अष्ट्रेलियामाथि भारतको रोमाञ्चक जित, यी खेलाडी बने जितको हिरो

काठमाडौं।

आईसीसी टी-२० विश्वकपअघिको पहिलो वामअर्प म्याचमा घरेलु टोली अष्ट्रेलियामाथि भारतले ६ रनको रोमाञ्चक जित निकालेको छ। सोमबार ब्रेसबेनमा भारतले दिएको १ सय ८७ रनको लक्ष्य पछ्याएको अष्ट्रेलियाले २० ओभरमा सबै विकेट गुमाएर १ सय ८० रन बनाउन सक्यो।

उसका लागि कप्तान आरोन फिन्चले उत्कृष्ट ब्याटिङ गरे। उनले ५४ बलमा ७ चौका र ३ छक्कासहित सर्वाधिक ७९ रनको योगदान दिए। तर, टिमलाई जित दिलाउन भने सकेनन्।

यस्तै, मिचेल मार्शले ३५, ग्लेन म्याक्सवेलले २३ र स्टिभ स्मिथले ११ रन बनाए। बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन बनाउन सकेनन्। म्याचको अन्तिमतिर अष्ट्रेलियाले ९ रन जोड्दा ६ विकेट गुमायो र खेल हार्न पुग्यो। अन्तिम ६ बलमा अष्ट्रेलियालाई जितका लागि ११ रन चाहिएको थियो।

यस ओभरमा मोहम्मद शामीले मात्रै ४ रन दिँदै ३ विकेट लिएपछि भारत विजयी भयो। अन्तिम ओभरमा एक रन आउट पनि प्राप्त भयो। यस्तै, भुवनेश्वर कुमारले २ तथा आर्शदीप सिंह, युजवेन्द्र चहल र हर्षल पटेलले १-१ विकेट लिए।

त्यसअघि टस हारेर पहिले ब्याटिङको मौका पाएको भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ८६ रन बनाएको थियो। भारतका लागि उपकप्तान केएल राहुल र सूर्यकुमार यादवले शानदार ब्याटिङ गरे। राहुलले ३३ बलमा ६ चौका र ३ छक्काको मद्दतमा ५७ रनको योगदान दिए। यादवले ३३ बलमा ६ चौका र १ छक्काको सहयोगमा ५० रन जोडे।

यस्तै, दिनेश कार्तिकले २०, विराट कोहलीले १९, कप्तान रोहित शर्माले १५, अक्षर पटेलले अविजित ६ रन बनाउँदा रविचन्द्र आश्विन ६ र हार्दिक पाण्ड्या २ रनमा आउट भए।

अष्ट्रेलियाका लागि केन रिचड्सनले उत्कृष्ट बलिङ गरे। उनले ४ ओभरमा ३० रन खर्चिएर महत्त्वपूर्ण ४ विकेट लिए। यस्तै, ग्लेन म्याक्सवेल, मिचेल स्टार्क र एश्टन अगरले १-१ विकेट हात पारे।

Leave A Reply

Your email address will not be published.