समान २/२ तथा कृष्मा गुरुङ,आरिता बिडारी,सोनी पाख्रिन,संस्कृति फुयालले समान १/१ विकेट लिईन् । त्यस अघि पहिले ब्याटिङ गरेको बागमतीले २० ओभरमा १० विकेट गुमाएर ८८ रन बनायो ।

बागमतीका लागि सोनी पाख्रिन र आरती बिडारीले मात्र दोहोरो अंकमा रन बनाए । पाख्रिनले २१ तथा बिडारीले ११ रन बनाईन् । गण्डकीले २० रन अतिरिक्तमा खर्चियो । गण्डकीका लागि शृष्टि जैसीले २ तथा कुशुम गोदार,शिला क्षेत्री र निरुता जिटीले समान १/१ विकेट लिए ।

समूह ‘ए’ मा रहेको बागमती ३ खेलमा ४ अंकका साथ दोस्रो स्थानमा उक्लिएको छ । गण्डकी भने जित बिहिन रहेर प्रतियोगिताबाट बाहिरिएको छ । यस समूहबाट पुलिस क्लब सेमिफाईनल पुगिसकेको छ । महिला क्रिकेटमा ९ टोलीको सहभागिता रहेको छ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।

समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् । समूह ‘ए’ मा एपीएफ क्लब, मधेश प्रदेश, गण्डकी प्रदेश,सुदुरपश्चिम प्रदेश र बागमती प्रदेश रहेको छ । समूह ‘बी’ मा नेपाल पुलिस क्लब, कर्णाली प्रदेश, प्रदेश-१ र लुम्बिनी प्रदेश रहेको छ । महिला क्रिकेट असोज १ कात्तिकसम्म हुनेछ । नवौं राष्ट्रिय खेलकुद असोज २८ देखि कात्तिक ३ सम्म आयोजना हुनेछ । तर, पुरुष क्रिकेट भने अगाडी नै आयोजना भइसकेको छ ।

Leave A Reply

Your email address will not be published.