अर्जेन्टिनालाई धक्का, यस्तो छ अघिल्लो चरणको सम्भावना

काठमाडौं ।

उपाधि दाबेदार अर्जेन्टिनाले कतारमा जारी फिफा विश्वकप फुटबलको पहिलो खेलमै हार व्यहोरेको छ । मंगलबार भएको खेलमा साउदी अरेबियासँग २-१ गोल अन्तरले पराजित हुँदै अर्जेन्टिनाले हारबाट विश्वकपको सुरुआत गरेको हो ।

लुसाइल स्टेडियममा साउदी अरेबियाले अर्जेन्टिनाविरुद्ध पुनरागमन गर्दै जित निकालेको हो । प्रतिस्पर्धात्मक खेलमा सुरुआती अग्रता अर्जेन्टिनाले बनाएको थियो । कप्तान लियोनल मेस्सीले १० औं मिनेटमा पेनाल्टीबाट गोल गर्दै अर्जेन्टिनालाई सुरुआती अग्रता दिलाएका थिए ।

साउदीका साउद अब्दुलहामिदले अर्जेन्टिनाका लिन्ड्रो पारेडेसलाई पेनाल्टी क्षेत्रभित्र फउल गरेपछि भीएआरको सहायताले रेफ्रीले अर्जेन्टिनालाई पेनाल्टी दिएको हो । खेलको २८ औं मिनेटमा लाउटरो मार्टिनेजले गोल गरेपनि मान्यता पाएन । भीएआरमा उनी अफसाइड देखिएका थिए।

तर, दोस्रो हाफमा साउदीले उत्कृष्ट पुनरागमन गर्यो । खेलको ४९ औं मिनेटमा सलेह अल शेहरीले गोल गर्दै साउदीलाई १-१ गोलको बराबरीमा ल्याए । त्यसपछि खेलको ५३ औं मिनेटमा सलिम अल्दावसरीले उत्कृष्ट गोल गर्दै साउदीलाई २-१ को जित दिलाए । यस जितसँगै समूह ‘सी’ को साउदीले पहिलो खेलमै ३ अंक जोडेको छ ।

साउदी समूहको शीर्ष स्थानमा रहेको छ ।  अर्जेन्टिना पुछारमा रहेको छ । हारसँगै अर्जेन्टिनाको अघिल्लो चरण यात्रामा धक्का लागेको छ। अब मेक्सीको र पोल्याण्डसँग खेल्न बाँकी छ। अघिल्लो चरणका लागि अर्जेन्टिनालाई यी खेल जित्नै पर्ने दबाब छ।

Leave A Reply

Your email address will not be published.