न्यूजिल्याण्डसँगको सिरिज भारतद्वारा ‘क्लिन स्विप’, दोहोर्‍यायो ठूलो कीर्तिमान

काठमाडौं।

घरेलु टोली भारतले न्यूजिल्याण्डसँगको तीन म्याचको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज ‘क्लिन स्विप’ गरेको छ। मंगलबार इन्दोरमा भएको तेस्रो तथा अन्तिम एकदिवसीय म्याचमा न्यूजिल्याण्डलाई ९० रनले हराउँदै भारतले सिरिज ३–० ले ‘क्लिन स्विप’ गरेको हो।

यससँगै भारतले १३ वर्षपछि पहिलोपटक न्यूजिल्याण्डलाई एकदिवसीय सिरिजमा क्लिन स्विप गरेको छ। भारतले दिएको ३ सय ८५ रनको लक्ष्य पछ्याएको न्यूजिल्याण्डले ४१.२ ओभरमा सबै विकेट गुमाएर २ सउ ९५ रन मात्रै बनाउन सक्यो। उसका लागि ओपनर डेभन कन्वेले शतकीय पारी खेले पनि टिमलाई ‘क्लिन स्विप’ हुनबाट जोगाउन सकेनन्। उनले १०० बल १२ चौका र ८ छक्काको मद्दतमा १३८ रनको योगदान दिए। उनको यो तेस्रो एकदिवसीय अन्तर्राष्ट्रिय शतक हो।

यस्तै, हेनरी निकोल्सले ४२, मिचेल सान्टनरले ३४, माइकल ब्रेसवेलले २६ र ड्यारिल मिचेलले २४ रन बनाए। बाँकी ब्याटरले दोहोरो अंकमा समेत रन बनाउन सकेनन्। भारतका लागि शार्दुल ठाकुर, कुलदीप यादवले ३/३ तथा युजवेन्द्र चहलले २, उमरान मलिक र हार्दिक पाण्डेयले १/१ विकेट लिए।

त्यसअघि टस हारेर पहिले ब्याटिङको मौका पाएको भारतले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर ३ सय ८५ रन बनायो। उसका लागि युवा ओपनर शुभमन गिल र कप्तान रोहित शर्माले शतकीय पारी खेले। गिलले ७८ बलमा १३ चौका र पाँच छक्काको मद्दतमा १ सय १२ रन जोडे। उनले ८५ बलमा ९ चौका र ६ छक्का प्रहार गर्दै १ सय १ रन बनाए।

रोहितको अन्तर्राष्ट्रिय एकदिवसीय करियरको यो ३० औँ शतक हो। यससँगै रोहितले अन्तरोष्ट्रिय वानडे सर्वाधिक शतक प्रहार गर्ने मामलामा अष्ट्रेलियाका पूर्वकप्तान रिकी पोन्टिङको बराबरी गरेका छन्। पोन्टिङको नाममा पनि ३० वानडे शतक छन्। अन्तर्राष्ट्रिय वानडे क्रिकेटमा गिलको चौथो शतक हो। गिल र रोहितले उत्कृष्ट सुरुवात गर्दै पहिलो विकेटका लागि २१२ रनको साझेदारी गरे।

गिलले यस खेलमा केही नयाँ कीर्तिमान बनाएका छन्। गिलले ३ खेलको अन्तर्राष्ट्रिय एकदिवसीय सिरिजमा सर्वाधिक रन बनाउने खेलाडीको मामलामा पाकिस्तानका कप्तान बाबर आजमको बराबरी गरेका छन्। गिल र बाबरले तीन खेलको वानडे सिरिजमा समान सर्वाधिक ३ सय ६० रन बनाएका छन्।

यसका साथै गिलले भारतीय पूर्वकप्तान विराट कोहलीको कीर्तिमान पनि तोडेका छन्। न्यूजिल्याण्डविरुद्ध तीन खेलको वानडे सिरिजमा भारतका लागि सर्वाधिक रन बनाउने ब्याटर बन्दै विराटको रेकर्ड भंग गरेका हुन्। आजको खेलमा ३६ रन बनाएँगै उनी न्यूजिल्याण्डविरुद्धको तीन खेलको वानडे सिरिजमा भारतका लागि सर्वाधिक रन बनाउने ब्याटर बने। यसअघि न्यूजिल्याण्डविरुद्धको ३ खेलको एकदिवसीय सिरिजमा विराटले सर्वाधिक २ सय ८३ रन बनाएका थिए।

आज भारतका लागि उपकप्तान हार्दिक पाण्ड्याले पनि अर्धशतकीय पारी खेले। उनले ३८ बलमा ३ चौका र ३ छक्कासहित ५४ रनको योगदान दिए। यस्तै, विराट कोहलीले ३६, शार्दुल ठाकुरले २५, इशान किशनले १७ र सूर्यकुमार यादवले १४ रन बनाए।

बाँकी ब्याटरले दोहोरो अंकमा समेत रन बनाउन सकेनन्। न्यूजिल्याण्डका लागि ज्याकब डफी र ब्लेयर टिकनरले ३/३ तथा माइकल ब्रेसवेलले १ विकेट लिए। उसलाई २ विकेट रनआउटको रूपमा प्राप्त भयो। अब भारत र न्यूजिल्याण्डले तीनै म्याचको टी–२० सिरिज खेल्नेछन्। उक्त सिरिज शुक्रबारदेखि सुरु हुनेछ।

Leave A Reply

Your email address will not be published.