ओमानसँग खेल्नुअघि बाहिरियो नेपालबारे यस्तो रोचक तथ्य

काठमाडौं।

नेपाली क्रिकेट टिम यतिबेला उच्च लयमा छ । त्यो नेपाली राष्ट्रिय क्रिकेट टिमले पाएको सफलताले पनि प्रस्ट पार्छ । जित सधैँ भइरहँदैन । तर, त्यही जितलाई निरन्तर जारी राख्नु सबैभन्दा ठूलो उपलब्धि हो । पछिल्लो समय नेपाली क्रिकेटले एकपछि अर्को जित निकालिरहेको छ । नेपाली क्रिकेटले एकपछि अर्को जित निकाल्दै अघि बढ्दा एउटा कमजोरी भने सुधार गर्न सकेन । एउटा खेलमा मात्रै होइन, १२–१३ खेलमै त्यही गल्ती निरन्तर भइरहेको छ । तर, यो कमजोरी जितले छोपिएको छ । त्यो कमजोरी हो, खराब ओपनिङ ।

उत्कृष्ट प्रदर्शन गरिरहेको नेपाली टिमका केही कमजोर पक्ष भने छोपिएका छन् । जुन सुधार हुन निकै आवश्यक छ । पछिल्ला १३ खेलमा नेपाली क्रिकेटले जादुमयी प्रदर्शन गर्दै आइरहेको छ । यसको श्रेय खेलाडीसँगसँगै मुख्य प्रशिक्षक मोन्टी देसाईले पनि पाइरहेका छन् । यस्तो कीर्तिमानी जित सम्भव उनै प्रशिक्षक देसाईको प्रशिक्षणमा भएको हो । तर, उनैको मुख्य प्रशिक्षणमा नेपाली टिमको ओपनिङ भने सुधार अझै हुन सकेको छैन ।

१३ मध्ये १० खेलमा खराब ओपनिङ

खेल– १

पछिल्लो समय आईसीसी क्रिकेट विश्वकप लिग टुका १२ र एसीसी प्रिमियर कपका एक गरी जम्मा १३ खेल नेपालले खेलेको छ । जसमा १२ खेलमा जित निकाल्दा एक खेलमा हार ब्यहोरेको छ । गत वर्षको फागुन २ गते अर्थात् दुई महिनाअघि टीयू क्रिकेट मैदानमा लिग टुको खेलमा नामिबियालाई नेपालले दुई विकेटको जित निकालेको थियो । तर, नेपालको ओपनिङ जोडी भने जम्न सकेनन् ।

नामिबियाविरुद्ध नेपालले पहिलो विकेट तीन रन बनाउँदा गुमाएको थियो । आसिफ शेख शून्यमै आउट भए । तर, अर्का ओपनर कुशल भुर्तेलले शतक बनाउँदै नेपाली टिमलाई उकासे । कुशलले ११५ रन बनाउँदा कप्तान रोहितकुमार पौडेलले ७२, सन्दीप जोराले २८, ज्ञानेन्द्र मल्लले २५ र करण कसीले अविजित २० रन नामिबियाविरुद्ध नेपालले रोमाञ्चक जित निकाल्यो ।

खेल– २

२०७९ फागुन ५ गते टीयू मैदानमा भएको लिग टुको त्रिदेशीय सिरिजको आफ्नो दोस्रो खेलमा नेपालले स्कटल्यान्डलाई तीन विकेटले हराउन सफल भयो । यो खेलमा भने नेपालको ओपनिङ मध्यम रह्यो । तर, राम्रो भने होइन ।

२.१ ओभरमा ३१ रन बनाउँदा नेपालले पहिलो विकेटको रूपमा कुशल भुर्तेललाई गुमाउन पुग्यो । २७५ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको नेपालका लागि दीपेन्द्रसिंह ऐरीले अविजित ८५, कुशल मल्लले ८१, सोमपाल कामीले अविजित २४ र गुल्सन झाले १७ रन बनाएपछि नेपालले स्कटल्यान्डलाई तीन विकेटले हराउन सफल भयो ।

खेल– ३

लिग टुकै खेलमा नामिबियाविरुद्ध फागुन ६ गते नेपालले तीन विकेटको जित निकाल्यो । तर, नेपालको ओपनिङ ब्याटिङ भने खराब भयो । २७५ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको नेपालले पहिलो विकेट ९ रन हुँदा गुमायो । कुशल भुर्तेल व्यक्तिगत एक रनमा आउट भए । तर, आसिफ शेखले ८१, ज्ञानेन्द्र मल्लले ६५, कुशल मल्लले ६२, र कप्तान रोहितले ३९ रन बनाएपछि नेपालको जित सम्भव भएको थियो ।

