काठमाडौं।
आसन्न सहिद स्मारक ए डिभिजन लिग डबल राउण्ड रोविनमा सञ्चालन हुने भएको छ । अखिल नेपाल फुटबल संघ एन्फा र ए डिभिजनका क्लबबीच काठमाडौंमा मंगलबार बसेको बैठकले ए सहिद स्मारक लिगलाई डबल राउण्ड रोविनमा सञ्चालन गर्ने निर्णय गरेको हो ।
बैठकले आसन्न लिग पुस २६ देखि जेष्ठ २० गतेसम्म आयोजना गर्ने निर्णय गरेको छ । योसँगै ए डिभिजन लिग ५ महिना चल्ने भएको छ ।लिगका खेललाई उपत्यका बाहिर पनि आयोजना गर्ने र लिगलाई व्यवस्थित गर्ने सन्दर्भमा कार्यशाला गोष्ठीको आयोजना गर्ने निर्णय एन्फा र क्लबले गरेका छन् ।
लिग डबल राउण्डमा खेल्ने क्लबको इच्छा र एन्फाको सहजीकरणमा नयाँ ढाचामा नेपाली घरेलु लिग प्रवेश गर्ने ऐतिहासिक निर्णय भएको छ । लिगलाई डबल राउण्ड रोविनमा सञ्चालन गर्नुपर्ने माग यसअघि उठ्दै आएको थियो ।
तर, क्लब र एनफाबीच आपसी समन्वय नहुँदा डबल लिगको अवधारणा छायाँमा पर्दै आएको छ । पछिल्लो निर्णयसँगै नेपाली फुटबलले प्रतिक्षा गरेको होम एण्ड अवे अवधारणामा लिग सञ्चालन गर्ने दिशामा क्लब र एन्फा अघि बढेका छन् ।
महिला क्रिकेटमा डेब्युमै पुलिसलाई स्वर्ण
नवौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला क्रिकेटको स्वर्ण पदक नेपाल पुलिस क्लबले जितेको छ । पोखरा क्रिकेट मैदानमा मंगलबार भएको फाइनलमा एपीएफ क्लबलाई ५ रनले हराउँदै पुलिस क्लबले स्वर्ण जितेको हो । पुलिसले डेब्यु प्रतियोगितामै एतिहासिक स्वर्ण पदक जितेको हो ।
पुलिसले पहिलो पटक राष्ट्रिय टोलीका कप्तान रुबिना क्षेत्रीको कप्तानीमा महिला क्रिकेट बनाएको थियो । पुलिसले दिएको ९० रनको लक्ष्य पछ्याएको एपीएफले २० ओभरमा ७ विकेट गुमाएर मात्र ८४ रन बनायो । एपीएफका लागि रोमा थापाले २६ तथा राजमती ऐरीले अविजित १२ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
पुलिसका लागि ईश्वरी विष्टले २ तथा हिरन्माई रोय,संगिता राई र कप्तान रुबिना क्षेत्रीले समान १/१ विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको पुलिसले २० ओभरमा ४ विकेट गुमाएर ८९ रन बनाएको थियो ।
पुलिसका लागि काजल श्रेष्ठले २७ रन बनाउँदा सम्झना खड्काले २१ रन बनाईन् । कविता जोशीले अविजित १३ रनको ईनिङ खेल्दा कविता कुवँरले ११ रन जोडिन् । कप्तान रुबिना क्षेत्रीले ८ रन जोड्दा अप्सरी बेगमले अविजित २ रन बनाईन् । एपीएफका लागि नेरी थापा,ईन्दु बर्मा र कप्तान सिता राना मगरले समान १/१ विकेट लिए । प्रतियोगितामा एपीएफ रजत र बागमती प्रदेशले कास्य पदक जितेको छ ।