पोखरा ।
एपीएफ क्लब नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष फुटबलको फाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालामा मंगलबार भएको दोस्रो सेमिफाइनलमा सुदूरपश्चिम प्रदेशलाई ५-१ गोल अन्तरले हराउँदै एपीएफ फाइनल पुगेको हो ।
एपीएफको जितमा प्रदिप लामाले २ गोल गरे । नविन लामा, विकु तामाङ र हरि कार्कीले १-१ गोल गरे । सुदुरपश्चिमका लागि कुवेर सिंहले १ गोल फर्काए । अब एपीएफले स्वर्ण पदकका लागि त्रिभुवन आर्मी क्लबसँग खेल्नेछ । पहिलो सेमिफाइनलमा गण्डकी प्रदेशलाई १-० गोल अन्तरले हराउँदै आर्मी स्वर्ण नजिक पुगेको हो ।
यस्तै, नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गतको महिला फुटबलमा विभागिय टोली एपीएफ क्लब फाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको दोस्रो सेमिफाइनलमा आर्मी क्लबलाई १-० गोल अन्तरले हराउँदै एपीएफ स्वर्ण नजिक पुगेको हो ।
एपीएफलाई जित दिलाउन सावित्रा भण्डारीले ५६ औं मिनेटमा निर्णायक गोल गरिन् । अब उपाधिका लागि एपीएफले नेपाल पुलिस क्लबसँग खेल्नेछ । पुलिसले प्रदेश नम्बर १ लाई ३-० गोल अन्तरले पराजित गरेको थियो ।
महिला क्रिकेटमा डेब्युमै पुलिसलाई स्वर्ण
नवौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला क्रिकेटको स्वर्ण पदक नेपाल पुलिस क्लबले जितेको छ । पोखरा क्रिकेट मैदानमा मंगलबार भएको फाइनलमा एपीएफ क्लबलाई ५ रनले हराउँदै पुलिस क्लबले स्वर्ण जितेको हो । पुलिसले डेब्यु प्रतियोगितामै एतिहासिक स्वर्ण पदक जितेको हो ।
पुलिसले पहिलो पटक राष्ट्रिय टोलीका कप्तान रुबिना क्षेत्रीको कप्तानीमा महिला क्रिकेट बनाएको थियो । पुलिसले दिएको ९० रनको लक्ष्य पछ्याएको एपीएफले २० ओभरमा ७ विकेट गुमाएर मात्र ८४ रन बनायो । एपीएफका लागि रोमा थापाले २६ तथा राजमती ऐरीले अविजित १२ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
पुलिसका लागि ईश्वरी विष्टले २ तथा हिरन्माई रोय,संगिता राई र कप्तान रुबिना क्षेत्रीले समान १/१ विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको पुलिसले २० ओभरमा ४ विकेट गुमाएर ८९ रन बनाएको थियो ।
पुलिसका लागि काजल श्रेष्ठले २७ रन बनाउँदा सम्झना खड्काले २१ रन बनाईन् । कविता जोशीले अविजित १३ रनको ईनिङ खेल्दा कविता कुवँरले ११ रन जोडिन् । कप्तान रुबिना क्षेत्रीले ८ रन जोड्दा अप्सरी बेगमले अविजित २ रन बनाईन् । एपीएफका लागि नेरी थापा,ईन्दु बर्मा र कप्तान सिता राना मगरले समान १/१ विकेट लिए । प्रतियोगितामा एपीएफ रजत र बागमती प्रदेशले कास्य पदक जितेको छ ।