भारत विश्वकपमा, तर यसकारण खेल्न पाएन

काठमाडौं।

दोस्रो विश्व युद्धका कारण दुई संस्करण रोकिएपछि सन् १९५० मा फिफा विश्वकपको चौथो संस्करण आयोजना भयो । यसले फुटबलको माहोललाई फेरि फर्काउने प्रयास गर्‍यो । तर, कमजोर आर्थिक अवस्थाका कारण केही राष्ट्रलाई सहभागिता जनाउन नै कठिन भयो ।

जसमध्ये एक थियो एसियाली राष्ट्र भारत । नेपालको छिमेकी भएकोले पनि भारत बारे धेरै चासो राखिन्छ । भारतले अहिलेसम्म फुटबल विश्वकप खेल्न सकेको त छैन । तर, विश्वकपसँग भारतको नाम जोडिएर आउने किस्सा भने रमाइलो छ ।

भारत एक पटक विश्वकप खेल्नका लागि छनोट पनि भएको थियो । तर, उसले त्यो अवसरलाई सदुपयोग गर्न सकेन । त्यसपछि भारत फेरि विश्वकपसम्म पुग्न सकेन ।

सन् १९५० को विश्वकप दक्षिण अमेरिकी राष्ट्र ब्राजिलमा आयोजना भएको थियो । युरोपेली राष्ट्रहरुलाई समेत त्यहाँ जान कठिन पर्ने अवस्थामा एसियाली राष्ट्रका लागि झन् कठिन थियो ।

यसरी भएको थियो छनोट

एसियाबाट विश्वकपका लागि छनोट खेल्नेमा फिलिपिन्स, इन्डोनेसिया, बर्मा र भारत थियो । यी चार राष्ट्रले एक स्थानका लागि छनोट खेल्नुपर्ने थियो । पहिलो चरणमा बर्माले भारतलाई वाकओभर दियो । अर्को तर्फ फिलिपिन्स र इन्डोनेसिया दुवैले नाम फिर्ता दिए । दोस्रो चरणमा पनि भारतले वाकओभर पाउँदै सिधै छनोट भयो ।

यसरी भारत एसियाबाट विश्वकपका लागि छनोट हुने डच इस्ट इन्डिज पछि दोस्रो राष्ट्र बन्यो । तर, त्यो विश्वकप भारतले खेलेन । प्रतियोगिताअघि नै नाम फिर्ता लिएको भारत समूह तीनमा स्वीडेन, इटली र पाराग्वेसँगै थियो ।

यस कारण खेल्न पाएन

भारतले किन छनोट भएर पनि विश्वकप खेलेन भन्ने चासोको विषय हो । केही रिपोर्टले लामो यात्राका लागि धेरै खर्च लाग्ने भएर पनि भारतले नाम फिर्ता लिएको उल्लेख गगरेको छ । केहीले भने भारतीय टिमले खाली खुट्टा खेल्दै आएको र फिफाले खाली खुट्टाले विश्वकप खेल्न नपाउने नियम बनाएपछि भारत खेल्न नगएको पनि उल्लेख गरेका छन् ।

भारतले खाली खुट्टाको कारण नै विश्वकप खेल्न नपाएको हो त ?

यसबारे लसएन्जल टाइम्सले २०११ मा एउटा ब्लग प्रकाशित गरेको थियो जहाँ यसबारे स्प्षट उल्लेख गरिएको छ र खाली खुट्टा भन्दा पनि आर्थिक समस्या मुख्य कारण रहेको उल्लेख छ ।

सन् १९४८ मा इंग्ल्याण्डको लण्डनमा भएको समर ओलम्पिकमा भारतले आफ्नो प्रदर्शनबाट धेरैलाई आश्चर्यमा पारेको थियो ।

त्यसबेला भारतका खेलाडी जुत्ता नलगाई (केहीले मोजा लगाएका थिए भने धेरै खाली खुट्टा खेलेका) खेलेका थिए । भारत पहिलो चरणमा फ्रान्ससँग २-१ गाेलकाे सामान्य अन्तरले पराजित भएको थियो । त्यो खेलमा भारतले ७० मिनेटसम्म फ्रान्सलाई गोल गर्न दिएको थिएन ।

यस खेलले १९४८ को ओलम्पिकमा धेरै चर्चा बटुलेको थियो किनकी भारतले बेलायतबाट स्वतन्त्र भएपछि पहिलो पटक अन्तर्राष्ट्रिय स्तरमा फुटबल खेलेको थियो ।

भारतले खाली खुट्टाले खेलेर नै धेरैको ध्यान तानेको थियो ।

फिफाले १९५० को विश्वकपमा भारतले खाली खुट्टा खेल्न नपाउने स्पष्ट भनेको थियो । जसले गर्दा भारतले खाली खुट्टा खेल्न नपाउने भएपछि विश्वकपबाट नाम फिर्ता लियो भनेर भनियो ।

१९५० को विश्वकप ब्राजिलमा भएकोले एसियाबाट बर्मा लगायत टिमले छनोट नै खेलेनन् । युरोपियन राष्ट्र टर्कीले समेत ब्राजिल भ्रमण गर्न आर्थिक कारण देखाउँदै नाम फिर्ता लियो । त्यसैले आर्थिक कारण देखाउँदै विश्वकपबाट नाम फिर्ता लिएको कारण उपयुक्त हुन सक्ने उक्त ब्लगमा उल्लेख गरिएको छ ।

भारतले आर्थिक अवस्थाकै कारण ब्राजिल भ्रमण गर्न नसकेको विषयमा अर्को धारणा पनि छ । त्यसबेला आयोजकले भारतलाई ब्राजिल जानका लागि अधिकांश खर्च दिने प्रस्ताव गरे पनि भारत सहभागी नभएको र एसियाबाट विश्वकपमा प्रतिनिधित्व भएन ।

भारतकै स्पोर्ट्स इलुस्ट्रेटेड म्यागाजिनका अनुसार भारतीय फुटबल महासंघले ‘टोली छनोटमा असहमति भएको र अभ्यासको लागि पर्याप्त समय नभएको’ भन्दै टोली विश्वकपमा सहभागी नहुने घोषणा गरेको थियो ।

यस्तै भर्खरै प्रकाशित भएको ‘बक्स टू बक्स: ७५ इअर्स अफ दी इन्डियन फुटबल टिम’ पुस्तकमा भारतीय फुटबल महासंघ (एआईएफएफ)को तर्फबाट अज्ञानता, अदूरदर्शीता, खेलाडीहरूमा आत्मविश्वासको कमी र गलत प्राथमिकताहरूले कसरी भारतलाई विश्वकपमा प्रतिस्पर्धा गर्ने सुनौलो मौका गुमाउनु पर्‍यो भनेर उल्लेख गरेको छ ।

भारतसँगै टर्की र स्कटल्याण्डले पनि विश्वकपबाट नाम फिर्ता लिएका थिए । जसले गर्दा १६ टिम सहभागी हुने भनिए पनि विश्वकपका १३ टिम मात्र सहभागी भए । यी तीन टिमको स्थानमा फिफाले पोर्चुगल, आयरल्याण्ड र फ्रान्सलाई बोलाएको थियो । पोर्चुगल र आयरल्याण्डले अस्वीकार गर्‍यो । फ्रान्सले सुरुमा सहमत भएपनि पछि नाम फिर्ता लिएको थियो।

Leave A Reply

Your email address will not be published.