काठमाडौं।
अष्ट्रेलियाको क्रिकेट टिमले नयाँ एकदिवसीय कप्तान पाएको छ। क्रिकेट अष्ट्रेलिया (सीए) ले मंगलबार प्याट कमिन्सलाई नयाँ एकदिवसीय कप्तान नियुक्त गरेको हो।
कमिन्स अष्ट्रेलियाका टेस्ट कप्तानसमेत हुन्। आरोन फिन्चको ठाउँमा अष्ट्रेलियाले कप्तानको जिम्मेवारी कमिन्सलाई दिएको हो।
फिन्चले हालै एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सन्यास लिएका थिए। फिन्चले न्यूजिल्याण्डविरुद्धको घरेलु शृंखलाको क्रममा आफ्नो एकदिवसीय करियरबाट सन्यास लिएका थिए।
फिन्चको ठाउँमा वर्तमान उप-कप्तान एलेक्स केरीसहित धेरै कप्तान बन्ने दौडमा थिए। डेभिड वार्नरको नेतृत्व प्रतिबन्ध हटाइएमा उनी भूमिकामा फर्कन सक्ने पनि चर्चा थियो। मिचेल मार्श पनि कप्तान बन्न सक्ने चर्चा भइरहेको थियो।
तर, अष्ट्रेलियाले तीन भन्दा दुईवटा राष्ट्रिय कप्तान राख्ने प्राथमिकता दिएको थियो। फलस्वरूप कमिन्सलाई टेस्ट र एकदिवसीय दुवैको कप्तानीको जिम्मेवारी दियो।
अष्ट्रेलियाले अगस्ट र सेप्टेम्बरमा जिम्बाब्वे र न्यूजिल्याण्डविरुद्ध खेलेका पछिल्लो दुई शृङ्खला समेत हालैका दिनमा कमिन्सलाई एकदिवसीय टोलीबाट नियमित आराम दिइएको छ।
पूर्वकप्तान रिकी पोन्टिङले आईसीसीसँगको कुराकानीमा पनि कमिन्स नै कप्तान बन्ने भविष्यवाणी गरेका थिए। उनको त्यो भविष्यवाणी सही साबित पनि भएको छ।
कमिन्स अष्ट्रेलियाको २७औं एकदिवसीय कप्तान बन्न सफल भएका हुन्। उनले भारतमा अर्को वर्ष २०२३ मा हुने आईसीसी पुरुष क्रिकेट विश्वकपअघि ५० ओभरको क्रिकेटमा देशको नेतृत्व सम्हाल्ने भएका छन्।
२९ वर्षीय कमिन्सले फिन्चलाई आभार प्रकट गर्दै एकदिवसीय मैदानमा अष्ट्रेलियाको कप्तानी गर्ने अवसरको प्रतीक्षामा रहेको बताए। उनले फिन्चबाट आफूले धेरै कुराहरू सिकेको पनि प्रतिक्रिया दिए।
‘मैले फिन्चीको नेतृत्वमा खेल्दा राम्रोसँग रमाइलो गरेको छु र उनको नेतृत्वबाट धेरै कुरा सिकेको छु,’ कमिन्सले भने, ‘हामी धेरै भाग्यशाली छौं किन कि हामीसँग धेरै अनुभव भएको एकदिवसीय टोली छ।’
कमिन्स हाल अष्ट्रेलियाको १५ सदस्यीय टोलीमा घरेलु भूमिमा जारी पुरुष टी-२० विश्वकपमा भाग लिइरहेका छन्। अष्ट्रेलियाको टी-२० टिमको कप्तानी भने फिन्चले नै गरिरहेका छन्।
कमिन्सले अष्ट्रेलियाका लागि अहिलेसम्म ७३ अन्तर्राष्ट्रिय एकदिवसीय म्याच खेलेका छन्। जसमा उनले एक सय १९ विकेट लिएका छन्। उनले ब्याटिङतर्फ ३२४ एकदिवसीय रन पनि बनाएका छन्। वानडेमा उनको उच्च स्कोर ३६ रन छ।