सन्दीपबारे मलेसियाका कप्तान फैजले गरे यस्तो टिप्पणी

काठमाडौँ।

एसीसी प्रिमियर कपको पहिलो खेलमा जित निलेपछि नेपाली टिमका कप्तान रोहित कुमार पौडेलले टिमका लागि खेल र जित महत्त्वपूर्ण भएको बताए। त्रिवि क्रिकेट मैदानमा सुरु भएको प्रिमियर कपको उद्घाटन खेलमा नेपालले मलेसियालाई ६ विकेटले हराएको हो।

‘आजको खेल पावर प्लेमा राम्रो भएन। राम्रो बलिङ नभएर हामीलाई अलि साह्रो भएको सत्य हो। उसले धेरै रन पनि बनाइरहेकै थियो। पछि विकेट राम्रो भयो। क्युरेटरसँग र प्रशिक्षकसँग पनि कुरा भयो,’ उनले खेलपछि भने, ‘२५० भन्दा कम भयो भने सजिलै चेज गर्न सकिन्छ भन्ने थियो।’

नेपालले पहिलो विकेट ६ ओभरमा लिए पनि त्यसपछि ३४ ओभरमा मात्र विकेट लिन सक्यो। ४०औं ओभरको आसपासमा प्रशिक्षक मोन्टी देशाई मैदानको फन्को लगाइरुहेको देखिएका थिए। ३८ ओभरपछि भने नेपालले खुरुखुरु विकेट लिएको थियो। त्यसक्रममा मोन्टीले केही भने त?

‘मोन्टी सरले आफ्नो यताउति गर्नुभएको मात्र हो। खास केही थिएन। अब आउने बलियो टिम ओमनविरुद्धको खेल चाहिँ एक दिवसीय पनि हो। उसले राम्रो खेल्छ। ऊ प्रतियोगिताको धेरै बलियो, दाबेदार टिम पनि हो। तर त्यो पनि एक सामान्य खेल हुनेछ,’ रोहितले खेलपछि भने।

‘हामीले आज मलेसियालाई सजिलै हराएर, आफ्नो स्तर मेन्टेन गरिरहेको हो। करण र ज्ञानेन्द्र टिमको प्लेइङ ११ नहुँदा पनि उहाँहरुले राम्रोसँग बुझाइरहनु भएको छ। सहयोग गर्नु भएको छ। राम्रो स्क्वाड गर्नु भन्नु पभएको छ,’ रोहितले प्लेइङ ११ मा निर्धारण गर्न दबाब नरहेको दाबी गर्दै सुनाए।

मलेसियाविरुद्ध भीम सार्कीले ७२ रन बनाए। उनले विकेट झर्ने क्रमलाई रोक्न सहयोग गरेका थिए। ‘टिमलाई गाह्रो परेको अवस्थामा सहयोग गरेको हो। ‘वान बल एट अ टाइम’ खेलेँ अनि पिचमा सजिलो भयो। प्रशिक्षकले अन्तिमसम्म खेलेर फिनिस गर्न भन्नुभएको थियो। त्यो नै गरेको हो,’ भीमले खेलपछि भने।

उनी पहिले तल्लो अर्डरमा ब्याटिङ गरिरहेका हुन्थे। अहिले माथिल्लो क्रममै आएर बलिङ गर्न थालेका छन्। त्यो पनि राष्ट्रिय टिममा। ‘राष्ट्रिय टिममा खेल्न सजिलो हुँदैन। जहाँ चाहिन्छ त्यहिँ खेल्न सक्नु पर्‍यो। त्यसको लागि मैले मेहेनेत गरिरहेको छु। अभ्यासमा सरले कमजोर एरियामा सुझाव दिनुहुन्छ,’ भीमले आफ्नो खेल बारे भने, ‘ पहिले तल्लो अर्डरमा खेले पनि अहिले अर्ली (तीन चारमा)मा आएर पनि खेलेको हो। आर्मीमा रहँदा पनि मैले तीन चार नम्बरमा खेलेको हो।’

