काठमाडौं।
नवौं राष्ट्रिय फुटबल अन्तर्गत एपीएफ क्लब पुरुष फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । गोस्टेघाटमा सोमबार भएको खेलमा बागमती प्रदेशलाई ३-१ गोल अन्तरले पराजित गर्दै एपीएफ सेमिफाइनलमा पुगेको हो । बागमती भने बाहिरिएको छ ।
बागमतीले सुरुआती अग्रता जोगाउन नसक्दा हार व्यहोरेको हो। पहिलो हाफको इन्जुरी समयमा अभिषेक रिजालले गोल गर्दै बागमतीलाई सुरुआती अग्रता दिलाएका थिए ।
खेलको ६५ औं मिनेटमा प्रदीप लामाले गोल गर्दै एपीएफलाई १-१ गोलको बराबरीमा फर्काए । खेलको ७६ औं मिनेटमा नवीन लामाले गोल गर्दै एपीएफलाई २-१ को अग्रता दिलाए ।
त्यसपछि खेलको इन्जुरी समयमा नवीनले व्यक्तिगत दोस्रो गोल गर्दै एपीएफलाई ३-१ को जित दिलाएका हुन् ।
अष्ट्रेलियामा जारी आईसीसी टी–२० विश्वकपमा स्कटल्याण्डले विजयी सुरुवात गरेको छ। टेष्ट राष्ट्र वेष्ट इण्डिजलाई ४२ रनले हराउँदै स्कटल्याण्डले विजयी सुरुवात गरेको हो। स्कटल्याण्ड क्रिकेटमा यो इतिहास जित हो। उसले पहिलोपटक टी–२० विश्वकपमा दुई पटकको विश्वकप विजेता टिमलाई हराएको छ।
सोमबार होबार्टमा स्कटल्याण्डले दिएको १ सय ६१ रनको लक्ष्य पछ्याएको वेष्ट इण्डिजले १८.३ ओभरमा सबै विकेट गुमाएर १ सय १८ रन मात्रै बनाउन सक्यो। उसका लागि जेसन होल्डरले ३८, काइल मेयर्सले २०, ब्रान्डन किंगले १७ र इभिन लुइसले १४ रन बनाए। बाँकी ब्याटरले दोहोरो अंकमा समेत रन बनाउन सकेनन्।
वेष्ट इण्डिज सस्तैमा समेट्न स्कटल्याण्डका लागि मार्क वाटले उत्कृष्ट बलिङ गरे। उनले ४ ओभरमा मात्र १२ रन दिँदै महत्वपूर्ण ३ विकेट लिए। यस्तै, ब्राड व्हील र माइकल लीस्कले २–२ तथा सफायान शरीफ र जोश डेवीले १–१ विकेट लिए।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्याण्डले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ६० रन बनाएको थियो। उसका लागि ओपनर जर्ज मुन्सेले शानदार ब्याटिङ गरे। उनले ५३ बलमा ९ चौकाको मद्दतमा नटआउट ६६ रनको योगदान दिए। यस्तै, कलुम म्याकलोइडले २३, माइकल जोन्सले २०, कप्तान रिची बेरिंगटनले १६ रन जोड्दा क्रिस ग्रीव्स १६ रनमा अविजित रहे।
वेष्ट इण्डिजका लागि अल्जारी जोसेफ र जेसन होल्डरले २–२ तथा ओडियन स्मिथले १ विकेट लिए। यस जितसँगै समूह ‘बी’ मा रहेको स्कटल्याण्डले दुई अंक जोडेको छ। दुई पटकको टी–२० विश्वकप विजेता वेष्ट इण्डिजले भने हारबाट प्रतियोगिताको सुरुवात गरेको छ। वेष्ट इण्डिज २०१२ र २०१६ को टी–२० विश्वकप च्याम्पियन हो।
यो हारले वेष्ट इण्डिजलाई सुपर १२ मा पुग्न बाँकी दुबै खेल जित्नुपर्ने हुन्छ। वेष्ट इण्डिजले अब बुधबार जिम्बावे र शुक्रबार आयरल्यान्ड्सँग खेल्नेछ। स्कटल्याण्डले भने बुधबार आयरल्यान्ड र शुक्रबार जिम्बावेसँग खेल्नेछ।