काठमाडौं।
समूह ‘ए’ बाट आईसीसी टी–२० विश्वकपको सुपर–१२ मा पुग्ने टोलीको टुंगो लागेको छ। बिहीबार भएका दुई खेलपछि सुपर–१२ मा पुग्ने टिमको टुंगो लागेको हो। समूह ‘ए’ बाट समान ४ अंक रहेका श्रीलंका शीर्ष र नेदरल्यान्ड्स दोस्रो स्थानमा रहँदै सुपर १२ मा पुगेका हुन्।
यूएईले नामिबियामाथि ७ रनको रोमान्चक जित निकालेपछि नेदरल्यान्ड्सले सुपर १२ मा स्थान बनाएको हो। समूह ‘ए’ को निर्णायक खेलमा नामिबिया पराजित हुँदा नेदरल्यान्ड्स सुपर १२ मा पुग्यो। श्रीलंकाको नेटरनरेट प्लस ०.६६७ र नेदरल्यान्ड्सको ०.१६२ रह्यो। समान २ अंक भएका नामिबिया तेस्रो र यूएई पुछारमा रहँदै प्रतियोगिताबाट बाहिरिएका छन्।
यूएईले दिएको १ सय ४९ रनको लक्ष्य पछ्याएको नामिबियाले २० ओभरमा ८ विकेट गुमाएर १ सय ४१ रन बनाउन सक्यो। उसका लागि डेभिड विसाले अर्धशतकीय पारी खेले पनि टिमलाई सुपर–१२ मा पुगाउन सकेनन्। उनले ३६ बलमा ३ चौका र ३ छक्काको मद्दतमा सर्वाधिक ५६ रनको योगदान दिए। यस्तै, रुबेन ट्रम्पेलम्यानले अविजित २५, कप्तान गेर्हार्ड इरास्मसले १६, जन फ्रिलिंकले १४ र माइकल भ्यान लिङ्गेनले १० रन बनाए।
अन्तिम ओभरमा जितका लागि १४ रन चाहिएको थियो। तर, यस ओभरमा नामिबियाले १ विकेट गुमाएर ६ रन मात्रै जाड्यो। यूएईका लागि बासिल हमिद र जहूर खानले २–२ तथा जुनैद सिद्दिकी, कार्तिक मयप्पन र मोहम्मद वसीमले १–१ विकेट लिए। त्यसअघि जिलङमा जितेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १ सय ४८ रन बनाएको थियो।
उसका लागि मोहम्मद वसीम अर्धशतकीय पारी खेले। उनले ४१ बलमा १ चौका र ३ छक्काको मद्दतमा सर्वाधिक ५० रनको योगदान दिए। यस्तै, सीपी रिजवानले नटआउट ४३, बासिल हमिदले अविजित २५ रन बनाउँदा वृत्य अरविन्द ४ र अलिशान शराफु १ रनमा आउट भए। नामिबियाका लागि डेभिड विसा, बर्नार्ड स्कोल्ट्ज र बेन शिकोङ्गोले १–१ विकेट लिए।
बिहीबार नै नेदरल्यान्ड्सलाई १६ रनले हराउँदै श्रीलंका सुपर १२ मा स्थान पक्का गरेको हो। श्रीलंकाले दिएको १ सय ६३ रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ४६ रन मात्र बनायो । नेदरल्याण्ड्सका लागि म्याक्स ओ डाउनले अविजित ७१ रनको अर्धशतकीय ईनिङ खेले। अर्धशतक बनाउने क्रममा डाउनले ५३ बलमा ३ छक्का र ६ चौका प्रहार गरे । कप्तान स्कट एडवार्डले २१ रन जोडे । टोम कुपरले १६ तथा बास डि लिडले १४ रन बनाए ।
नेदरल्याण्ड्सका अन्य ब्याटरले दोहोरो अंकमा समेत रन जोड्न सकेनन् । श्रीलंकाका लागि वानिन्दु हसरंगाले ३ तथा महेश तिक्षण २ विकेट लिए । लाहिरु कुमारा र विनुरा फर्नान्डोले समान १/१ विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेका श्रीलंकाले २० ओभरमा ६ विकेट गुमाएर १ सय ६२ रन बनाएको थियो ।
श्रीलंकाका लागि कुशल मेन्डिसले ४४ बलमा ५ चौका र ५ छक्काको मद्दतले ७९ रनको अर्धशतकीय पारी खेलेका थिए । चरिथा असलंकाले ३१ जोड्दा भानुका राजपाक्षेले १९ रन बनाए । पथुम निशंकाले १४ रनमा आउट भए । श्रीलंकाका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउँन सकेनन् । नेदरल्यान्ड्सका लागि पल भान मिक्रेन र बास डि लिडले समान २/२ विकेट लिए ।
फ्राड केल्सेन र टिम भान डेर गुग्टेनले समान १/१ विकेट लिए । सुपर १२ को समूह ए मा इंग्ल्यान्ड, अष्ट्रेलिया, न्युजिल्यान्ड, अफगानिस्तान, समूह ए को विजेता श्रीलंका र समूह ‘बी’ को उपविजेता रहनेछन्। सुपर १२ को समूह बी मा भारत, पाकिस्तान, दक्षिण अफ्रिका, बंगलादेश समूह ‘बी’ को विजेता र समूह ‘ए’ को उपविजेता नेदरल्यान्ड् रहनेछन्।
समूह ‘बी’को शीर्ष स्थानमा स्कटल्याण्ड रहेको छ। उसले २ म्याचमा १ मा जित र १ मा हारको सामना गरेको छ। जिम्बाब्वे १ खेलमा २ अंकसहित दोस्रो स्थानमा छ। वेस्टइन्डिज २ खेलमा १ मा जित र १ मा हारका साथ तेस्रो स्थानमा रहँदा आयरल्याण्ड २ खेलमा १ मा जित र १ मा हार ब्यहोर्दै पुछारमा छ।