रोमाञ्चक हुँदै अर्जेन्टिना र पोल्याण्डको म्याच, गोल गर्न चुके मेस्सी

काठमाडौं।

विश्वकप फुटबल २०२२ अन्तर्गत समूह सीको अर्जेन्टिना र पोल्याण्डबीचको खेलको पहिलो हाफ बराबरीमा सकिएको छ।

खेलको ३९ औं मिनेटमा अर्जेन्टिनाले पाएको पेनाल्टीमा कप्तान लियोनेल मेस्सीले गोल गर्न सकेनन्। माथिल्लो चरणमा प्रवेशका लागि अर्जेन्टिनाले पोल्याण्डसँगको खेलमा जित हात पार्नुपर्ने हन्छ।

बराबरी भए उसले मेक्सिको र साउदी अरेबियाकोबीचको खेलको नतिजा कुर्नुपर्ने हुन्छ। साउदी अरेबिया र मेक्सिकोबीचको खेल पनि पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ।

अष्ट्रेलिया कतारमा जारी फिफा विश्वकप २०२२ को नकआउट चरणमा प्रवेश गरेको छ। बलियो प्रतिस्पर्धी डेनमार्कलाई १–० गोल अन्तरले पराजित गर्दै अष्ट्रेलिया अन्तिम १६ मा पुगेको हो।

जारी विश्वकपमा अष्ट्रेलिया नकआउट चरणमा प्रवेश गर्ने पहिलो एसियाली टिम पनि बनेको छ।

बुधबार राति भएको समूह डीको खेलमा डेनमार्कलाई हराउने क्रममा खेलको ६० औं मिनेटमा अष्ट्रेलियाका म्याथ्यु लेकीले निर्णायक गोल गरेका थिए।

यससँगै समूह डीमा अष्ट्रेलियाले समूह चरणका तीन खेलबाट ६ अंक हात पारेको छ। पहिलो खेलमा फ्रान्ससँग पराजित भएको अष्ट्रेलियाले दोस्रो खेलमा ट्युनिसियालाई पराजित गरेको थियो।

अष्ट्रेलिया १६ वर्षपछि नकआउटमा प्रवेश गरेको हो।
यसअघि अष्ट्रेलिया सन् २००६ मा भएको विश्वकपको अन्तिम १६ मा पुगेको थियो। त्यसयता सबै विश्वकपमा छनोट भए पनि पहिलोपटक अष्ट्रेलिया अन्तिम १६ मा पुगेको हो।

समूहको उपविजेताको हैसियतमा अन्तिम १६ मा पुगेको अष्ट्रेलियाले अन्तिम १६ को खेलमा समूह सीको विजेतासँग खेल्नेछ।

यसैबीच कतारमा विश्वकप अन्तर्गत ट्युनिसियाले फ्रान्सलाई पराजित गरेको छ। विश्वकप फुटबलको समूह चरणको अन्तिम खेलमा समूहको बलियो टोली फ्रान्स १–० ले पराजित भएको हो।

ट्युनिसियाले ५१ वर्षपछि फ्रान्सलाई हराउँदै इतिहास दोहोर्‍याएको छ। खेलको अन्तिम मिनेटमा एन्टोनी ग्रिजम्यानले गोल गरे पनि अफसाइड हुँदा ट्युनिसियाले खेल जितेको हो।

दुई खेलमै नकआउटमा स्थान पत्ता गरेपछि प्रमुख खेलाडीलाई विश्राम दिँदा साविक विजेताले पराजय व्यहोर्नु परेको हो। पराजयपछि पनि फ्रान्स समूह विजेताका रुपमा नकआउटमा पुगेको छ।

ऐतिहासिक जित पछि पनि ट्युनिसिया भने विश्वकपमा पहिलो पटक नकआउटमा पुग्ने सपना पूरा हुन सकेन। समूहकै अर्को खेलमा अष्ट्रेलियाले डेनमार्कलाई पराजित गर्दा ट्युनिसियाको सपना चकनाचुर भएको हो।

ट्युनिसियाको जितमा ५८ औं मिनेटमा वाहबी खजरीले गोल गरे। पछि परेपछि फ्रान्सले प्रमुख खेलाडीलाई मैदान उतारे पनि ट्युनिसियाको डिफेन्स छिचल्न सकेन।

१९७१ मा ट्युनिसियाले फ्रान्सलाई २–१ ले पराजित गरेको थियो। त्यसपछिका दुई खेल बराबरीमा सकिए पनि २ खेल फ्रान्सले जितेको थियो। २००८ मा ३–१ ले पराजित भएको ट्युनिसिया २०१० मा १–१ को बराबरी खेलेको थयो।

फ्रान्सले सुरुका दुवै खेल जितेको थियो। ट्युनिसिया भने डेनमार्कसँग बराबरी खेलेको थियो। यसअघिका ५ वटा विश्वकपमा सहभागी भएको ट्युनिसिया सबै विश्वकपमा समूह चरणबाटै बाहिरिएको छ। यो छैटौं पटक पनि समूहचरणबाटै बाहिरिएको हो।

Leave A Reply

Your email address will not be published.