काठमाडौं।
आईसीसी पुरुष टी–२० क्रिकेट प्रतियोगिता अष्ट्रेलियामा जारी छ। बिहीबारसम्म पहिलो चरणका १० वटा म्याच सकिएका छन्। प्रारम्भिक चरणमा नै चोट लागेका खेलाडीको ठाउँमा टोलीले परिवर्तन गर्नुपर्ने भएको छ। सोही क्रममा अष्ट्रेलियाले पनि आफ्नो टोलीमा परिवर्तन गरेको छ। अलराउन्डर क्यामरन ग्रीनलाई विकेटकिपर जोस इन्ग्लिसको स्थानमा समावेश गरेको छ।
ग्रीनको समावेशको चर्चा लामो समयदेखि चलिरहेको थियो तर उनलाई स्थान दिइएन। अन्ततः अहिले उनी टोलीमा परेका छन्। जोस इन्ग्लिस आफ्ना साथीहरूसँग गल्फ खेलिरहेका बेला घाइते भएपछि ग्रीनलाई टिममा बोलाइएको हो। उनको हातबाट धेरै रगत निस्किएको र जोश निकै समस्यामा देखिएको बताइएको छ।
उनलाई अस्पताल लगिएको थियो। अहिले उनी टिम बाहिर रहेको पुष्टि भएको छ। अष्ट्रेलियाको विश्वकप टोलीमा म्याथ्यू वेड मात्र विकेटकिपरका रूपमा रहेका छन्। कुनै ब्याकअप समावेश गरिएको छैन। त्यसैले वेड कुनै कारणले घाइते भएमा अष्ट्रेलिया समस्यामा पर्न सक्छ। २३ वर्षीय ग्रीनले आफ्नो पछिल्लो प्रदर्शनले सबैलाई प्रभावित पारेका छन्।
उत्कृष्ट प्रदर्शनका कारण नै उनले विश्वकपमा स्थान बनाएका हुन्। ग्रीनले भारत भ्रमणमा ओपनरको रूपमा उत्कृष्ट इनिङ्स खेलेका थिए। तीन खेलमा २१४.५४ को उत्कृष्ट स्ट्राइक रेटमा १ सय १८ रन बनाएका छन्। यस क्रममा उनको ब्याटबाट दुई अर्धशतक पनि निस्किएको थियो। डिफेन्डिङ च्याम्पियन अष्ट्रेलियाले टी–२० विश्वकपमा आफ्नो पहिलो खेल २२ अक्टोबरमा न्यूजिल्याण्डसँग खेल्ने छ। यो खेल सिड्नीमा हुनेछ।
टी–२० विश्वकपका लागि अष्ट्रेलियाको टोली :
आरोन फिन्च (कप्तान), एस्टन आगर, प्याट कमिन्स, टिम डेभिड, जोस हेजलवुड, मिचेल मार्स, ग्लेन म्याक्सवेल, केन रिचर्डसन, स्टिभन स्मिथ, मिचेल स्टार्क, मार्कस स्टोइनिस, म्याथ्यू वेड (विकेटकिपर), डेभिड वार्नर, एडम जाम्पा र क्यामरन ग्रीन।