आज पनि ४ रोमाञ्चक म्याच, खेल्दैछन् यी ८ चर्चित देश

काठमाडौं।

कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज बिहीबार चार खेलहरु हुँदैछन् । कतार विश्वकपमा बिहीबार समूह ‘जी’ र समूह ‘एच’ का दुई दुई खेलहरु हुनेछन् ।

पहिलो खेलमा समूह ‘जी’ मा रहेको स्विजरल्याण्ड र क्यामरुनबीच प्रतिस्पर्धा हुनेछ । स्विजरल्याण्ड र क्यामरुनबीचको खेल नेपाली समय अनुसार दिउँसो ३:४५ बजे सुरु हुनेछ ।

यस्तै दोस्रो खेलमा समूह ‘एच’ को उरुग्वे र दक्षिण कोरियाबीच प्रतिस्पर्धा हुनेछ । उरुग्वे र दक्षिण कोरियाबीचको खेल साँझ ६:४५ बजे सुरु हुनेछ ।

विश्वकप अन्तर्गत नै बिहीबार हुने तेस्रो खेलमा उपाधि दाबेदार पोर्चुगल र घानाबीच प्रतिस्पर्धा हुनेछ । समूह ‘एच’ मा रहेको पोर्चुगल र घानाबीचको खेल राति ९:४५ बजे सुरु हुनेछ ।

त्यस्तै बिहीबार हुने चौंथो खेलमा ब्राजिलले सर्बियाको सामना गर्नेछ । समूह ‘जी’ मा रहेको ब्राजिल र सर्बियाबीचको खेल राति १२:४५ बजे सुरु हुनेछ ।

मध्येपूर्वको मुस्लिम राष्ट्रमा पहिलो पटक आयोजना भइरहेको विश्वकपमा ३२ राष्ट्रले प्रतिस्पर्धा गरिरहेका छन् । सहभागी राष्ट्रलाई आठ समूहमा विभाजन गरिएको छ । यस विश्वकपमा कुल ६४ खेल हुनेछ । आठ रंगशालामा आयोजना भईरहेको विश्वकपको फाइनल डिसेम्बर १८ मा हुनेछ ।

बेल्जियमको रोमाञ्चक जित, यी खेलाडी बने जितको हिरो
बेल्जियमले कतारमा जारी फिफा विश्वकप फुटबलमा विजयी सुरुआत गरेको छ । अहमद बिन अलि स्टेडियममा बुधबार राति क्यानडालाई १-० गोल अन्तरले हराउँदै बेल्जियमले सुखद सुरुआत गरेको हो ।

बेल्जियमलाई जित दिलाउन मिसी बात्सुयीले निर्णायक गोल गरे । उनले खेलको ४४ औं मिनेटमा एल्डरवेइरेल्डको पासमा गोल गरेका हुन् । जुन गोल बेल्जियमको जितमा निर्णायक बन्यो ।

त्यसअघि क्यानडा पेनाल्टीमा चुक्दा सुरुआती अग्रता बनाउन असफल भएको थियो । खेलको ११ औं मिनेटमा क्यानडाका अल्फन्सो डाभिसको पेनाल्टी बेल्जियमका गोलकिपर कोर्टुवाले उत्कृष्ट बचाउ गरेका थिए ।

बेल्जियमका यान्निक कारास्कोले पेनाल्टी क्षेत्रभित्र ह्यान्डबल गरेपछि क्यानडाले पेनाल्टी पाएको थियो । तर, पेनाल्टीमा डाभिस सफल भएनन् ।

जितसँगै समूह ‘एफ’ को बेल्जियमले पहिलो खेलमै ३ अंक जोडेको छ । बेल्जियम समूहको शीर्ष स्थानमा रहेको छ ।हारबाट प्रतियोगिताको सुरुआत गरेको क्यानडा पुछारमा रहेको छ ।

Leave A Reply

Your email address will not be published.