कुशलआवद्ध शार्क पीजेसीएलको फाइनलमा, बनायो ठूलो कीर्तिमान

काठमाडौं।

ग्वादार शार्क पाकिस्तान जुनियर क्रिकेट लिग (पीजेसीएल)को फाइनलमा प्रवेश गरेको छ। मंगलबार भएको पहिलो क्वालिफायरमा बहावालपुर रोयल्सलाई ८ विकेटले हराउँदै शार्क उपाधि नजिक पुगेको हो। यससँगै शार्क नयाँ कीर्तिमान बनाएको छ। पहिलो संस्करणकै प्रतियोगिताको फाइनलमा पुग्ने पहिलो टिम बन्दै शार्कले ठूलो कीर्तिमान बनाएको हो।

पहिलो क्वालिफायरमा रोयल्सले दिएको १ सय ४० रनको लक्ष्य शार्कल १८.२ ओभरमा मात्र २ विकेट गुमाएर पूरा गर्‍यो। उसका लागि ल्यूक बेन्केस्टाइनले शानदार ब्याटिङ गरे। उनले ३७ बलमा ८ चौका र ३ छक्काको मद्दतमा सर्वाधिक ७१ रनको योगदान दिए। जारी लिगमा उनको यो लगातार दोस्रो अर्धशतक हो। यसअघिको खेलमा उनले ७४ रनको पारी खेलेका थिए।

यस्तै, मोहम्मद ज़ुल्किफ़ालीले अविजित ५१ र डानियल इब्राहिमले नटआउट १२ रन बनाउँदा कप्तान शमील हुसैन १ रनमा आउट भए। रोयल्सका लागि मोहम्मद जीशान र नाथन एडवर्डले १–१ विकेट लिए। त्यसअघि लाहोरस्थित गद्दाफी क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको रोयल्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ३९ रन बनाएको थियो।

उसका लागि दानिश मोहम्मदले ३३, फरहान यूसुफले ३०, ओबैद शाहिदले २१ र बासित अलीले २० रन बनाए। बाँकी ब्याटरले दोहोरोमा समेत रन बटुल्न सकेनन्। शार्कका लागि मोहम्मद इस्माइलले उत्कृष्ट बलिङ गरे। उनले ४ ओभरमा मात्र १० रन खर्चिएर महत्वपूर्ण ३ विकेट लिए।

यस्तै, मोहम्मद शोएब, आफताब अहमद र अराफात मिन्हासले १–१ विकेट हात पारे। यससँगै शार्कले समूह चरणमा रोयल्ससँग ८ विकेटको हारको बदलासमेत लिएको छ। शार्कमा नेपाली राष्ट्रिय क्रिकेट टिमका अलराउण्डर कुशल मल्ल पनि आवद्ध छन्। तर, उनले कुनै पनि खेलमा मौका पाएका छैनन्। पीजेसीएलको ड्राफ्टबाट कुशललाई ग्वादार शार्कले छैटौं चरणमा अनुबन्ध गरेको थियो।

१८ वर्षीय कुशलले नेपालका लागि ८ एकदिवसीय तथा १५ टी–२० अन्तर्राष्ट्रिय खेलेका छन्। कुशलले कम उमेरमा एकदिवसीय अन्तर्राष्ट्रियमा अर्धशतकको कीर्तिमानसमेत बनाएका थिए। कुशलले यसअघि यूएईमा आयोजना हुने टी–१० लिगमा समेत सहभागिता जनाइसकेका छन्।

Leave A Reply

Your email address will not be published.