नेपालले दोस्रो म्याचमा गर्न सक्छ यी २ ठूला परिवर्तन

काठमाडौं।

पाहुना टोली यूएईसँगको एकदिवसीय सिरिजअन्तर्गत नेपालले बुधबार दोस्रो खेल खेल्दैछ। यी दुई देशबीचको दोस्रो खेल पनि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान ९ बजेदेखि सुरु हुनेछ। नेपाललाई आफ्नो दोस्रो म्याच जित्नैपर्ने दबाब छ।

सिरिजमा कायमै रहन नेपालले यो खेल जित्नैपर्ने हुन्छ। घरेलु टोली नेपालले पहिलो खराब बलिङ र ब्याटिङमा खबरा प्रदर्शन गरेको थियो। र, पहिलो खेलमा नेपाल ८४ रनले पराजित भएको थियो।

नेपाल दोस्रो खेलमा उत्कृष्ट कमब्याक गर्ने लक्ष्यसहित मैदानमा उत्रिनेसोचमा छ। यूएई भने लगातार दोस्रो जित निकाल्दै एक खेल अगावै सिरिज जित्न चाहन्छ। पहिलो खेलमा टस हारेर ब्याटिङ गरेको यूएईले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २ सय ६३ रन बनाएको थियो।

जवाफमा नेपालले ५० ओभरमा ९ विकेट गुमाएर १ सय ७९ रन मात्र बनाउन सकेको थियो। पहिलो खेलमा नेपालका लागि दीपेन्द्रसिंह ऐरी र अर्जुन साउँदले अर्धशतकीय पारी खेलेका थिए। दीपेन्द्रले ५४ र अर्जुनले ५१ रन बनाउनुबाहेक अन्य ब्याटरको प्रदर्शन सम्झनलायक रहेन।

नेपालले जित्नैपर्ने खेलमा आफ्नो प्लेइङ–११ दुई खेलाडी परिवर्तन गर्ने सम्भावना छ। पहिलो खेलपछि कप्तान रोहितकुमार पौडेलले पनि दोस्रो खेलमा केही खेलाडी परिवर्तन गर्ने बताएका थिए। उनले नामिबिया जानुअघि सबै खेलाडीलाई यो सिरिजमा मौका दिने जनाएका थिए। सोहीअनुरूप नेपालले दोस्रो खेलमा २ खेलाडी परिवर्तन गर्न सक्छ।

नेपालले हरिशंकर साह र करण केसीको ठाउँमा आरिफ शेख र कमलसिंह ऐरीलाई खेलाउने सम्भावना छ। हरिशंकरले आफ्नो डेब्यू म्याचमा राम्रो प्रदर्शन गर्न सकेनन्। करण पनि पहिलो खेलमा निकै महँगा साबित भए। ब्याटिङमा पनि उनले रन बनाउन सकेनन्। अन्तर्राष्ट्रिय क्रिकेटमा करणको ब्याटबाट रन आउन छाडेको धेरै भइसकेको छ।

दोस्रो म्याचमा नेपालको सम्भावित प्लेइङ–११ :

आसिफ शेख, अर्जुन साउँद (विकेटकिपर), ज्ञानेन्द्र मल्ल, रोहितकुमार पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आरिफ शेख, सोमपाल कामी, कमलसिंह ऐरी, गुल्शन झा र ललितनारायण राजवंशी।

Leave A Reply

Your email address will not be published.