काठमाडौं।
श्रीलंकाले अष्ट्रेलियामा जारी आईसीसी टी-२० विश्वकपको सुपर-१२ मा प्रवेश गरेको छ। बिहीबार नेदरल्यान्ड्सलाई १६ रनले हराउँदै श्रीलंका सुपर १२ मा स्थान पक्का गरेको हो।
यससँगै श्रीलंकाले इतिहास रचेको छ। पहिलो खेलमै नामिबियासँग स्तब्ध भएको श्रीलंकाले त्यसपछि पुनरागमन गर्यो। र, सुपर १२ मा पुग्ने पहिलो टोली बन्दै इतिहास रचेको हो।
श्रीलंकाले दिएको १ सय ६३ रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ४६ रन मात्र बनायो ।
नेदरल्याण्ड्सका लागि म्याक्स ओ डाउनले अविजित ७१ रनको अर्धशतकीय ईनिङ खेले । अर्धशतक बनाउँने क्रममा डाउनले ५३ बलमा ३ छक्का र ६ चौका प्रहार गरे । कप्तान स्कट एडवार्डले २१ रन जोडे । टोम कुपरले १६ तथा बास डि लिडले १४ रन बनाए । नेदरल्याण्ड्सका अन्य ब्याटरले दोहोरो अंकमा समेत रन जोड्न सकेनन् ।
श्रीलंकाका लागि वानिन्दु हसरंगाले ३ तथा महेश तिक्षण २ विकेट लिए । लाहिरु कुमारा र विनुरा फर्नान्डोले समान १/१ विकेट लिए ।
त्यसअघि पहिले ब्याटिङ गरेका श्रीलंकाले २० ओभरमा ६ विकेट गुमाएर १ सय ६२ रन बनाएको थियो । श्रीलंकाका लागि कुशल मेन्डिसले ४४ बलमा ५ चौका र ५ छक्काको मद्दतले ७९ रनको अर्धशतकीय पारी खेलेका थिए । चरिथा असलंकाले ३१ जोड्दा भानुका राजपाक्षेले १९ रन बनाए ।
पथुम निशंकाले १४ रनमा आउट भए । श्रीलंकाका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउँन सकेनन् ।
नेदरल्यान्ड्सका लागि पल भान मिक्रेन र बास डि लिडले समान २/२ विकेट लिए । फ्राड केल्सेन र टिम भान डेर गुग्टेनले समान १/१ विकेट लिए ।
जितसँगै श्रीलंका ३ खेलमा ४ अंकका साथ पहिलो राउण्डको समूह ‘ए’ को पहिलो स्थानमा उक्लिएको छ । यस जितसँगै पूर्व च्याम्पियन श्रीलंकाको दोस्रो राउण्ड प्रवेश गरेको हो।
हारसँगै ३ खेलमा ४ अंक रहेको नेदरल्याण्ड्स रनरेटमा पछि परेर दोस्रो स्थानमा झरेको छ । समूह ‘ए’ को अन्तिम खेलमा आज नै नामिबीया र यूएई खेल्ने छन् ।