विश्वकपमा अंक बराबर भए यसरी छानिन्छ नकआउटमा जाने टिम

काठमाडौँ।

विश्वकप फुटबलमा समूह चरणका अन्तिम खेल चलिरहेका छन्। दुई वटा समूहका खेल सकिँदा ७ वटा टोलीको भने अघिल्लो चरणको टुंगो लागेको छ। अन्तिम खेल नखेल्दै फ्रान्स, ब्राजिल र पोर्चुगल नकआउटमा स्थान बनाएका छन्। यस्तै समूह ए का नेदरल्याण्ड्स र सेनेगल तथा समूह बी का इङ्ल्याण्ड र अमेरिका नकआउटमा पुगेका छन्।

बाँकी टोलीको भने अन्तिम खेलबाट मात्रै टुंगो लाग्नेछ। समूह एफको क्यानडा बाहेक सबै टोलिका लागि अन्तिम १६ को बाटो खुल्ला छ। तर, अन्तिम खेलबाट पनि अंक बराबर हुने सम्भावना छ। त्यस्तो अवस्थामा कसरी नकआउटमा पुग्ने टोली छानिन्छ भन्ने समर्थकमा चासो देखिन्छ।

यस्तो छ फिफाको नियमः

१. समूहका सबै खेल भइसकेपछि जसको बढी अंक हुन्छ, उही टोली अघिल्लो चरअण पुग्छ। समूहका खेलमा जित्ने टोलीले ३ अंक पाउँछ बराबर हुने टोलीले १ अंक पाउँछ। हार्ने टोलीले अंक पाउँदैन।

२. समूहका सबै खेल भइसकेपछि उसले गरेको गोल र खाएको गोल अन्तरका आधारमा हुनेछ। खाएको गोलभन्दा गरेको गोल जसको बढी छ उही टोली अगाडि बढ्नेछ। ३. समूह चरणका सबै खेलमा कसले बढी गोल गरेको छ उही टोली अगाडि बढ्नेछ।

४. समूह चरणमा सबैभन्दा कम गोल जुन टोलीले खाएको छ, उही छानिनेछ। ५. माथिका नियमबाट पनि निर्णय हुन नसके प्रतिस्पर्धी टोलीबीचको खेलमा जसले जितेको छ, उही अघिल्लो चरण पुग्नेछ।

६. माथिका यी सबै नियमबाट पनि टुंगो लाग्न नसके। खेलमा टोलीले पाएको कार्डका आधारमा निधो गरिनेछ। एउटा पहेँलो कार्ड बराबर १ अंक घटाइने छ। दोहोरो पहेंलो कार्ड खाँदै बाहिरिएको भएमा ३ अंक घटाइनेछ। सिधै रेडकार्ड खाएको भएमा ४ अंक घटाइनेछ र अघिल्लो चरणमा पुग्ने टोलीको टुंगो लाग्नेछ।

अर्जेन्टिना यसरी विश्वकपको समूह चरणबाटै बाहिरिन सक्छ

कतारमा जारी फिफा विश्वकपअन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा बुधबार पोल्याण्ड र अर्जेन्टिना खेल्दैछन्। यी दुई देशबीचको खेल स्टेडियम ९७४ मा नेपाली समयअनुसार राति १२ः४५ बजेदेखि सुरु हुनेछ। दुवै टिमलाई यो जित्नैपर्ने दबाब छ।

दुवै टिम यो म्याचमा विजयी हुँदै नकआउट चरणमा पुग्न चाहन्छन्। दुवै टिम उत्कृष्ट लयमा फर्किएका छन्। दुवै टिममा विश्वस्तरीय खेलाडीहरू पनि रहेका छन्। अर्जेन्टिना लियोनल मेस्सी र पोल्याण्ड रोबर्ट लेवान्डोस्कीको कप्तानीमा मैदानमा उत्रिनेछ। पहिलो खेलमा पोल्याण्ड मेक्सिकोसँग गोलरहित बराबरीमा रोकिएको थियो। उसले दोस्रो खेलमा साउदी अरबलाई २–० गोल अन्तरले पराजित गरेको थियो।

