महँगोमा किनबेच भएर फ्लप भएका ७ चर्चित फुटबलर

काठमाडाैं।

एट्लेटिको म्याड्रिडले कीर्तिमानी अनुबन्धन गरेको जोआओ फेलिक्सलाई लोनमा चेल्सी पठाएपछि पैसाले फूटबलको संसारलाई वरिपरि घुमाउँछ, तर ठूलो खर्चले सधैं सफलताको ग्यारेन्टी गर्दैन भन्ने पुष्टि भएको छ।

२३ वर्षीय यी स्टार सन् २०१९ मा बेन्फिकाबाट स्पेनी क्लब एट्लेटिको मड्रिड भित्रिएका थिए । १२६ मिलियन युरोमा कीर्तिमानी रकममा उनलाई एट्लेटिकोले किने पनि उनको त्यहाँको बसाई सुखद् हुन सकेन । फलतः उनलाई क्लबले अहिले लोनमा इंग्लिस क्लब चेल्सी पठाएको छ।

एट्लेटिकोमा रहँदा प्रायः सब्सिच्युट रहने गरेका यी पोर्चुगिज स्टारले ९६ खेलमा मात्र २५ गोल गर्न सके। महंगा खेलाडीका रूपमा नाम कमाएका उनले न क्लबमा राम्रो प्रदर्शन गर्न सके, न त भर्खरै सकिएको विश्वकपमा नै । फरवार्ड तथा विंगरको भूमिकामा रहेर खेल्ने उनलाई अहिले भने एट्लेटिकोले मात्र ११ मिलियन युरोमा चेल्सीमा पठाएको हो ।

चेल्सीमा पनि फेलिक्सको शुरूआत राम्रो छैन । पहिलो खेलमा नै रातो कार्ड पाएका छन् । स्विडिस खेलाडी ज्लाटन इब्राहिमोबिच पनि त्यस्ता खेलाडी हुन्, जो मोटो रकम लिएर व्यक्तिगत ट्रान्सफरमा चर्चित भएका थिए। उनलाई स्पेनी क्लब बार्सिलोनाले ६६ मिलियन युरोमा इटालियन क्लब इन्टर मिलानबाट खरिद गरेको थियो।

पाँच वर्षे सम्झौता गरेर बार्सिलोना भित्रिए पनि उनी यहाँ फ्लप साबित भए, जुन बार्सिलोनाको इतिहासमा दाग नै बनेको थियो। उनी सन् २००९ देखि २०११ सम्म बार्सिलोना बसेका थिए, जहाँ उनले २९ खेलमा जम्मा १६ गोल मात्र गरेका थिए। पछि बार्सिलोनाले उनलाई इटालीकै अर्को क्लब एसी मिलानमा लोनमा पठाएको थियो। त्यसपछि उनी फ्रान्सेली क्लब पीएसजी, म्यानचेस्टर युनाइटेड हुँदै अहिले पुनः एसी मिलान नै फर्किएका छन्।

रोमेलो लुकाकु

​त्यस्तै अर्का महंगा खेलाडी हुन् बेल्जियमका रोमेलो लुकाकु। आधा दर्जनभन्दा बढी क्लबबाट व्यावसायिक फूटबल खेलिसकेका उनी पनि महंगा तर फ्लप खेलाडी बने। इंग्लिस क्लब चेल्सीले उनलाई इन्टर मिलानबाट १०० मिलियन युरोमा खरिद गरेको थियो।

सन् २०२१ मा चेल्सीले उनलाई भित्र्याए पनि उनको चेल्सी बसाइ लामो हुन सकेन। गएको जुनमा चेल्सीले उनलाई लोनमा पुरानै घर इन्टर मिलान फर्काइदिएको छ। बेल्जियमका २९ वर्षीय यी स्ट्राइकरले विश्वकपमा पनि लय समात्न सकेनन्। उनको टोली कतार विश्वकपमा समूह चरणबाटै बाहिरिएको थियो।

हामेस रोड्रिगेज

​त्यसैगरी कोलम्बियाका स्ट्राइकर हामेस रोड्रिगेज पनि महंगा भएर पैसाअनुसार खेल देखाउन नसक्ने खेलाडीको सूचीमा पर्छन्। सन् २०१४ को विश्वकपमा सर्वाधिक गोलकर्ता बनेका उनलाई रियल मड्रिडले भित्र्याएको थियो। तर तत्कालीन समयमा ६० मिलियन पाउन्ड खर्चेर रियलले उनलाई ल्याए पनि ६ वर्षमा उनले रियलबाट मात्र ८५ खेल खेल्न पाए।

