काठमाडौं।
नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष फुटबल लिग चरणको अन्तिम खेलमा नेपाल पुलिस क्लबले जित निकालेको छ। पोखरा रंगशालामा सोमबार पुलिसले लुम्बिनी प्रदेशलाई ४-१ गोल अन्तरले हराएको हो ।
समूह ‘सी’ अन्तरगत भएको खेलमा पुलिसलाई जित दिलाउन कुलदिप कार्कीले दुई गोल गरे । यस्तै आषिस श्रेष्ठ र बुद्धबल तामाङले समान १/१ गोल गरे ।
लुम्बिनीका लागि फागु राम थारुले एक गोल फर्काए। समूह सी बाट आर्मी शीर्ष स्थानमा रहँदै फाइनल प्रवेश गर्दा पुलिस र लुम्बिनी बाहिरिएको थियो ।
पुरुष फुटबल अन्तर्गत आइतबार लामाचौरस्थित गोस्ते खेल मैदानमा समूह ए अन्तरगत रद्द भएको एनआरएन र गण्डकी प्रदेशबीचको खेलको निर्णय गण्डकीको पक्षमा गएको छ ।
एनआरएनले नियम विपरित ८ खेलाडी खेलाएको भन्दै प्रदेश नं. १ ले प्रोटेस्ट दिएपछि २–० गोलले जितेको खेलको निर्णय उल्टिएर प्रदेश १ को पक्षमा पुगेको थियो ।
८ जना खेलाडीलाई कारवाहि गरेपछि आइतबार गण्डकी विरुद्धको खेलमा समेत सोही खेलाडीलाई नियमित खेलाडीको सूचिमा राख्दा खेल रद्द भएको थियो ।
राष्ट्रिय खेलकुद परिषद्ले उक्त खेलमा कारवाहि गरिएको खेलाडीलाई नै प्लेइङ सेटमा राखेको भन्दै गण्डकीले जितेको निर्णय गरिदिएको हो । निर्णयसँगै गण्डकी ६ अंकका साथ शीषस्थानमा रहँदै सेमिफाइनलमा प्रवेश गरेको छ ।
यसैगरी नवौं राष्ट्रिय फुटबल अन्तर्गत एपीएफ क्लब पुरुष फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । गोस्टेघाटमा सोमबार भएको खेलमा बागमती प्रदेशलाई ३-१ गोल अन्तरले पराजित गर्दै एपीएफ सेमिफाइनलमा पुगेको हो । बागमती भने बाहिरिएको छ ।
बागमतीले सुरुआती अग्रता जोगाउन नसक्दा हार व्यहोरेको हो। पहिलो हाफको इन्जुरी समयमा अभिषेक रिजालले गोल गर्दै बागमतीलाई सुरुआती अग्रता दिलाएका थिए ।
खेलको ६५ औं मिनेटमा प्रदीप लामाले गोल गर्दै एपीएफलाई १-१ गोलको बराबरीमा फर्काए । खेलको ७६ औं मिनेटमा नवीन लामाले गोल गर्दै एपीएफलाई २-१ को अग्रता दिलाए ।
त्यसपछि खेलको इन्जुरी समयमा नवीनले व्यक्तिगत दोस्रो गोल गर्दै एपीएफलाई ३-१ को जित दिलाएका हुन् ।