अर्जेन्टिना नकआउट चरणमा, निकाल्यो शानदार जित

काठमाडौं।

अर्जेन्टिना कतारमा जारी फिफा विश्वकप फुटबलको राउण्ड अफ १६ मा प्रवेश गरेको छ । स्टेडिय ९७४ मा बुधबार राति पोल्याण्डलाई २-० गोल अन्तरले हराउँदै अर्जेन्टिना नकआउट चरणमा पुगेको हो ।

अर्जेन्टिनाको जितमा एलेक्सिस म्याक एलिस्टर र जुलियन अल्भारेजले एक एक गोल गरे । खेलको ३९ औं मिनेटमा अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी पेनाल्टीमा गोल गर्न चुकेका थिए । उनको प्रहार पोलिस गोलकिपर उत्कृष्ट बचाए ।

तर, ४६ औं मिनेटमा एलिस्टरले गोल गर्दै अर्जेन्टिनालाई सुरुआती अग्रता दिलाए । त्यसपछि खेलको ६७ औं मिनेटमा अल्भारेजले गोल गर्दै अजेंतिनालाई २-० गोलको जित दिलाए ।

यस जितसँगै अर्जेन्टिना समूह ‘सी’ को विजेता बन्दै नकआउट चरणमा पुगेको हो । अर्जेन्टिनाले ३ खेलमा ६ अंक जोड्यो । पोल्याण्डले ३ खेलमा ४ अंक जोड्यो । पोल्याण्ड पनि समूह उपविजेता बन्दै नकआउट चरणमा पुगेको छ । अर्को खेलमा मेक्सिको विजयी भए पनि गोल अन्तरका आधारमा पोल्याण्डले अन्तिम १६ मा उपविजेताको रुपमा स्थान बनाएको हो।

अष्ट्रेलिया कतारमा जारी फिफा विश्वकप २०२२ को नकआउट चरणमा प्रवेश गरेको छ। बलियो प्रतिस्पर्धी डेनमार्कलाई १–० गोल अन्तरले पराजित गर्दै अष्ट्रेलिया अन्तिम १६ मा पुगेको हो।

जारी विश्वकपमा अष्ट्रेलिया नकआउट चरणमा प्रवेश गर्ने पहिलो एसियाली टिम पनि बनेको छ।

बुधबार राति भएको समूह डीको खेलमा डेनमार्कलाई हराउने क्रममा खेलको ६० औं मिनेटमा अष्ट्रेलियाका म्याथ्यु लेकीले निर्णायक गोल गरेका थिए।

यससँगै समूह डीमा अष्ट्रेलियाले समूह चरणका तीन खेलबाट ६ अंक हात पारेको छ। पहिलो खेलमा फ्रान्ससँग पराजित भएको अष्ट्रेलियाले दोस्रो खेलमा ट्युनिसियालाई पराजित गरेको थियो।

अष्ट्रेलिया १६ वर्षपछि नकआउटमा प्रवेश गरेको हो।
यसअघि अष्ट्रेलिया सन् २००६ मा भएको विश्वकपको अन्तिम १६ मा पुगेको थियो। त्यसयता सबै विश्वकपमा छनोट भए पनि पहिलोपटक अष्ट्रेलिया अन्तिम १६ मा पुगेको हो।

समूहको उपविजेताको हैसियतमा अन्तिम १६ मा पुगेको अष्ट्रेलियाले अन्तिम १६ को खेलमा समूह सीको विजेतासँग खेल्नेछ।

यसैबीच कतारमा विश्वकप अन्तर्गत ट्युनिसियाले फ्रान्सलाई पराजित गरेको छ। विश्वकप फुटबलको समूह चरणको अन्तिम खेलमा समूहको बलियो टोली फ्रान्स १–० ले पराजित भएको हो।

ट्युनिसियाले ५१ वर्षपछि फ्रान्सलाई हराउँदै इतिहास दोहोर्‍याएको छ। खेलको अन्तिम मिनेटमा एन्टोनी ग्रिजम्यानले गोल गरे पनि अफसाइड हुँदा ट्युनिसियाले खेल जितेको हो।

दुई खेलमै नकआउटमा स्थान पत्ता गरेपछि प्रमुख खेलाडीलाई विश्राम दिँदा साविक विजेताले पराजय व्यहोर्नु परेको हो। पराजयपछि पनि फ्रान्स समूह विजेताका रुपमा नकआउटमा पुगेको छ।

ऐतिहासिक जित पछि पनि ट्युनिसिया भने विश्वकपमा पहिलो पटक नकआउटमा पुग्ने सपना पूरा हुन सकेन। समूहकै अर्को खेलमा अष्ट्रेलियाले डेनमार्कलाई पराजित गर्दा ट्युनिसियाको सपना चकनाचुर भएको हो।

ट्युनिसियाको जितमा ५८ औं मिनेटमा वाहबी खजरीले गोल गरे। पछि परेपछि फ्रान्सले प्रमुख खेलाडीलाई मैदान उतारे पनि ट्युनिसियाको डिफेन्स छिचल्न सकेन।

१९७१ मा ट्युनिसियाले फ्रान्सलाई २–१ ले पराजित गरेको थियो। त्यसपछिका दुई खेल बराबरीमा सकिए पनि २ खेल फ्रान्सले जितेको थियो। २००८ मा ३–१ ले पराजित भएको ट्युनिसिया २०१० मा १–१ को बराबरी खेलेको थयो।

फ्रान्सले सुरुका दुवै खेल जितेको थियो। ट्युनिसिया भने डेनमार्कसँग बराबरी खेलेको थियो। यसअघिका ५ वटा विश्वकपमा सहभागी भएको ट्युनिसिया सबै विश्वकपमा समूह चरणबाटै बाहिरिएको छ। यो छैटौं पटक पनि समूहचरणबाटै बाहिरिएको हो।

Leave A Reply

Your email address will not be published.