काठमाडौं ।
भारतमा जारी १६औँ संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) पञ्जाब किंग्सविरुद्ध रोयल च्यालेन्जर्स बैंग्लोर २४ रनले विजयी भएको छ। मोहालीस्थित बिन्द्रा स्टेडियममा बैंग्लोरले दिएको १ सय ७५ रनको लक्ष्य पछ्याएको पञ्जाब १८.२ ओभर अलआउट हुँदै १ सय ५० रनमा समेटियो।
उसका लागि प्रभसिमरन सिंहले ४६, जितेश शर्माले ४१, हरप्रीत ब्रार र हरप्रीत सिंहले १३÷१३ तथा कप्तान साम करनले १० रन बनाए। यस्तै, म्याथ्यू शर्ट ८, शाहरुख खान ७, अथर्व तायडे ४, लियाम लिभिङ्स्टोन २ र नाथन एलिस १ रनमा आउट भए।
बैंग्लोरका लागि मोहम्मद सिराजले शानदार बलिङ गरे। उनले ४ ओभरमा २१ रन दिएर ४ विकेट लिए। त्यस्तै, वानिन्दु हसरंगाले २, वेन पार्नेल र हर्षल पटेलले १/१ विकेट लिए। त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको बैंग्लोरले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ७४ रन बनाएको थियो।
उसका लागि फाफ डुप्लेसिस र कप्तान विराट कोहलीले शानदार पारी खेले । डुप्लेसिसले ५६ बलमा ५ छक्का र ५ चौकासहित ८४ रन बनाउँदा कोहलीले ४७ बलमा ५ चौका र १ छक्काको मद्दतमा ५९ रनको योगदान दिए।
पहिलो विकेटका लागि डुप्लेसिस र कोहलीले १ सय ३७ रनको साझेदारी गरेका थिए। बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन्। पञ्जाबका लागि हरप्रीत ब्रारले २, अर्शदीप सिंह र नाथन एलिसले १/१ विकेट लिए।
छैटौं खेलमा तेस्रो जित हात पारेको बैंग्लोर ६ अंकका साथ १० टोली सहभागी प्रतियोगिताको पाँचौँ स्थानमा रहेको छ। छैटौं खेलमा तेस्रो हारसहित पन्जाब भने सातौं स्थानमा छ।
अंक तालिका :