पोखरा।
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष भलिबलमा विभागिय टोली नेपाल एपीएफ क्लबले स्वर्ण जितेको छ । पोखरा रंगशालास्थित कोर्टमा बिहीबार स्वर्णका लागि भएको खेलमा एपीएफले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई पराजित गरेको हो ।
एपीएफले आर्मीमाथि ३-० को सोझो सेटमा जित निकालेको हो । पहिलो सेट २५–२१ ले आफ्नो पक्षमा पारेको एपीएफले दोस्रो सेट भने २७-२५ ले जितेको थियो । तेस्रो सेट २६-२४ ले जित हात पारेर एपीएफले स्वर्ण पक्का गरेको हो ।
नेपाल पुलिस क्लबले कास्य पदक जितेको थियो । कास्य पदकका लागि आज नै भएको खेलमा नेपाल पुलिसले गण्डकी प्रदेशलाई ३-० को साझो सेटमा पराजित गरेको थियो ।
नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष बास्केटबलको स्वर्ण पदक एपीएफ क्लबले जितेको छ । पोखरा रंगशालामा बिहीबार एपीएफले गण्डकी प्रदेशलाई ८१-७९ अंकले हराएर स्वर्ण जितेको हो । थ्री अन थ्रीतर्फको उपाधि भने गण्डकीले जितेको छ । गण्डकीले फाइनलमा एपीएफलाई २१-१६ अंकले हराएको थियो ।