अब नेपालले २१ तारिखमा त्रिवि मैदानमा नै ओमनको सामना गर्नेछ। त्यो खेलले नेपाल सेमीफाइनलमा पुग्ने बाटोलाई सहज बनाउने पक्का छन्। किनभने रोहितले पनि ओमनलाई प्रतियोगिताको सबैभन्दा बलियो टिम भनेका छन्। भीमले आउँदो प्रतिस्पर्धीबारे भने, ‘ओमनसँग अस्ति अभ्यासमा पनि खेलेको हो। उसको खेलमा पनि युएईका जस्तै ठिक्कका बलर छन्। धेरै खतरा छन् भनेर लिएको छैन।’

‘मेरो कुरा गर्दा, राम्रो खेलेर जितेर पछि भारत र पाकिस्तानसँग खेल्ने अवसर छ। त्यो धेरै राम्रो हो। यसरी नै खेल्दै गयो भने हामीले एसिया कप खेल्छौं भन्ने नै छ,’ उनले अगाडि भने।

यता मलेसियाका कप्तान फैजले राम्रो सुरुआत गरे पनि पछि राम्रो गर्न नसकेको बताएका छन्। ‘हामीलाई थाहा छ अहिले नेपाल राम्रो अवस्थामा छ। उसले राम्रो गरिरहेको देख्दा मलेसिया सहज लागेको होला। र, हामीलाई गाह्रो नै भयो। नेपाल टफ टिम हो उसलाई बधाई,’ खेलपछि फैजले भने।

उनले खेलमा २८५ रन बाउने कोसिस गरे पनि नसकेको बताए। मलेसियाले २३५ रन मात्र बनाएको थियो। ‘हामी त्यो रनमा पुग्न सकेनौँ। उनीहरुले हामीलाई रेस्टिक गरेका थिए। हामी खेलमा केही ल्याक भयौँ। अन्तिममा हामीले धेरै विकेट गिरायौँ र चाहेजति बाउन्ड्रिी हान्न सकेनौँ,’ फैजले खेलबारे भने, ‘हामीले ब्याटिङमा क्लिक गर्न सकेको छैन। यो विकेटमा नेपालविरुद्ध खेल्न सजिलो पनि त छैन।’

नेपाल तल हुँदा केही कमजोर देखिए पनि अहिले पनि राम्रो रहेको फैजले विश्लेषण गरेका छन्। उनले नेपासँग मैदानमा राम्रो सम्बन्ध रहेको बताए।

‘उनीहरु(नेपाल)ले राम्रो गरिरहेका छन्। नेपालसँग हाम्रो लामो पार्टनसिप छ। मलाई लाग्छ हामीले नेपालसँग ५० ओभर र टी २० का धेरै खेल खेल्नुपर्छ। अब यो हारबाट मुभ अन हुन चहान्छौं,’ फैजले भने, ‘वीरनदीप सिंहले जहिल्यै राम्रो खेलिरहेका हुन्छन्। आज ४२ रन बनाए। उनी टिमका आइडल हुन।’

वीरनदीप नेपालमा धेरै खेलेका पनि छन्। यो प्रतियोगितामा हामी सेमीफाइनलमा जान चाहन्छौं। रियालिस्टिक भएर हेर्दा त्यो हाम्रो गोल हो। तर त्यसको लागि बलिङलगायत धेरै कुरा चाहिन्छ।’

‘नेपाल घरको मैदानमा जहिल्यै राम्रो हुन्छ। नेपालले प्रतियोगिता नै जित्छ होला। तर तोकेरै भन्न सकिँदैन। उसको सन्दीप पनि राम्रो छन्, गुगली खेल्छन्, लेगी पनि हान्छन्। हामी उनीविरुद्ध खेल्न पन पराउँछौं,’ फैजले भने।

Leave A Reply

Your email address will not be published.