भारतमा नेपाल पराजित, बलिङमा चुक्यो

काठमाडौं ।

नेपाली राष्ट्रिय क्रिकेट टिमले अभ्यास खेलमा भारतको दिल्ली जिल्ला क्रिकेट एसोसियसन(डीडीसीए) सँग हार व्यहोरेको छ । जामिया मिलिया इस्लामिया युनिभर्सिटीको मैदानमा बिहीबार भएको खेलमा नेपाल २ विकेटले पराजित भएको हो ।

नेपालले दिएको ३ सय ४ रनको लक्ष्य डीडीसीएले ४९.३ ओभरमा ८ विकेट गुमाएर पूरा गर्यो । उसका लागि सालिल मल्होत्राले ५३ रनको अर्धशतकीय इनिङ खेले । भैवब शर्माले ४४ रन जोड्दा एस वरदानले अविजित ४२ तथा धुर्ब कौशिकले ४१ रन बनाए ।

सक्षम शर्माले ३३ रन जोडे भने शिवम शर्माले ३१ रन बनाए । नेपालका कुशल भुर्तेलले ३ तथा नन्दन यादवले २ विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा ९ विकेट गुमाएर ३ सय ३ रन बनाएको थियो ।

नेपालका लागि कप्तान रोहित कुमार पौडेल र दीपेन्द्र सिंह ऐरीले शतकीय ईनिङ खेले । कप्तान रोहितले १ सय ३५ बलमा ११ चौका र १ छक्काको सहयोगमा १ सय १३ रन तथा ऐरीले ६२ बलमा ८ चौका र ६ छक्काको सहयोगमा अविजित १ सय ९ रनको शतकीय ईनिङ खेले ।

हरिशंकर शाहले ३९ बलमा २५ तथा कुशल भुर्तेलले ३९ बलमा २१ रन बनाए । आरिफ शेखले अविजित १८ रन बनाए। नेपालका ओपनरद्वय आसिफ शेख तथा अर्जुन साउदलाई शुन्यमा गुमाएको नेपालले पुर्व कप्तान ज्ञानेन्द्र मल्ललाई पनि शुन्य रनमा गुमाएको थियो ।

डीडीसीएका लागि प्रिन्स यादवले ३ तथा मनिश सिरावतले २ विकेट लिए । आईसीसी एकदिवसीय विश्वकपको छनोटको रुपमा रहेको विश्वकप लिग टूको नामिबियामा हुने त्रिदेशीय सिरिजको तयारीको लागि नेपाली टोली भारतको दिल्लीमा रहेको छ ।

Leave A Reply

Your email address will not be published.