दुईपटकको विश्वकप विजेता समूह चरणबाटै घर फर्कियो

काठमाडौं।

दुई पटकको विश्व च्याम्पियन वेष्ट इण्डिज अष्ट्रेलियामा जारी आठौं संस्करणको आईसीसी टी–२० विश्वकपबाट बाहिरिएको छ। होबार्टमा शुक्रबार पहिलो राउण्डको अन्तिम म्याचमा आयरल्याण्डसँग ९ विकेटले पराजित भएसँगै वेष्ट इण्डिज समूह चरणबाट घर फर्किन बाध्य भएको हो। वेष्ट इण्डिजले सन् २०१२ र २०१६ को टी–२० विश्वकप जितेको थियो।

वेष्ट इण्डिजलाई हराउँदै आयरल्याण्ड भने सुपर– १२ मा पुगेको छ। यससँगै आयरल्याण्डले नयाँ कीर्तिमान बताएको छ। पहिलोपटक वेष्ट इण्डिजलाई ९ विकेटले पराजित गर्दै आयरल्याण्डले नयाँ कीर्तिमान बनाएको हो। यसअघि आयरल्याण्डले वेष्ट इण्डिजमाथि यति ठूलो जित निकाल्न सकेको थिएन। यसका साथै समूह ‘बी’ सुपर १२ मा पुग्ने आयरल्याण्ड पहिलो टोलीसमेत बनेको छ।

वेष्ट इण्डिजले दिएको १ सय ४७ रनको लक्ष्य आयरल्याण्डले १७.३ ओभरमा मात्र १ विकेट गुमाएर पूरा गर्‍यो। आयरल्याण्डको जितमा पलउ स्टर्लिंङ र कप्तान एन्डी बालबर्नीले उत्कृष्ट ब्याटिङ गरे। यी दुवैले पहिलो विकेटका लागि ७३ रनको उत्कृष्ट साझेदारी गरे। स्टर्लिंङले ४८ बलमा ६ चौका र २ छक्कासहित सर्वाधिक नटआउट ६६ रनको योगदान दिए।

बालबर्नीले २३ बलमा ३ चौका र ३ छक्काको मद्दतमा ३७ रन जोडे। तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका विकेटकिपर ब्याटर लोर्कन टकरले पनि शानदार पारी खेले। उनले ३५ बलमा २ चौका र २ छक्काको सहयोगमा अविजित ४५ रन बनाए। दोस्रो विकेटका लागि स्टर्लिंङ र टकरले अविजित ७७ रनको साझेदारी गर्दै आयरल्याण्डलाई सुपर–१२ मा पुगाएका हुन्। वेष्ट इण्डिजका लागि अकेल होसेनले एक विकेट लिए।

यस हारसँगै दुई पटकको टी–२० विश्वकप विजेता वेष्ट इण्डिज प्रतियोगिताबाटै बाहिरिएको छ। त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको वेष्ट इण्डिजले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ४६ रन बनाएको थियो। उसका लागि ब्रान्डन किङ्सले अर्धशतकीय पारी खेले। उनले ४८ बलमा ६ चौका र १ छक्काको मद्दतमा अविजित ६२ रनको योगदान दिए।

यस्तै, जोनसन चार्ल्सले २४, इभिन लुईस र कप्तान निकोलस पूरनले १३–१३ रन बनाउँदा रोभमान पावेल ६ र काइल मेयर्स १ रनमा आउट भए। ओडियन स्मिथले १२ बलमा २ छक्का र १ चौकासहित नटआउट १९ रनको पारी खेले।

आयरल्याण्डका लागि २५ वर्षीय ग्यारेथ डेलानीले उत्कृष्ट बलिङ गरे। उनले ४ ओभरमा १६ रन खर्चिएर महत्वपूर्ण ३ विकेट लिए। उनले लुईस, पूरन र पावेलको विकेट लिएका हुन्। यस्तै, सिमी सिंह र ब्यारी म्याकार्थीले १–१ विकेट लिए।

शुक्रबार नै हुने दोस्रो खेलमा समूह ‘बी’ का स्कटल्याण्ड र जिम्बाबे खेल्दै छन् । यी दुई टोलीबीचको खेल नेपाली समयअनुसार दिउँसो १ः४५ बजेदेखि हुनेछ। एकएक खेलमा जित हात पारेका दुबै टोली आजको खेल जितेर अर्को राउण्डमा स्थान बनाउन चाहन्छन्।

समूह ‘ए’ बाट नेदरल्यान्ड्स र श्रीलंका सुपर १२ मा प्रवेश गरिसकेका छन् । यस विश्वकपमा १६ राष्ट्र सहभागी रहेका छन् । १६ टोलीमा ८ टोलीले पहिलो राउण्ड खेल्नेछन् । पहिलो चरणमा ४/४ टोलीको दुई समूह रहेकोमा दुबै समूहका शीर्ष दुई टोली दोस्रो राउण्डका लागि छनोट हुनेछन् । पहिलो राउण्डको समूह ‘ए’ मा श्रीलंका, नामिबीया, यूएई र नेदरल्यान्ड्स रहेका छन् ।

समूह ‘बी’ मा वेस्ट इण्डिज, जिम्बाबे, आयरल्याण्ड र स्कटल्याण्ड रहेका छन् । दोस्रो राउन्डमा पुगिसकेका आठ टोली र पहिलो राउण्डबाट आउने चार टोली पुनः सुपर १२ मा खेल्नेछन् । यसमा रहेका १२ टोलीलाई पनि ६/६ टोली गरि दुई समूहमा विभाजन गरिने छ । दुई समूहका शीर्ष २/२ टोली सेमिफाइनको लमा पुग्ने छन् । यस विश्वकपको फाइनल खेल भने १३ नोभेम्बरमा हुनेछ।

Leave A Reply

Your email address will not be published.