काठमाडौं।
यूएईले अष्ट्रेलियामा जारी आईसीसी टी–२० विश्वकपमा पहिलो जित निकालेको छ। बिहीबार भएको खेलमा नामिबियालाई ७ रनले हराउँदै पहिलो जित दर्ता गरेको हो। यूएईले दिएको १ सय ४९ रनको लक्ष्य पछ्याएको नामिबियाले २० ओभरमा ८ विकेट गुमाएर १ सय ४१ रन बनाउन सक्यो।
उसका लागि डेभिड विसाले अर्धशतकीय पारी खेले पनि टिमलाई सुपर–१२ मा पुगाउन सकेनन्। उनले ३६ बलमा ३ चौका र ३ छक्काको मद्दतमा सर्वाधिक ५६ रनको योगदान दिए। यस्तै, रुबेन ट्रम्पेलम्यानले अविजित २५, कप्तान गेर्हार्ड इरास्मसले १६, जन फ्रिलिंकले १४ र माइकल भ्यान लिङ्गेनले १० रन बनाए।
अन्तिम ओभरमा जितका लागि १४ रन चाहिएको थियो। तर, यस ओभरमा नामिबियाले १ विकेट गुमाएर ६ रन मात्रै जाड्यो। र, पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ। यूएईका लागि बासिल हमिद र जहूर खानले २–२ तथा जुनैद सिद्दिकी, कार्तिक मयप्पन र मोहम्मद वसीमले १–१ विकेट लिए।
त्यसअघि जिलङमा जितेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १ सय ४८ रन बनाएको थियो। उसका लागि मोहम्मद वसीम अर्धशतकीय पारी खेले। उनले ४१ बलमा १ चौका र ३ छक्काको मद्दतमा सर्वाधिक ५० रनको योगदान दिए।
यस्तै, सीपी रिजवानले नटआउट ४३, बासिल हमिदले अविजित २५ रन बनाउँदा वृत्य अरविन्द ४ र अलिशान शराफु १ रनमा आउट भए। नामिबियाका लागि डेभिड विसा, बर्नार्ड स्कोल्ट्ज र बेन शिकोङ्गोले १–१ विकेट लिए। नामिबियाको हारसँगै नेदरल्याण्ड्स सुपर– १२ मा प्रवेश गरेको छ। समूह ‘ए’ मा रहेको यूएई पनि प्रतियोगिताबाट बाहिरिएको छ।
श्रीलंकाले अष्ट्रेलियामा जारी आईसीसी टी-२० विश्वकपको सुपर-१२ मा प्रवेश गरेको छ। बिहीबार नेदरल्यान्ड्सलाई १६ रनले हराउँदै श्रीलंका सुपर १२ मा स्थान पक्का गरेको हो। श्रीलंकाले दिएको १ सय ६३ रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ४६ रन मात्र बनायो ।
नेदरल्याण्ड्सका लागि म्याक्स ओ डाउनले अविजित ७१ रनको अर्धशतकीय ईनिङ खेले । अर्धशतक बनाउँने क्रममा डाउनले ५३ बलमा ३ छक्का र ६ चौका प्रहार गरे । कप्तान स्कट एडवार्डले २१ रन जोडे । टोम कुपरले १६ तथा बास डि लिडले १४ रन बनाए ।
नेदरल्याण्ड्सका अन्य ब्याटरले दोहोरो अंकमा समेत रन जोड्न सकेनन् । श्रीलंकाका लागि वानिन्दु हसरंगाले ३ तथा महेश तिक्षण २ विकेट लिए । लाहिरु कुमारा र विनुरा फर्नान्डोले समान १/१ विकेट लिए ।
त्यसअघि पहिले ब्याटिङ गरेका श्रीलंकाले २० ओभरमा ६ विकेट गुमाएर १ सय ६२ रन बनाएको थियो । श्रीलंकाका लागि कुशल मेन्डिसले ४४ बलमा ५ चौका र ५ छक्काको मद्दतले ७९ रनको अर्धशतकीय पारी खेलेका थिए । चरिथा असलंकाले ३१ जोड्दा भानुका राजपाक्षेले १९ रन बनाए ।
पथुम निशंकाले १४ रनमा आउट भए । श्रीलंकाका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउँन सकेनन् । नेदरल्यान्ड्सका लागि पल भान मिक्रेन र बास डि लिडले समान २/२ विकेट लिए । फ्राड केल्सेन र टिम भान डेर गुग्टेनले समान १/१ विकेट लिए ।