गारेथ बेल, करिम बेन्जेमा र क्रियस्टियानो रोनाल्डोको समयमा छायाँमा परेर उनले खेल्न नपाएको फूटबल विश्लेषकहरू बताउने गर्छन्। तर उनले रियलमा खेलेका खेलहरूमा पनि उत्कृष्ट प्रदर्शन गर्न सकेनन्। पछि सन् २०२० मा रियलले उनलाई जर्मन क्लब बार्यन म्युनिखलाई लोनमा बेचेको थियो।

३१ वर्षीय यी विंगर हाल ग्रीसको एउटा सामान्य क्लब ओलम्पियसबाट फूटबल खेलिरहेका छन्। यसअघि उनले कतारी क्लब अल रायनबाट पनि खेलेका थिए।

इडेन हाजार्ड

​चेल्सीमा ७ वर्ष बिताएका बेल्जियमा स्टार मिडफिल्डर इडेन हाजार्डलाई सन् २०१८ को विश्वकपको प्रदर्शनपछि रियल मड्रिडले १ सय ५० कीर्तिमानी युरो तिरेर क्लबमा भित्र्याएको थियो। तर सन् २०१९ मा रियल आएका उनी अधिकांश समय घाइते भई मैदानबाहिर नै रहने गरेका छन्।

क्रिस्टियानो रोनाल्डोले छाडेर गएपछि उनले त्यो अभाव टार्ने बताइन्थ्यो। तर उनी फ्लप भए। रियल आएदेखि ५१ खेल मात्र खेलेका उनले क्लबका लागि मात्र ४ गोल गरेका छन्। उनी आएपछि रियलले जितेका प्रतियोगितामा पनि उनको योगदान नै छैन भन्दा फरक पर्दैन।

फिलिप कउटिन्हो

त्यस्तै ब्राजिलियन खेलाडी फिलिप कउटिन्हो पनि फ्लप खेलाडी हुन्। अधिकांश समय लोनमा बिताएका उनी बार्सिलोना जाँदा भने केही समय चर्चित भएका थिए। इन्टर मिलानबाट सिनियर फूटबल यात्रा थालेका उनी पछि सन् २००८ मा एउटा सामान्य ब्राजिलियन क्लबमा लोनमा गएका थिए।

तर पछि फेरि उनी स्पेनी क्लब स्पानियोलमा लोनमा पठाइए। सन् २०१३ मा भने उनलाई लिभरपुलमा पाँच वर्ष राखेको थियो। २०१८ मा भने उनलाई बार्सिलोनाले १३५ मिलियन युरो कीर्तिमानी रकम तिरेर भित्र्याए पनि उनको खेल बार्सिलोनामा जम्न सकेन।

चार वर्षमा ७६ खेल खेलेका यी विंगरले मात्र १७ गोल गर्न सकेन। त्यसपछि उनलाई बार्सिलोनाले जम्मा साढे ८ मिलियन युरोमा बार्यन म्युनिख पठाएको थियो। ​बार्यन म्युनिखले पनि राख्न नचाहेपछि उनी लोनमा इंग्लिस क्लब एस्टोन भिल्ला पठाइएका थिए। अहिले उनी यही क्लबमा आबद्ध भएका छन्।

एन्टोनी ग्रिजम्यान

फ्रान्सका फरवार्ड एन्टोनी ग्रिजम्यानलाई बार्सिलोनाले १२० मिलियन पाउन्ड खर्चेर एट्लेटिको मड्रिडबाट सन् २०१९ मा खरिद गरेको थियो। पाँच वर्ष एट्लेटिकोमा बिताएका उनको बसाइ बार्सिलोनामा सुखद् हुन भने सकेन।

उनी आएकै वर्ष बार्सिलोनाले ला लीगमा उपाधि गुमाएको थियो। रोचक त के छ भने लामो समय ला लीगमा उपाधि जित्न नसकेको एट्लेटिकोले ग्रिजम्यानलाई बार्सिलोना पठाएपछि जितेको थियो। जसका कारण पनि बार्सिलोना समर्थकहरूमाझ उनी आलोचित बनेका थिए।

बार्सिलोनामा रहँदा ७४ खेल खेल्न पाएका उनले जम्मा २२ गोल गरेपछि उनलाई क्लबले पुनः एट्लेटिकोमै लोनमा पठाइदिएको थियो। तर लोनमा पठाइएको उनको समय सकिसकेको छ। एट्लेटिकोले मात्र १० मिलियन खर्चेर उनलाई पुनः लोनमै भए पनि भित्र्याउन सफल भएको थियो ।

Leave A Reply

Your email address will not be published.