विश्वकपमा आज ४ धमाकेदार खेल हुँदै, भिड्दैछन् यी ८ देश

काठमाडौं ।

कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज बुधबार चार खेलहरु हुँदैछन् । कतार विश्वकपमा बुधबार समूह ‘ई’ र समूह ‘एफ’ को दुई दुई खेलहरु हुनेछन् ।  पहिलो खेलमा समूह ‘एफ’ मा रहेको मोरक्को र क्रोएसियाबीच प्रतिस्पर्धा हुनेछ ।

साविक उपविजेता क्रोएसिया र मोरक्कोबीचको खेल नेपाली समय अनुसार दिउँसो ३:४५ बजे सुरु हुनेछ । यस्तै दोस्रो खेलमा उपाधि दाबेदार जर्मनी र जापानबीच प्रतिस्पर्धा हुनेछ । समूह ‘ई’ मा रहेको जर्मनी र जापानबीचको खेल साँझ ६:४५ बजे सुरु हुनेछ ।

विश्वकप अन्तर्गत नै बुधबार हुने तेस्रो खेलमा स्पेन र कोस्टारिकाबीच प्रतिस्पर्धा हुनेछ । उपाधि दाबेदार स्पेन र कोस्टारिकाबीचको खेल राति ९:४५ बजे सुरु हुनेछ । त्यस्तै बुधबार हुने चौंथो खेलमा बेल्जियमले क्यानडाको सामना गर्नेछ ।

समूह ‘एफ’ मा रहेको बेल्जियम र क्यानडाबीचको खेल राति १२:४५ बजे सुरु हुनेछ । मध्येपूर्वको मुस्लिम राष्ट्रमा पहिलो पटक आयोजना भइरहेको विश्वकपमा ३२ राष्ट्रले प्रतिस्पर्धा गरिरहेका छन् । सहभागी राष्ट्रलाई आठ समूहमा विभाजन गरिएको छ । यस विश्वकपमा कुल ६४ खेल हुनेछ । आठ रंगशालामा आयोजना भईरहेको विश्वकपको फाइनल डिसेम्बर १८ मा हुनेछ ।

मोरक्कोविरुद्ध क्रोएसिया : म्याच प्रिभ्यु

अफ्रिकन राष्ट्र मोरक्कोले आज बुधबार साविक उपविजेता क्रोएसियासँग खेल्दै विश्वकपको सुरुआत गर्दैछ। मोरक्कोले अल बायत स्टेडियममा युरोपियन राष्ट्र क्रोएसियाको सामना गर्नेछ । मोरक्को र क्रोएसियाबीचको खेल दिउँसो ३:४५ बजे सुरु हुनेछ ।

मोरक्को छैटौं पटक विश्वकप खेल्न लागेको हो । लगातार दोस्रो संस्करण पनि । तर, अघिल्लो रुस विश्वकपमा मोरक्कोले समूह चरण पार गर्न सकेको थिएन । यस पटक मोरक्को कठिन समूहमा छ । र, उसले क्रोएसियासँगै बेल्जियम र क्यानडाको सामना गर्नुपर्नेछ ।

पहिलो खेलमा मोरक्को क्रोएसियालाई स्तब्ध बनाउने योजनामा हुनेछ । यता, क्रोएसिया छैटौं पटक विश्वकप खेलिरहेको छ । क्रोएसिया अघिल्लो संस्करणको बिरासतलाई जोगाउने लक्ष्यमा रहेको छ । त्यसैले क्रोएसिया पहिलो खेलमा ३ अंककै लागि खेल्नेछ ।

हेड टु हेड :

मोरक्को र क्रोएसियाबीच दोस्रो पटक खेल्न लागेका हुन् । यस अघिको एक भेटमा क्रोएसियाले जितेको थियो । सन् १९९६ मा किङ हसन अन्तराष्ट्रिय कपको सेमिफाइनलमा दुबै टोली भिडेका थिए । खेल २-२ को बराबरी भएपछि पेनाल्टीमा क्रोएसियाले ७-६ ले जितेको थियो ।

सम्भावित सुरुआती-११

मोरक्को : यासिन बौनोउ, अच्राफ हाकिमी, अच्राफ दारी, रोमेन साइस, नौसैर माजरौई, एजेदिन ओनाही, सोफयान अम्राबात, सेलिम अमल्लाह, हाकिम जिएच, युसेफ एन-नेसिरी, सोफियान बौफल

क्रोएसिया: डोमिनिक लिभाकोभिच, सिमे भर्साल्को, डेजान लोभरेन, जोस्को ग्वार्डियोल, बोर्ना बारिसिच, लुका मोड्रिच, मार्सेलो ब्रोजोभिच, माटियो कोभासिच, निकोला भ्लासिक, ब्रुनो पेटकोभिच, इभान पेरिसिच

प्लेयर्स टु वाच -यस खेलमा मोरक्कोका हाकिम जिएच र क्रोएसियाका लुका मोड्रिच प्लेयर्स टु वाचमा रहने छन् ।

Leave A Reply

Your email address will not be published.