खेल– ४

फागुन ९ गते स्कटल्यान्डविरुद्ध दुई विकेटको जित निकाल्यो । घरेलु मैदानमा भएको त्रिदेशीय सिरिजमा नेपालले चारमध्ये चारै खेलमा जित निकाल्दै लिग टुमा अघि बढिरहेको थियो । तर, नेपालको ओपनिङ भने राम्रो भइरहेको थिएन ।

स्कटल्यान्डविरुद्ध २१३ रनको लक्ष्य पछ्याएको नेपालले एक रन बनाउँदा पहिलो विकेटको रुपमा कुशल भुर्तेललाई गुमाएको थियो । तर, कप्तान रोहितकुमार पौडेलले अविजित ९५, करण केसीले अविजित ३१ र ज्ञानेन्द्र मल्लले २१ रन बनाएपछि नेपालको जित सम्भव भएको थियो ।

खेल– ५

फागुन १५ गते दुबईमा भएको लिग टुकै त्रिदेशीय सिरिज नेपालले पपुवा न्युगिनीलाई चार विकेटले पराजित गर्‍यो । यो खेलमा भने नेपालले राम्रो सुरुवात गरेको थियो । पहिलो विकेटका लागि कुशल र आसिफले ७६ रनको साझेदारी गरेका थिए । यो खेलमा पहिलो विकेटको रूपमा आसिफ ४४ रनमा आउट भए ।

२०४ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको नेपालका लागि यो खेलमा कुशल भुर्तेलले ५६, आरिफ शेखले ३३, दीपेन्द्रसिंह ऐरीले २२ र कप्तान रोहितले २० रनको योगदान दिए ।

खेल– ६

फागुन १८ गते लिग टुकै खेलमा घरेलु टिम यूएईविरुद्ध ६८ रनले पराजित हुँदा हारको मुख्य कारण खराब ओपनिङ पनि एक हो । पहिलो विकेट नेपालले गुमाउँदा जम्मा १२ रन मात्रै बनाएको थियो । यो खेलमा कुशल पाँच रनमा आउट हुँदा आसिफले १७ रन बनाएका थिए । कुशल मल्लले ६० रन बनाए पनि नेपाल यूएईसँग हार्न पुग्यो ।

खेल– ७

फागुन १९ गते दुबईमा लिग टुकै खेलमा पपुवा न्युगिनीलाई तीन विकेटले पराजित गरेको थियो । तर, खराब ब्याटिङको सुरुवात भने कायमै रहेको थियो । नेपालले शून्यमै पहिलो विकेट गुमायो । कुशल भुर्तेल शून्यमा आउट भए । यसपछि नेपाल दबाबमा आएको थियो । तर, अर्का ओपनर आसिफले ८६ रन बनाएपछि नेपालले पपुवा न्युगिनीविरुद्ध रोमाञ्चक जित निकाल्यो ।

खेल– ८

यूएईविरुद्ध फागुन २२ गते उसैको मैदानमा नेपालले ४२ रनको जित निकाल्यो । तर, नेपालको ओपनिङ राम्रो हुन सकेन । १४ रन हुँदा पहिलो विकेटको रूपमा नेपालले आसिफलाई ६ रनमा गुमाएको थियो । धरापमा परेको नेपाली पाली मध्यक्रमका ब्याटरले धानेका थिए । भीमले ७०, आरिफले अविजित ४३, कुशल मल्लले ३२, सन्दीप लामिछानेले २७, रन बनाएपछि नेपालले २२९ रन बनायो ।

नेपाली बलरको उत्कृष्ट प्रदर्शनमा यूएई १८७ मै समेटिएपछि नेपालले रोमाञ्चक जित निकाल्यो । कुशल भुर्तेल घाइते हुँदा यो खेलमा ओपनिङमा आसिफ र ज्ञानेन्द्र मल्ल आएका थिए । ज्ञानेन्द्रले ११ रन बनाए ।

खेल– ९

नेपालले पछिल्लो समयमा सबैभन्दा उत्कृष्ट सुरुवात गरेको भनेकै पपुवा न्युगिनीविरुद्ध हो । टीयू मैदानमा फागुन २५ गते भएको खेलमा पपुवा न्युगिनीलाई ५२ रनले पराजित गर्दा नेपालले पहिलो विकेटका लागि ११० रनको बनाएको थियो । जुन खेलमा ओपनर आसिफ शेखले शतकसहित ११० रन बनाउँदा कुशल भुर्तेलले ४५ रन बनाएका थिए ।