पोल्याण्डको जितमा प्रिटो जिलेन्स्की र कप्तान रोर्बट लेवान्डोस्कीले एकएक गोल गरेका थिए। आफ्नो पहिलो खेलमा अर्जेन्टिना साउदी अरबसँग २–१ गोलले हारेको थियो। दोस्रो खेलमा अर्जेन्टिनाले मेक्सिकोलाई २–० ले हराएको थियो। अर्जेन्टिनाको उक्त जितमा कप्तान लियोनल मेस्सी र एन्जो फर्नान्डेजलले गोल गरेका थिए।

पोल्याण्ड समूह ‘सी’ को शीर्ष स्थानमा रहेको छ। उसले २ खेलमा ४ अंक जोडेको छ। एक हार र एक जितका साथ अर्जेन्टिना दोस्रो स्थानमा छ। उसको ३ अंक रहेको छ। साउदी अरब पनि ३ अंकसहित तेस्रो नम्बरमा छ। मेक्सिकोले एक अंक जोड्दै पुछारमा रहेको छ। हेड–टू–हेडमा पोल्याण्डविरुद्ध अर्जेन्टिना हाबी हुँदै आएको छ। दुई टोलीबीचको अहिलेसम्म ११ वटा अन्तर्राष्ट्रिय म्याच भएका छन्। जसमा अर्जेन्टिनाले ६ खेलमा जित, तीनमा हार र दुई म्याचमा बराबरी खेलेको छ।

पोल्याण्डले जित वा बराबरी खेले अन्तिम १६ मा स्थान बनाउनेछ। तर साउदीले जित हात पारेको अवस्थामा हार बेहोरेको पोल्याण्ड बहिरिनेछ। यदि पोल्याण्ड र साउदी अरेबियाले बराबरी खेले भने गोल अन्तरको आधारमा निर्णय हुनेछ। यदि पोल्याण्ड हारेर र मेक्सिकोले जित्यो भने उनीहरुको भाग्य पनि गोल अन्तरका आधारमा तय हुनेछ।

अर्जेन्टिनाले अन्तिम १६ पुग्न जित निकाल्नै पर्छ। मेक्सिको र साउदी अरेबियाले बराबरी खेलेमा अर्जेन्टिनालाई पनि बराबरी पर्याप्त हुन सक्छ। यद्यपी साउदी अरेबियाले जित निकालेको अवस्थामा बराबरी खेलेको अर्जेन्टिना बाहिरिनेछ। हारले अर्जेन्टिना समूह चरणबाटै बाहिरिनेछ।

साउदी अरेबियाले जित्यो भने राउन्ड अफ १६ मा पुग्नेछ । पोल्याण्डले अर्जेन्टिनालाई हराएमा साउदीलाई बराबरी पर्याप्त हुनेछ। तर दुवै खेल बराबरी भए साउदी बाहिरिनेछ। यदि अर्जेन्टिनाले पोल्याण्डले हराएमा र साउदी अरेबियाले बराबरी खेलेमा गोल भिन्नतामा आधारमा अन्तिम १६मा पुग्ने टिम तय हुनेछ। पराजयले साउदीलाई अन्तिम १६ मा पुग्न रोक्नेछ।

प्रतियोगितामा अन्तिम १६ मा पुग्नका लागि लागि मेक्सिकोले जित्नै पर्छ। यदि पोल्याण्ड र मेक्सिकोले आ-आफ्ना खेल जिते अन्तिम १६मा पुग्नेछ्न्। मेक्सिकोले जितेमा तथा अर्जेन्टिना र पोल्याण्डले बराबरी गरेमा मेक्सिकोको अर्जेन्टिनासँग गोल अन्तर कम हुनेछ। अर्जेन्टिनाले जित्यो भने मेक्सिको र पोल्याण्ड मध्ये एक टिम गोलअन्तरको आधारमा अन्तिम १६ मा पुग्नेछ।

Leave A Reply

Your email address will not be published.