काठमाडौं।
पाकिस्तान जुनियर क्रिकेट लिग (पीजेसीएल) मा ग्वादार शार्कले आफ्नो लिग चरणको अन्तिम तथा पाँचौं खेलमा मर्डन वारियर्सलाई १ सय ७८ रनको लक्ष्य दिएको छ। पाकिस्तानको लाहोरमा रहेको गद्दाफी क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको मौका पाएको शार्कले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ७७ रन बनायो।
उसका लागि लुक बेन्केनस्टाइनले उत्कृष्ट ब्याटिङ गरे। उनले बलमा ४६ बलमा १० चौका र २ छक्काको मद्दतमा ७४ रनको योगदान दिए। यस्तै, कप्तान शमिल हुसेनले ३२, अराफात मिन्हासले ३०, मुहम्मद जुल्किफलले १४ र हसीब नाजिमले ११ रन बनाए।
बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन बनाउन सकेनन्। बलिङमा वारियर्सका लागि मोहम्मद इरफानले ३, आर्ची लेनहमले २ तथा हसीबुल्लाह खान र अबिद उल्लाहले १–१ विकेट लिए।
शार्क यो खेलमा जित निकाल्दै समूह चरणको खेलमा विजेता बनेर प्लेअफमा प्रवेश गर्न चाहन्छ।आजको खेलमा जुन टिम विजेता बन्छ सोही टोली समूह स्तरको विजेता बन्नेछ। चार खेलमा एक हार र तीन जितका साथ शार्क अंक तालिकाको दोस्रो स्थानमा रहेको छ।
वारियर्स पनि समान खेल र जितका साथ रहे पनि रन रेटका आभारमा तेस्रो स्थानमा रहेको छ। शार्कमा नेपाली राष्ट्रिय क्रिकेट टिमका अलराउण्डर कुशल मल्ल पनि आवद्ध छन्। कुशलले भने आज पनि प्लेङङ–११ मा मौका पाएका छैनन । पीजेसीएलको ड्राफ्टबाट कुशललाई ग्वादार शार्कले छैटौं चरणमा अनुबन्ध गरेको थियो। तर, कुशल लगातार पाँचौं खेलमा पनि बेन्चमा नै सीमित भएका छन्।
१८ वर्षीय कुशलले नेपालका लागि ८ एकदिवसीय तथा १५ टी–२० अन्तर्राष्ट्रिय खेलेका छन्। कुशलले कम उमेरमा एकदिवसीय अन्तर्राष्ट्रियमा अर्धशतकको कीर्तिमान समेत बनाएका थिए। कुशल यसअघि यूएईमा आयोजना हुने टी–१० लिगमा समेत सहभागीता जनाइसकेका छन्।