काठमाडौं ।
पाकिस्तान जुनियर क्रिकेट लिग (पीजेसीएल) मा नेपाली राष्ट्रिय क्रिकेट टिमका अलराउण्डर कुशल मल्ल आवद्ध ग्वादार शार्कले आफ्नो लिग चरणको अन्तिम तथा पाँचौं खेलमा पहिले ब्याटिङ गर्ने भएको छ। मर्डन वारियर्सले टस जितर फिल्डिङ रोजेपछि शार्क पहिले ब्याटिङ गर्ने भएको हो।
खेल पाकिस्तानको लाहोरमा रहेको गद्दाफी क्रिकेट मैदानमा नेपाली समयअनुसार साँझ ६ः४५ बजेदेखि सुरु हुनेछ। शार्क यो खेलमा जित निकाल्दै समूह चरणको खेलमा विजेता बनेर प्लेअफमा प्रवेश गर्न चाहन्छ।
आजको खेलमा जुन टिम विजेता बन्छ सोही टोली समूह स्तरको विजेता बन्ने भएकोले यो खेल प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको छ। चार खेलमा एक हार र तीन जितका साथ शार्क अंक तालिकाको दोस्रो स्थानमा रहेको छ।
वारियर्स पनि समान खेल र जितका साथ रहे पनि रन रेटका आभारमा तेस्रो स्थानमा रहेको छ। कुशलले भने आज पनि प्लेङङ–११ मा मौका पाएका छैनन । पीजेसीएलको ड्राफ्टबाट कुशललाई ग्वादार शार्कले छैटौं चरणमा अनुबन्ध गरेको थियो। तर, कुशल लगातार पाँचौं खेलमा पनि बेन्चमा नै सीमित भएका छन्।
१८ वर्षीय कुशलले नेपालका लागि ८ एकदिवसीय तथा १५ टी–२० अन्तर्राष्ट्रिय खेलेका छन्। कुशलले कम उमेरमा एकदिवसीय अन्तर्राष्ट्रियमा अर्धशतकको कीर्तिमान समेत बनाएका थिए। कुशल यसअघि यूएईमा आयोजना हुने टी–१० लिगमा समेत सहभागीता जनाइसकेका छन्।
पुलिसलाई हराउँदै आर्मी सेमिफाइनलमा
त्रिभुवन आर्मी क्लब नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालामा आइतबार नेपाल पुलिस क्लबलाई २–० गोल अन्तरले हराउँदै आर्मी सेमिफाइनलमा प्रवेश गरेको हो।
आर्मीलाई जित दिलाउन नवयुग श्रेष्ठ र दिनेश हेमजनले एक एक गोल गरे । खेलको १५ औं मिनेटमा नवयुगले गोल गर्दै आर्मीलाई सुरुआती अग्रता दिलाए । त्यसपछि खेलको २९ औं मिनेटमा दिनेशले गोल गर्दै आर्मीलाई २-० को जित दिलाए ।
जितसँगै आर्मी २ खेलबाट ६ अंक बटुल्दै समूह सी को शीर्ष स्थानमा रहेको छ । आर्मी सेमिफाइनलमा पुग्दा साविक उपविजेता पुलिस र लुम्बिनी समूह चरणबाट बाहिरिएका छन् । पुलिसले अन्तिम खेलमा लुम्बिनीसँग सान्त्वना जितको लागि खेल्नेछ ।