भीमले ४४ र कप्तान रोहितले ३० रन बनाएका थिए । पछिल्लो १३ खेलमध्ये पहिलो विकेटका लागि सतकीय साझेदारी गरेको यही एउटा मात्रै खेल हो । पहिलो विकेटका लागि राम्रो साझेदारी गर्दा टिमले उच्च रन बनाउँछ भन्ने कुरालाई यहाँ प्रस्ट भएको छ । भलै, यो खेलमा नेपाल ४९.१ ओभरमा अलआउट भए पनि २९७ रन बनाउन सफल भयो । जसको कारण पपुवा न्युगिनीविरुद्ध नेपालले सानदार जित निकाल्यो ।

खेल– १०

फागुन २८ गते लिग टुकै खेलमा यूएईविरुद्ध टीयू क्रिकेट मैदानमा नेपालले १७७ रनको फराकिलो जित निकाल्यो । यस्तो सानदार जितमा सबै रमाए । उत्सव मनाए । तर, सदाझैँ यो खेलमा पनि नेपालको ओपनिङ जोडी जम्न सकेनन् । नेपालको दुई रन हुँदा आसिफ शून्यमै पेभिलियन फर्किए ।

४.३ ओभरमा १२ रन हुँदा अर्का ओपनर कुशल भुर्तेल पनि व्यक्तिगत आठ रन बनाएर आउट भए । दबाबमा आयो नेपाल । तर, चौथो नम्बरमा आएका कप्तान रोहितले ७७, आरिफले ४३, गुल्सन झाले ३७, दीपेन्द्रसिंह ऐरीले ३४ र भीम सार्कीले २९ रन बनाएपछि नेपालले ४९.२ ओभरमा सबै विकेटको क्षतिमा २४८ रन बनायो । हरेक खेलमा फरक फरक खेलाडी चम्किएका छन् । त्यसकारण पनि नेपाली टिमको जित सम्भव हुँदै गएको हो ।

खेल–११

पपुवा न्युगिनीविरुद्ध ९६ रनको सामान्य चुनौती पछ्याउँदै ब्याटिङ गरेको नेपालले ९ विकेटको जित निकाल्यो । विजयी लक्ष्य नेपालले ७.४ ओभरमै एक विकेटको क्षतिमा पुरा गरेको थियो । यो खेलमा पहिलो विकेटका लागि कुशल र आसिफले ५१ रनको साझेदारी गरेका थिए । कुशल ३३ रनमा आउट हुँदा आसिफ २१ बलमा ५३ रनमा अविजित रहेका थिए ।

खेल १२

यूएईविरुद्ध आईसीसी क्रिकेट विश्वकप लिग टुमा पछिल्लो समय घरेलु मैदान कीर्तिपुरमा दुई र दुबईमा दुई गरी चार खेल खेल्यो । यो चारै खेलमा नेपालको ओपनिङ ब्याटिङ राम्रो भएन ।

चैत २ गते टीयू मैदानमा ३११ रनको चुनौती पछ्याएको नेपालले पहिलो विकेट एक रन हुँदा नै गुमाएको थियो । आसिफ शेख शून्यमा आउट भएका थिए । त्यसपछि नेपाल दबाबमा आएको थियो । तर, भीम सार्कीले ६७, आरिफ शेखले ५२, गुल्सन झाले अविजित ५० र कुशल भुर्तेलले ५० रन बनाएपछि यूएईविरुद्ध डीएल मेथोडमा नेपालले ९ रनको जित निकाल्न सफल भयो ।

खेल– १३

एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा मलेसियाविरुद्ध ६ विकेटको जित निकाल्यो । तर, २३६ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको नेपालले खराब ओपनिङ ब्याटिङ गरेको थियो । पहिलो विकेट पाँच रन हुँदा आसिफ शेखलाई एक रनमा गुमायो ।

तर, भीम सार्कीले ७१, कुशल मल्लले अविजित ७०, कप्तान रोहितकुमार पौडेलले ४२ र कुशल भुर्तेलले ३८ रन बनाएपछि नेपालले मलेसियालाई सहजै हराउन सफल भयो । पछिल्लो समयमा नेपाली क्रिकेट टिममा धेरै सुधार भइसकेको छ । तर, ओपनिङ ब्याटिङ भने नेपालको राम्रो हुन सकेको छैन । -शिलापत्रबाट साभार

Leave A Reply

Your email address will not be published.