काठमाडौं।
विश्व फुटबलको महाकुम्भ विश्वकप फुटबल मङ्सिर ४ गतेबाट सुरु हुँदैछ। कतारमा हुन लागेको विश्वकपको उपाधिका लागि ३२ मैदानमा उत्रिँदै छन्। एसियाली राष्ट्रमा दोस्रो पटक हुन लागेको प्रतियोगिताका लागि सबै राष्ट्रका समर्थकहरू तयार छन्। आफ्नो मनपर्ने टिमलाई समर्थन गर्दै उपाधि जित्नका लागि उत्सुक छन्।
हरेक चार वर्षपछि आउने विश्वकप फुटबलको रौनक बेग्लै हुन्छ। अन्य प्रतियोगिताभन्दा अलग चाम हुन्छ विश्वकप फुटबल। सन् १९३० मा उरुग्वेबाट सुरु भएको विश्वकप सन् २०२२ मा कतारमा २२औँ संस्करण हुँदैछ। विश्वकप विश्वकै उत्कृष्ट खेलाडीले खेल्ने सबैभन्दा ठूलो प्रतियोगिता हो।
यसैक्रममा अर्जेन्टिनाका कप्तान लियोनल मेसीले फिफा विश्वकप नजिकिँदै गर्दा सहकर्मी एन्जेल डी मारिया र पाउलो डिबालाको चोटप्रति चिन्ता व्यक्त गरेका छन् । पिडौँलाको समस्याका कारण पेरिस सेन्ट जर्मेन (पीएसजी)का लागि दुई खेल गुमाएका मेसीले कुनै पनि ठूला अन्तर्राष्ट्रिय प्रतियोगिताअघि खेलाडीका लागि चोटपटक सधैं चिन्ताको विषय हुने बताए ।
‘यो चिन्ताको विषय हो । किनभने यो फरक विश्वकप हो । तपाईँ फरक समय र फरक वातावरणमा खेल्नुहुन्छ । हामी विश्वकपको यति नजिक छौँ कि तपाईँलाई हुन सक्ने कुनै पनि सानो कुराले नतिजामा असर पर्न सक्छ,’ ३५ वर्षीय मेसीले डाइरेक्ट टीभी स्पोटर््ससँग भनेका छन्, ‘आशा छ, दुवैजना चाँडै ठिक हुनेछन् । आशा छ हामी सबै विश्वकपअघि स्वस्थ हुनेछौँ ।’
युभेन्टसका फरवार्ड डी मारियाको ह्यामस्ट्रिङमा समस्या छ । चोटका कारण डी मारिया कम्तिमा अर्को महिनाको सुरुसम्म मैदानबाहिर हुने अनुमान गरिएको छ । डिबाला भने तिघ्रामा लागेको चोटका कारण नोभेम्बर–डिसेम्बरमा कतारमा हुने विश्वकप गुमाउन सक्ने सम्भावना छ ।
मेसीले विश्वकप नजिकिँदै गरेको अवस्थामा चोटको सम्भावना ‘डरलाग्दो’ रहेको बताए। विश्वकप २०२२ मा अर्जेन्टिना समूह ‘सी’मा छ। अर्जेन्टिनाले समूह ‘सी’मा साउदी अरेबिया, मेक्सिको र पोल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ। आर्जेन्टिनाले दुई पटक सन् १९७८ र १९८६ मा विश्वकपको उपाधि उचालेको थियो।