काठमाडौं।
नेपाली क्रिकेट टिमका पूर्व कप्तान ज्ञानेन्द्र मल्लले शानदार शतक बनाएका छन्। प्रधानमन्त्री कप एकदिवसिय प्रतियोगिताअन्तर्गत बागमती प्रदेश छनोटमा मल्लले शतक बनाएका हुन्। बागमती प्रदेशका कप्तान मल्लको शतकको मद्दतमा काठमाडौंले भक्तपुरलाई ५४ रनले हराएको छ।
काठमाडौंले दिएको २ सय २९ रनको लक्ष्य पछ्याएको भक्तपुरले निर्धारित ४० ओभरमा ९ विकेट गुमाउँदै १ सय ७४ रन मात्र बनाउन सक्यो। भक्तपुरका सौरभ सहकर्मीले अर्धशतकीय पारी खेले। उनले ८८ बलमा ५ चौका र १ छक्कासहित सर्वाधिक ६० रनको योगदान दिए।
काठमाडौंका लागि अरियो पौडेल र दीपक महतोले ३–३ विकेट तथा प्रतिश जि।सीले १ विकेट लिए। त्यसअघि मुलपानी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको काठमाडौंले निर्धारित ४० ओभरमा ५ विकेट गुमाउँदै २ सय २८ रन बनायो। काठमाडौंका कप्तान मल्लले ९८ बलमा ६ चौका र ६ छक्काको मद्दतमा १ सय १३ रनको शतकीय पारी खेले।
यस्तै, ओपनर इशान पाण्डेले पनि अर्धशतकीय इनिङ खेले। उनले ८३ बलमा ४ चौका र १ छक्कासहित ५३ रनको योगदान दिए। उत्तम थापाले २७, रित गौतमले १३ रन बनाउँदा विपिन जोशी र प्रतिश जिसी २–२ रनमा आउट भए। भक्तपुरका लागि रमाशिष महतोले ३ र विनित दासले २ विकेट लिए।
दोस्रो खेलमा नुवाकोटमाथि ललितपुरले १ सय १८ रनको जित निकालेको छ। ललितपुरले दिएको २ सय १० रनको विजयी लक्ष्य पछ्याएको नुवाकोट २५.५ ओभरमा सबै विकेट गुमाएर ९१ रनमा समेटियो। नुवाकोटका योगेश भट्टले सर्वाधिक ४१ र अशोक पौडेल १४ रन बनाए। बाँकी खेलाडीले सम्झनलायक प्रदशैन गर्न सकेनन्।
ललितपुरका तिलक भण्डारीले ३, योनेश थापा र हरिओम जोशीले २–२ विकेट लिए। त्यसअघि निर्धारित ४० ओभरमा ललितपुरले ४ विकेट गुमाउँदै २ सय ९ रन बनायो। ललितपुरका दुर्गेश थापाले सर्वाधिक ९० रन बनाए। यस्तै, विवेक रानामगर ५५ र आदिल खानले २४ रन जोडे।
बलिङमा नुवाकोटका अभिराज यादवले २, अशोक पौडेल र दीपेश कुमारले समान १–१ विकेट लिए। प्रतियोगितामा समूह ‘ए’ मा काठमाडौं, नुवाकोट, ललितपुर र भक्तपुर छन्। समूह ‘बी’ मा मकवानपुर, चितवन र त्रिभुवन युनिभर्सिटी छन्। प्रधानमन्त्री कप भने कार्तिक १२ बाट सुरु हुँदैछ।