काठमाडौं।
अष्ट्रेलियामा जारी आईसीसी टी–२० विश्वकपमा स्कटल्याण्डले विजयी सुरुवात गरेको छ। टेष्ट राष्ट्र वेष्ट इण्डिजलाई ४२ रनले हराउँदै स्कटल्याण्डले विजयी सुरुवात गरेको हो। स्कटल्याण्ड क्रिकेटमा यो इतिहास जित हो। उसले पहिलोपटक टी–२० विश्वकपमा दुई पटकको विश्वकप विजेता टिमलाई हराएको छ।
सोमबार होबार्टमा स्कटल्याण्डले दिएको १ सय ६१ रनको लक्ष्य पछ्याएको वेष्ट इण्डिजले १८.३ ओभरमा सबै विकेट गुमाएर १ सय १८ रन मात्रै बनाउन सक्यो। उसका लागि जेसन होल्डरले ३८, काइल मेयर्सले २०, ब्रान्डन किंगले १७ र इभिन लुइसले १४ रन बनाए। बाँकी ब्याटरले दोहोरो अंकमा समेत रन बनाउन सकेनन्।
वेष्ट इण्डिज सस्तैमा समेट्न स्कटल्याण्डका लागि मार्क वाटले उत्कृष्ट बलिङ गरे। उनले ४ ओभरमा मात्र १२ रन दिँदै महत्वपूर्ण ३ विकेट लिए। यस्तै, ब्राड व्हील र माइकल लीस्कले २–२ तथा सफायान शरीफ र जोश डेवीले १–१ विकेट लिए।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्याण्डले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ६० रन बनाएको थियो। उसका लागि ओपनर जर्ज मुन्सेले शानदार ब्याटिङ गरे। उनले ५३ बलमा ९ चौकाको मद्दतमा नटआउट ६६ रनको योगदान दिए। यस्तै, कलुम म्याकलोइडले २३, माइकल जोन्सले २०, कप्तान रिची बेरिंगटनले १६ रन जोड्दा क्रिस ग्रीव्स १६ रनमा अविजित रहे।
वेष्ट इण्डिजका लागि अल्जारी जोसेफ र जेसन होल्डरले २–२ तथा ओडियन स्मिथले १ विकेट लिए। यस जितसँगै समूह ‘बी’ मा रहेको स्कटल्याण्डले दुई अंक जोडेको छ। दुई पटकको टी–२० विश्वकप विजेता वेष्ट इण्डिजले भने हारबाट प्रतियोगिताको सुरुवात गरेको छ। वेष्ट इण्डिज २०१२ र २०१६ को टी–२० विश्वकप च्याम्पियन हो।
यो हारले वेष्ट इण्डिजलाई सुपर १२ मा पुग्न बाँकी दुबै खेल जित्नुपर्ने हुन्छ। वेष्ट इण्डिजले अब बुधबार जिम्बावे र शुक्रबार आयरल्यान्ड्सँग खेल्नेछ। स्कटल्याण्डले भने बुधबार आयरल्यान्ड र शुक्रबार जिम्बावेसँग खेल्नेछ।
अष्ट्रेलियामाथि भारतको रोमाञ्चक जित
आईसीसी टी-२० विश्वकपअघिको पहिलो वामअर्प म्याचमा घरेलु टोली अष्ट्रेलियामाथि भारतले ६ रनको रोमाञ्चक जित निकालेको छ। सोमबार ब्रेसबेनमा भारतले दिएको १ सय ८७ रनको लक्ष्य पछ्याएको अष्ट्रेलियाले २० ओभरमा सबै विकेट गुमाएर १ सय ८० रन बनाउन सक्यो।
उसका लागि कप्तान आरोन फिन्चले उत्कृष्ट ब्याटिङ गरे। उनले ५४ बलमा ७ चौका र ३ छक्कासहित सर्वाधिक ७९ रनको योगदान दिए। तर, टिमलाई जित दिलाउन भने सकेनन्।
यस्तै, मिचेल मार्शले ३५, ग्लेन म्याक्सवेलले २३ र स्टिभ स्मिथले ११ रन बनाए। बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन बनाउन सकेनन्। म्याचको अन्तिमतिर अष्ट्रेलियाले ९ रन जोड्दा ६ विकेट गुमायो र खेल हार्न पुग्यो। अन्तिम ६ बलमा अष्ट्रेलियालाई जितका लागि ११ रन चाहिएको थियो।
यस ओभरमा मोहम्मद शामीले मात्रै ४ रन दिँदै ३ विकेट लिएपछि भारत विजयी भयो। अन्तिम ओभरमा एक रन आउट पनि प्राप्त भयो। यस्तै, भुवनेश्वर कुमारले २ तथा आर्शदीप सिंह, युजवेन्द्र चहल र हर्षल पटेलले १-१ विकेट लिए।
त्यसअघि टस हारेर पहिले ब्याटिङको मौका पाएको भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ८६ रन बनाएको थियो। भारतका लागि उपकप्तान केएल राहुल र सूर्यकुमार यादवले शानदार ब्याटिङ गरे। राहुलले ३३ बलमा ६ चौका र ३ छक्काको मद्दतमा ५७ रनको योगदान दिए। यादवले ३३ बलमा ६ चौका र १ छक्काको सहयोगमा ५० रन जोडे।
यस्तै, दिनेश कार्तिकले २०, विराट कोहलीले १९, कप्तान रोहित शर्माले १५, अक्षर पटेलले अविजित ६ रन बनाउँदा रविचन्द्र आश्विन ६ र हार्दिक पाण्ड्या २ रनमा आउट भए। अष्ट्रेलियाका लागि केन रिचड्सनले उत्कृष्ट बलिङ गरे। उनले ४ ओभरमा ३० रन खर्चिएर महत्त्वपूर्ण ४ विकेट लिए। यस्तै, ग्लेन म्याक्सवेल, मिचेल स्टार्क र एश्टन अगरले १-१ विकेट हात पारे।